• २० वैशाख २०८१, बिहिबार

खेलकुद २०८०

खेलमा क्रिकेट र खेलाडीमा महिला चर्चामा

blog

काठमाडौँ, वैशाख १ गते । एसियाली खेलकुद र विश्वकप टी–२० क्रिकेटमा नेपालको चयन भएकाले नेपाली खेलकुदका लागि २०८० साल महत्वपूर्ण रह्यो । नेपालले यो वर्ष क्रिकेट, कराँते, महिला कबड्डी र महिला फुटबलमा सफलताको कथा बुन्यो । यस वर्ष अन्य खेलकुद गतिविधि पनि उत्तिकै सम्पन्न भए । विगत हुन थालेको २०८० सालभरि नेपाली खेलकुदमा सम्झनलायक केही उपलब्धि, घटना भएका छन् ।

होङजाउ एसियाडमा नेपालको सहभागिता सम्झनलायक बन्यो । हुन त कराँते खेलाडी एरिका गुरुङको रजत पदक र नेपाली महिला कबड्डीले दिलाएको कांस्य पदक मात्र होङजाउ एसियाडमा नेपालका लागि सफलताका रूपमा रह्यो । यसबाहेक नेपाली क्रिकेट टिमले होङजाउ यात्रालाई सफल बनायो । पदक हासिल गर्न नसके पनि नेपाली क्रिकेट टिमले सानदार प्रदर्शनले विश्व क्रिकेटको ध्यान आफूतिर तान्यो । महिला कबड्डी टिम एक खेल जितेरै कांस्य पदकको हकदार बन्यो । यस अर्थमा कबड्डी टोलीलाई भाग्यमानी मान्नु पर्छ । नेपाली महिला कबड्डीलाई पहिलो पटक एसियाडमा सहभागी गराइएको थियो । नेपाललाई पदक दिलाउने सम्भावना बोकेको खेलमा यो टिमलाई राखिएको थिएन तर अपेक्षाविपरीत महिला कबड्डी टोलीले नेपाललाई पदक दिलायो । 

नेपालको पब्जी टिमले सेमिफाइनलसम्मको यात्रा गर्‍यो । नेपालले यस पटक मार्सल आर्ट्स र ई स्पोर्ट्स पब्जीमा पदकको अपेक्षा गरेको थियो । यस वर्ष होङजाउ एसियाडमा नेपालले एरिका गुरुङका रूपमा नयाँ स्टार खेलाडी पायो । एरिकाले कराँतेमा रजत पदक जितेर आफूलाई देशले चिन्ने बनाउनुभयो । एरिकाले नेपाली खेलकुद इतिहासकै व्यक्तिगत सबैभन्दा ठूलो पदकको बराबरी गर्नुभयो । २५ वर्षअघि बैङ्ककमा भएको १३ औँ एसियाडमा तेक्वान्दो खेलाडी सविता राजभण्डारीले ऐतिहासिक रजत पदक हासिल गर्नुभएको थियो । उहाँले त्यसपछि युएस ओपनमा पनि स्वर्ण पदक हासिल गर्नुभयो ।

यसै गरी होङजाउमै भएको पारा एसियाडमा पलेशा गोवर्धनले कांस्य पदक जितेर इतिहास बनाउनुभयो । पारा एसियाडमा तेक्वान्दो यस संस्करणदेखि मात्र समावेश गरिएको हो । एसियाली पारा खेलकुदमा पलेशाले जितेको कांस्य पदक उहाँको मात्र नभई नेपालकै लागि अहिलेसम्म पहिलो र एक मात्र पदक हो । अन्तर्राष्ट्रिय क्रिकेटमा प्रवेशपछि सधैँ वाहवाही मात्र कमाएको नेपाली क्रिकेट टिमले एसियाडबाट आफ्नो छवि २०८० सालमा अझै उच्च पा¥यो । मङ्गोलियाविरुद्धको खेलमा टी–२० संरचनाका लगभग सबैजसो विश्व कीर्तिमान आफ्नो नाममा लेखाएर विश्व क्रिकेटको ध्यान तान्यो । मङ्गोलियाविरुद्ध दीपेन्द्रसिंह ऐरीले मात्र नौ बलमा आठ छक्का र दुई रनसहित अर्धशतक बनाएर विश्व कीर्तिमान बनाउनुभयो । पहिलो छ बलमा छ छक्कापछि दुई रन र त्यसपछि दुई छक्का प्रहार गर्दै दीपेन्द्रले सो असाधारण पालि खेल्नुभएको हो । दीपेन्द्रको सो कीर्तिमान अमर रहने छ । दीपेन्द्रको यो कीर्तिमान बराबरी गर्न पनि ब्याट्सम्यानले नौ बलमा नौ छक्का नै प्रहार गर्नुपर्ने हुन्छ । जसको सम्भावना न्यून छ । अझ दीपेन्द्रले व्रिmजमा आएको पहिलो बलदेखि नै छक्का हान्नुभएको थियो । क्रिकेटमा क्रिजमा आउनासाथ छक्का प्रहार गर्नु निकै कठिन मानिन्छ । त्यसैले अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक तेज अर्धशतकमा सधैँ दीपेन्द्रकै मात्र नाम आउने छ ।

