लन्डन, चैत १३ गते । मध्यपूर्वको युद्ध सुरु भएदेखि इरानमा क्रिप्टोकरेन्सीको ठुलो प्रवाह भएको छ । विशेषज्ञका अनुसार, यसलाई इरानको क्रान्तिकारी गाड्र्समाथि लगाइएका प्रतिबन्ध पार गर्न र तीव्र मुद्रास्फीतिबाट पीडित नागरिकका लागि वित्तीय सुरक्षित माध्यमको रूपमा प्रयोग गरिएको छ । विशेषज्ञले डिजिटल मुद्रा इरानमा कसरी प्रयोग भइरहेका विश्लेषण गरेका छन् ।
ठुलो रकमको प्रवाह
असाधारण रूपमा ठुलो प्रवाहमा, इजरायल-अमेरिका हवाई हमलाको पहिलो दिन फेब्रुअरी २८ देखि मार्च २ सम्म इरानी एक्सचेन्ज प्लेटफर्मबाट करोडौँ डलर बराबरको क्रिप्टोकरेन्सी बाहिर गएको तथ्याङ्कहरू देखिएका छन् । मार्च ५ सम्म, ती रकमको करिब एक तिहाइ विदेशी एक्सचेन्जमा सारिएको थियो ।
केही रकम नागरिकले आफ्नो बचत सुरक्षित राख्न पठाएका भए पनि, रकमको ठुलो आकारले ‘सत्ता सम्बन्धी पात्रको’ संलग्नता देखाएको विश्लेषक बताउँछन् । यस्तो कार्यले सम्भावित थप प्रतिबन्ध वा साइबर आक्रमणको डरलाई सङ्केत गर्छ । जुन २०२५ मा, अघिल्लो इजरायल-इरान सङ्घर्षको उच्च विन्दुमा, क्रिप्टोकरेन्सी प्लेटफर्मबाट ठुलो रकम चोरी भएको थियो, जसमा इजरायलसँग सम्बन्धित ह्याकरको संलग्नता रहेको बताइएको थियो ।
इरानसँग सम्बन्धित
विश्लेषण अनुसार, यस ठुलो प्रवाहमा प्रयोग भएका धेरै डिजिटल वालेट प्रत्यक्ष रूपमा क्रान्तिकारी गाड्र्ससँग जोडिएका छन् । “इन्टरनेट बन्द हुँदा समेत केही रकम बाहिर जान्छ, जसले देखाउँछ कि केही व्यक्तिलाई एक्सचेन्जको क्रिप्टो सम्पत्ति पहुँच छ,” क्रिप्टोकरेन्सी विश्लेषकले बताएका छन् । गत वर्ष, गाड्र्ससँग सम्बन्धित वालेटमा अर्बौ डलरभन्दा बढी क्रिप्टोकरेन्सी जम्मा गरिएको थियो, जसले देशको कुल प्रवाहको आधाभन्दा बढी प्रतिनिधित्व गर्छ र यो भाग अझ बढिरहेको छ ।
अन्तर्राष्ट्रिय प्रतिबन्धका कारण पारम्परिक वित्तीय प्रणालीबाट काटिएको इरानका लागि, क्रिप्टोकरेन्सी वैकल्पिक माध्यम बनेको छ । यसले राज्यलाई प्रतिबन्धित तेल बिक्री गर्न वा यमनका हूथी विद्रोही जस्ता समूहलाई गोप्य रूपमा वित्तीय सहयोग गर्न अनुमति दिन्छ । आर्थिक मिडियाले पनि यस वर्ष इरानले क्रिप्टोकरेन्सी प्रयोग गरी बैलिस्टिक मिसाइल, ड्रोन र अन्य उन्नत हतियार प्रणाली बिक्रीका लागि प्रस्ताव गरेको बताएको छ ।
डिजिटल सम्पत्ति बैँक ट्रान्सफरसँग तुलना गर्दा छिटो र कम खर्चिलो छ र अन्तर्राष्ट्रिय नियमका खाडलका कारण ट्र्याक गर्न कठिन छ । क्रान्तिकारी गाड्र्स र इरानी केन्द्रीय बैँकले स्थिर डिजिटल मुद्राहरूलाई प्राथमिकता दिएका छन्, जसलाई सामान्यतया डलरसँग जोडिएको हुन्छ ।
तर नागरिक व्यापक रूपमा बिट्कोइनमा आकर्षित भएका छन्, जुन प्लेटफर्मबाट निकालेर व्यक्तिगत वालेटमा सुरक्षित राख्न सकिन्छ । वर्तमानमा बिट्कोइनको मूल्य ६८ हजार डलरभन्दा बढी छ ।
विश्लेषकले युद्धअघि पनि इरानमा कडा दमन गरिएको प्रदर्शनमा डिजिटल मुद्राको व्यापक प्रयोग देखिएका बताएका छन् । मुद्रास्फीतिले ५० प्रतिशत नजिक पुगिसकेको अवस्थामा, क्रिप्टोकरेन्सीले राष्ट्रिय मुद्राको पतनसँग जुदिरहेको जनतालाई ‘जीवनरेखा’ प्रदान गरेको छ । रासस/एएफपी