• ८ वैशाख २०८१, शनिबार

आसाममा चट्याङ लागेर १४ को मृत्यु

blog

नयाँदिल्ली, वैशाख ५ गते । भारतको आसाम राज्यमा चट्याङ लागेर कम्तीमा पनि १४ जनाको ज्यान गएको बताइएको छ । आइतबार यहाँ आएको भिषण वर्षा र चट्याङमा परेर ती नागरिकको ज्यान गएको बताइएको छ । आसाममा शुक्रबारदेखि व्यापक वर्षा भएको छ । वर्षासँगै हावाहुरी पनि आएको र यहाँका कतिपय भौतिक संरचनामा पनि क्षति पुर्‍याएको थियो ।

आसामको प्राकृतिक प्रकोप व्यवस्थापन विभागले दिएको जानकारीअनुसार शुक्रबार आठ जनाको ज्यान गएको थियो भने आइतबार थप छ जनाको ज्यान गएको थियो । यहाँ चट्याङबाट मात्र अरु दर्जनौँ व्यक्ति नागरिक घाइते भएका पनि अधिकारीहरुले जनाएका छन् ।

यस क्षेत्रमा वर्षासँगै पर्ने चट्याङले समय समयमा नागरिकको ज्यान जाने गरेको छ । शुक्रबारदेखि आइतबारसम्म जारी रहेको वर्षा, हावाहुरीले दशौँ हजार नागरिकका घर भत्काएको तथा अन्य भौतिक संरचनामा क्षति पुगेर प्रभावित भएका बताइएको छ ।