सो खेलमा युवा ब्याट्सम्यान कुशल मल्लले ५० बलमा अविजित १३७ रन बनाएर टी–२० मा सर्वाधिक तेज शतकको विश्व कीर्तिमान तोड्नुभयो । नेपालले २७३ रनको कीर्तिमान जितसहित टी–२० अन्तर्राष्ट्रियमा यो सबभन्दा फराकिलो जित हासिल गफ्यो । यसै गरी नेपालका पालिमा कुल २६ छक्का प्रहार भयो । त्यो पनि विश्व कीर्तिमान भयो ।

यसबाहेक क्रिकेटमा पुरुष सिनियर टोली १० वर्षपछि टी–२० विश्वकपमा छनोट भयो । नेपालले अविजित रहँदै एसिसी प्रिमियर कप जितेर पहिलो पटक एसिया कप क्रिकेट खेल्न योग्य बन्यो । जसले नेपाली क्रिकेटको मानसम्मान र प्रतिष्ठा अझ बढायो । यु–१९ टोलीले आठ वर्षपछि यु–१९ क्रिकेट विश्वकप खेल्यो । यसै गरी रुविना क्षेत्री अन्तर्राष्ट्रिय महिला क्रिकेटमा शतक हान्ने पहिलो नेपाली बन्नुभयो । रुविनाले शतक प्रहार गरेको एसिसी महिला प्रिमियर कपको सेमिफाइनलमै रोकिए पनि नेपालले एसिया कप खेल्ने अवसर पायो । नेपालका स्टार क्रिकेटर सन्दीप लामिछाने बलात्कार मुद्दामा दोषी ठहरिएपछि भने नेपाली क्रिकेटलाई ठुलो धक्का लाग्यो ।

नेपालको सर्वाधिक लोकप्रिय खेल मानिएको फुटबलले यस वर्ष निराश पार्‍यो । फिफा विश्वकप–२०२६ अन्तर्गत एसियाली क्षेत्रको पहिलो चरणमा लाओसलाई हराएर नेपाल दोस्रो चरणमा त पुग्यो तर दोस्रो चरणमा नेपालले युएई, यमन र बहराइनसँग एक गोल पनि नगरी लगातार हार बेहो¥यो । राष्ट्रिय फुटबलरहरूको विदेश पलायनले पनि नेपाली फुटबललाई यस वर्ष दशा लागेको देखियो । नेपालको महिला फुटबलले भने यस वर्ष देशभित्र मात्र होइन देशबाहिर पनि अपार समर्थक कमायो । साउदी अरबमा सम्पन्न वाफ महिला फुटबल च्याम्पियनसिपमा उपविजेता बनेपछि नेपाली महिला फुटबलको चर्चा नेपालमा मात्र होइन खाडी मुलुकमा पनि निकै वाहवाही भएको थियो ।

पश्चिमी एसियाली गल्फ राष्ट्रहरूले खेल्ने वाफ फुटबल च्याम्पियनसिपमा नेपाल आमन्त्रित टिमका रूपमा सहभागी भयो । यस टिमले नेपाल महिला फुटबलको भविष्यलाई लिएर ठुलो भरोसा दिलायो । सावित्रा भण्डारी साम्बाले चार खेलमा नौ गोलसहित सर्वाधिक गोलकर्ता बनेर गोल्डेन बुट जित्नुभयो । १८ वर्षीय प्रीति भविष्यमा नेपाली महिला फुटबललाई हाँक्न सक्ने फुटबलरका रूपमा उदाउनुभयो । यस वर्ष नेपाली महिला फुटलबरहरू विदेशी लिगमा पनि मज्जाले आबद्ध भए । भारतीय महिला लिगमा नेपालका सात खेलाडी आबद्ध भए भने सावित्रा त फ्रान्सकै शीर्ष डिभिजन लिग क्लबबाट खेल्दै हुनुहुन्छ । यति ठूलो व्यावसायिक लिगमा खेल्ने उहाँ नेपालकै पहिलो खेलाडी हुनुहुन्छ । यसबाहेक नेपाली महिला फुटबल टिमले बङ्गलादेशमा मैत्री फुटबल शृङ्खला पनि जित्यो ।

यसै गरी सन्तोषी श्रेष्ठले अन्तर्राष्ट्रिय म्याराथनमा पदार्पणमै स्वर्ण पदक जित्नुभयो । बङ्गलादेशमा भएको बङ्गबन्धु शेख मुजिब ढाका इन्टरनेसनल म्याराथनमा सन्तोषीले पहिलो पटक म्याराथनमा भाग लिँदा नै राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जित्नुभएको हो । यसअघि सन्तोषीले मध्यम दुरीको दौडमा राज गर्नुभएको थियो । त्यसपछि तीन महिनामै छ दौड जितेर आफ्नो गोल्डेन गर्लको उपनामलाई सिद्ध गर्नुभयो । यसबाहेक यस वर्ष बडी बिल्डिङकी रजनी श्रेष्ठ र सनम मूलगुठी र गुणराज रुचालले मुवाथाईमा अन्तर्राष्ट्रिय स्वर्ण पदक दिलाउनुभयो । रसिला तामाङ र सुनमाया बुडाले अन्तर्राष्ट्रिय अल्ट्रा रेस उपाधि जित्नुभयो ।  एसियन र्‍याफ्टिङ च्याम्पियनसिपमानेपालले स्वर्ण र कांस्य जित्यो ।