• १३ चैत २०८२, शुक्रबार

मध्यपूर्व तनाव चर्किदै, कूटनीति र आक्रमण सँगसँगै

blog

पेरिस, चैत १३ गते । मध्यपूर्वमा जारी द्वन्द्वले सैन्य आक्रमण र कूटनीतिक प्रयासलाई एकसाथ अघि बढाइरहेको छ । यसले क्षेत्रीय मात्र नभई विश्वव्यापी चासो पनि बढाएको छ । पछिल्ला घटनाक्रमले युद्ध विस्तारको जोखिम अझै कायम रहेको सङ्केत दिएका छन् भने समाधान खोज्ने प्रयास पनि समानान्तर रूपमा चलिरहेका छन् ।

शुक्रबार बिहान साउदी अरेबियाले आफ्नो पूर्वी क्षेत्रमा चार वटा ड्रोन अवरोध गरी नष्ट गरेको जनाएको छ । यसले खाडी क्षेत्रमा सुरक्षा चुनौती अझै गम्भीर रहेको देखाएको छ । उता, इरानको रिभोलुसनरी गाड्र्सले अघिल्लो दिन इजरायली लक्ष्य र खाडी क्षेत्रमा अमेरिकी सैन्य पूर्वाधारमाथि मिसाइल तथा ड्रोन आक्रमण गरेको दाबी गरेको छ । बहराइनस्थित अमेरिकी वायु रक्षा प्रणालीका लागि प्रयोग हुने प्याट्रियट मर्मत केन्द्रलाई समेत निशाना बनाइएको बताइएको छ ।

यसैबिच, इजरायली सेनाले तेहरानको केन्द्र भागमा इरानी संरचनामाथि व्यापक आक्रमण गरेको जनाएको छ । साथै, लेबनानको राजधानी बेरुतको दक्षिणी क्षेत्रमा पनि विस्फोटका घटना सुनिएको स्थानीय सञ्चार माध्यमले जनाएका छन्, जहाँ हिज्बुल्लाहको प्रभाव बलियो मानिन्छ । एएफपीका संवाददाताले समेत ती विस्फोट पुष्टि गरेका छन् ।

लेबनान मोर्चामा लडाइँ तीव्र बन्दै जाँदा इजरायली सेनाले थप सैनिक आवश्यक परेको उल्लेख गरेको छ । दक्षिण लेबनानमा हालसम्म चार इजरायली सैनिकको मृत्यु भइसकेको पुष्टि गरिएको छ । इजरायलभित्रै पनि सरकारको रणनीतिमाथि प्रश्न उठ्न थालेको छ । विपक्षी नेता यायर लापिडले बहु-मोर्चाको युद्धमा पर्याप्त तयारी बिना सेना परिचालन गरिएको भन्दै सरकारको आलोचना गर्नुभएको छ ।

अर्कोतर्फ, कूटनीतिक पहल पनि जारी छन् । अमेरिकी विदेशमन्त्री मार्को रुबियो जी७ विदेशमन्त्रीको बैठकमा सहभागी हुन फ्रान्स आइपुग्नुभएको छ । उहाँले इरानलाई स्ट्रेट अफ होर्मुज पुनः खोल्न दबाब दिनु सबै जी७ राष्ट्रको साझा चासो भएको बताउनुभएको छ । अन्य जी ७ सदस्यले द्वन्द्वको कूटनीतिक समाधान खोज्नुपर्नेमा जोड दिएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने इरानसँग वार्ता सकारात्मक रूपमा अघि बढिरहेको दाबी गर्दै सम्भावित आक्रमणलाई अस्थायी रूपमा स्थगित गर्नुभएको छ । उहाँले इरानी ऊर्जा संयन्त्रमा आक्रमण नगर्ने निर्णयलाई १० दिन पछाडि सारिएको जानकारी दिनुभयो । अस्ट्रेलियाले पनि आफ्नो भूमिका स्पष्ट पार्दै इरानसँगको युद्धमा आफूलाई औपचारिक रूपमा संलग्न नगरिएको जनाएको छ । 

यद्यपि, उसले खाडी क्षेत्रका सहयोगी देशसँग समन्वय गर्दै संयुक्त अरब इमिरेट्सको सुरक्षाका लागि निगरानी सहयोग उपलब्ध गराएको बताएको छ । यस बढ्दो सङ्कटबिच विश्व बैँकले मध्यपूर्व द्वन्द्वका कारण प्रभावित अर्थतन्त्रलाई तत्काल वित्तीय सहयोग उपलब्ध गराउन तयार रहेको जनाएको छ । रोजगार र आर्थिक पुनरुत्थानलाई लक्षित गर्दै नीतिगत तथा निजी क्षेत्रको सहकार्यमा व्यापक सहायता कार्यक्रम ल्याउने तयारी गरिएको बताइएको छ । रासस/एएफपी