• २१ वैशाख २०८१, शुक्रबार

चलचित्रमा कलाकार नयाँ व्यस्त, पुराना सुस्त

blog

काठमाडौँ, वैशाख ९ गते । चलचित्रमा नवप्रवेशीको सङ्ख्या बढ्दै गइरहेका बेला  पुराना स्थापित कलाकार भने चलचित्र क्षेत्रबाट टाढा हुन थालेका छन् । पुराना कलाकारको चलचित्रमा उपस्थिति निकै पातलो देखिन थालेको छ । 

दशकअघिसम्म नायक निखिल उप्रेतीको फोटो पोस्टरमा आए मात्र पनि चलचित्र चल्ने पक्कापक्की जस्तै हुन्थ्यो । चलचित्र निर्देशकहरूले ‘एक्सन’ चलचित्रका लागि निखिलकै नाम पहिला लिने गर्थे तर पछिल्ला दिनमा निखिल यो क्षेत्रबाट गुमनाम जस्तै छन् । चलचित्र पिँजडाबाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गर्नुभएका अभिनेता निखिलले पहिलो चलचित्रबाट नै चर्चा कमाउनुभएको थियो । पिँजडामा सात तलाबाट हामफालेपछि निखिलले एकपछि अर्को पाउन सुरु गर्नुभयो । उहाँले चलचित्रमा अभिनय नगरेको धेरै भयो । उहाँ पछिल्लो समय अध्यात्मिक काममा व्यस्त देखिनुहुन्छ । 

दर्जन बढी चलचित्रमा अभिनय गर्नुभएका नायक विराज भट्ट पछिल्लो समय भोजपुरी चलचित्रमा व्यस्त देखिनुहुन्छ । ‘पर्शुराम’ ‘साङ्लो’ मा अभिनय, निर्देशन र निर्माणसमेत गर्नुभएका भट्टका चलचित्रले सन्तोषजनक व्यापार गर्न सकेन । अहिले उहाँ अर्को नेपाली चलचित्र ‘१२ गाउँ’ निर्माणको तयारीमा हुनुहुन्छ । चलचित्रको केहीअगाडि सामाजिक सञ्जाल फेसबुकमा एक थिम पोस्टर सार्वजनिक गर्दै उहाँले यो कुराको घोषणा गर्नुभएको हो ।

एकताका चलचित्र क्षेत्रमा राज गर्नुभएकी अभिनेतृ निरुता सिंह अहिले यो क्षेत्रबाट अवकाश लिनुभएको जस्तै भएको छ । दक्षिणा चलचित्रबाट यस क्षेत्रमा पाइला टेक्नुभएकी नायिका सिंहले आफ्नो अभिनय कौशलताले दर्शकमा राम्रो छाप छोड्न सफल हुनुभएको थियो तर उहाँ यस क्षेत्रमा लामो समय टिक्न सक्नुभएन । 

पछिल्लो समय नेपाली चलचित्रमा निर्देशक तथा निर्माता तुलसी घिमिरेको पनि सक्रियता घटेको छ । घिमिरेले पछिल्लो चलचित्र ‘दर्पण छायाँ २’ पछि नयाँ चलचित्र बनाउनुभएको छैन । उहाँले निर्माण गरेका लाहुरे, कुसुमे रुमाल, चिनो, दक्षिणा, बलिदान, दर्पण छायाँ जस्ता चलचित्र जीवन्त नै बने । घिमिरे निर्देशक मात्र नभएर लेखक, गीतकार, सम्पादक र कलाकारसमेत हुनुहुन्छ । कुनै समय उहाँ निर्देशित टेलिचलचित्र ‘मुक्ति’ पनि निकै चर्चित बनेको थियो । घिमिरेले लगातार केही चलचित्र बनाउने तयारी गरिरहनुभएको छ । सम्भवतः आगामी दसैँबाट चलचित्र ‘पहाड’ को छायाङ्कन सुरु हुने जनाइएको छ । 

निर्देशक ज्ञानेन्द्र देउजाले अहिले चलेका चलचित्रहरूमा पुरानालाई अभिनय गराउनु बेतुक हुने बताउनुभयो । महाजात्रा, डिग्री माइला, रङ्गोली जस्ता चलचित्रमा निखिल, विराज, राजेश, निरुतालाई अवसर दिएर खासै व्यापार नहुने उहाँको तर्क छ । चलचित्रको कथा, पात्रलगायतका कुराहरू दर्शकको माग र समय अनुसारको कुरा हुने उहाँको भनाइ छ । उहाँले थप्नुभयो, “अहिले पहिलाको जस्तो चलचित्रहरू पनि त बन्दैनन् । अहिलेका कलाकारलाई पुराना कलाकारसँग जोडी बाँध्न पनि गाह्रो हुन्छ । नयाँसँग प्राविधिक कुराको पनि धेरै ज्ञान छ । पुरानाहरूले पनि त्यो कुरा जानेर आए त धेरै राम्रो हुन्थ्यो । अब अभिनयले मात्र पुग्दैन, चलचित्रमा धेरै कुराको ज्ञान हुन जरुरी छ ।” 

निर्देशक नवल नेपाल चलचित्रको कथा भनेको समय, कालखण्डले तोक्ने कुरा भएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, कस्ता खालका कथालाई कसरी वाचन गर्ने भन्ने कुरा हो । समय चक्रसंगै त्यसको स्वाद पनि फरक हुने उहाँले बताउनुभयो । उहाँले थप्नुभयो, हिजो जुन किसिमको चलचित्रमा पुराना कलाकारहरूले अभिनय गर्नुभयो, दर्शकले पनि उहाँहरूलाई त्यही छबीमा राख्दिनुभयो । केहीले पछिल्लो समयमा फेरि प्रयास त गर्नुभयो तर उहाँहरूको छबी पुरानै ढर्राको भयो । त्यसैले कतिपय पुराना कलाकार चल्न सकेनन् । उहाँले भन्नुभयो, “अहिले बजारले मागेका कलाकारलाई मात्र चलचित्रमा अटाउने काम गर्छ । यही कुरालाई ध्यानमा राखेर अहिलेका निर्देशक/निर्माताले पुरानालाई पाखा लगाउँदै जाने कुरा स्वाभाविकै हो ।”