• १३ साउन २०८१, आइतबार

चुनावमा बालबालिकालाई प्रयोग नगर्न आग्रह

blog

मकवानपुर समाचारदाता

हेटौँडा, वैशाख ५ गते ।  आसन्न स्थानीय निर्वाचन नजिकिँदै गर्दा बाल अधिकारको विषय, बाल अधिकारको संरक्षण एवं प्रवद्र्धनका सवालहरूका बारेमा राजनीतिक दलहरूलाई ध्यानाकर्षण गराइएको छ ।  बाल अधिकारको विषयलाई दलको घोषणापत्रमा समावेश गर्न आग्रह गर्दै सिविन–नेपाल, मकवानपुरले मकवानपुरमा जिल्लामा क्रियाशील राजनीतिक दलहरूलाई १० बुँदे ज्ञापनपत्र बुझाएको हो । बाल अधिकारको संरक्षण एवं प्रवद्र्धनको सवाल रष्ट्रिय गौरवको योजना बनाइनुपर्ने भन्दै सातवटा दललाई ज्ञापनपत्र बुझाइएको सिविन बाल हेल्पलाइन मकवानपुरका प्रबन्धक झविन्द्र ज्ञवालीले जानकारी दिनुभयो । 

वैशाख ३० गते हुने निर्वाचनबाट बालबालिकाले समेत लोकतान्त्रिक अभ्यास र शासन सञ्चालनमा नागरिक अधिकारको प्रयोगबारे जानकारी लिने अवसर प्राप्त गर्ने भन्दै बालबालिकालाई राजनीतिक गतिविधिमा संलग्न गराउँदा उनीहरूको शारीरिक एवं मनोवैज्ञानिक हानि पुग्ने सिविन–नेपालले जनाएको छ । निर्वाचनमा बालबालिकाको संरक्षण र निर्वाचन घोषणापत्रमार्फत बालबालिकाका विषयलाई सम्बोधन गर्नेे सवालमा पछिल्ला समयमा यस दलले खेलेको भूमिका सकारात्मक भएको जनाउँदै आगामी निर्वाचनमा बालबालिकाको प्रयोग हुनसक्ने सम्भावनाप्रति सचेत हुन र नगर्न सिविन–नेपालले राजनीतिक दलहरूलाई आग्रह गरेको छ ।

सिविन–नेपालले बालबालिका तथा किशोर–किशोरीलाई चुनावको कुनै पनि प्रक्रियामा समावेश नगर्र्र्न, बाल अधिकारको संरक्षण र प्रवद्र्धनको सवाललाई राष्ट्रिय गौरवको योजना बनाउने घोषणा गर्न र नेपाल सरकारले विभिन्न समयमा गरेका बालबालिकासम्बन्धी प्रतिवद्धताहरूको कार्यान्वयनमा दलको प्राथमिकता घोषणापत्रमा समावेश गर्न भनेको छ । 

यस्तै सडकमा आश्रित, अभिभावकविहीन, हिंसा, दुव्र्यवहार, शोषण, बेचबिखन, बालविवाह, मानसिक समस्यालगायतका कारणबाट जोखिममा रहेका बालबालिकाकोे उचित संरक्षण, पुनस्र्थापना, विकास, सीप, शिक्षा र परिवारको जीविकोपार्जनका विषयमा निश्चित योजना र कार्यक्रम बनाउने प्रतिबद्धता घोषणापत्रमा उल्लेख गर्न ज्ञापनपत्र बुझाउँदै सिविन–नेपालले दलहरूसँग माग  गरेको छ ।

विभिन्न अनलाइनमार्फत हुने गरेका यौनजन्य शोषण र अपराधलाई सम्बोधन गर्ने गरी आवश्यक नीति एवं एकीकृत बालसंरक्षण प्रणाली विकास र क्रियाशीलतालाई दलको घोषणापत्रमा प्राथमिकता दिन आग्रह गर्दै सिविन–नेपालले दलहरूलाई बुझाएको ज्ञापनपत्रमा बालबालिकाको संरक्षण, विकास र सशक्तीकरणका लागि कम्तीमा १५ प्रतिशत बजेट विनियोजन गरी बालक्लब तथा किशोरी क्लबहरू गठन एवं सञ्चालन नगर्ने प्रतिबद्धता जाहेर गर्न भनेको छ ।

साथै विपत् तथा कोभिड–१९ लगायत अन्य रोग वा विभिन्न कारणबाट अभिभावक गुमाएका बालबालिकाको अभिभावकत्व स्थानीय तहले ग्रहण गर्ने र हरेक बालबालिकाको निःशुल्क स्वास्थ्य बीमा, गरिब तथा जेहेनदार छात्रछात्राको निम्ति छात्रवृत्ति, विद्यालय टाढा भएको अवस्थामा यातायातकोे व्यवस्थाका साथै हरेक बालबालिकाका लागि समान, गुणस्तरीय एवं व्यावहारिक शिक्षाको व्यवस्था गर्ने प्रतिबद्धता घोषणापत्रमा उल्लेख गर्न सिविन–नेपालले दलहरूलाई आगह्र गर्दै ज्ञापनपत्र बुझाएको छ ।

साथै पितृसत्तात्मक सोच र प्रविधिको दुरुपयोगको दुष्परिणामका रूपमा देखिएको विभेदपूर्ण लिङ्ग छनोट गरी भ्रूण हत्या गर्ने चलन अन्त्यका लागि पहल गर्न भनिएको छ ।

सिविन–नेपालले नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाली काँग्रेस, नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र, नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमोर्चा नेपाल मकवानपुरलाई ज्ञापनपत्र बुझाएको हो ।