काठमाडौँ, असोज २२ गते । नेपाल लगातार दोस्रो पटक र समग्रमा तेस्रो पटक आइसिसी टी–२० विश्वकप खेल्ने लक्ष्यसहित बुधबार सुरु हुने आइसिसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोट प्रतियोगिता खेल्न ओमानमा रहेको छ ।
नेपालले सन् २०१४ र २०२४ मा भएको टी–२० विश्वकप क्रिकेट खेलिसकेको छ । बङ्गलादेशमा भएको विश्वकपमा नेपालले पदार्पणमै तीनमध्ये दुई खेल जितेपछि रन औसतका आधारमा अघिल्लो चरणमा पुग्नबाट वञ्चित भएको थियो । त्यसपछिका तीन टी–२० विश्वकपमा नजिक पुगेर पनि नेपाल चयन हुन सकेन । यद्यपि नेपालले पछिल्लो पटक घरेलु मैदानमा भएको छनोटमा सफलता प्राप्त गरी गत वर्ष अमेरिका र वेस्ट इन्डिजमा भएको टी–२० विश्वकप खेलेको थियो । सो विश्वकपमा पनि नेपालले उल्लेख्य प्रदर्शन ग¥यो । नेपाल अब सोही गौरव दोहो¥याउने लक्ष्यमा छ । यसपालि नेपाली खेलाडीको उच्च आत्मविश्वास, टोलीको लय, राम्रो तयारीका कारण नेपाली टोलीको तेस्रो पटक टी–२० विश्वकपमा छनोट यथार्थपरक देखिन्छ । कप्तान रोहित पौडेलले पनि बिदाइ कार्यक्रममा वेस्ट इन्डिजसँगको शृङ्खला जित्ने र टी–२० विश्वकपमा चयन हुने प्रतिबद्धता जनाउनुभएको थियो । तीमध्ये रोहितले पहिलो प्रतिबद्धता पूरा गरिसक्नुभएको छ ।
उच्च मनोबलमा नेपाल
अस्ट्रेलियाका स्टुवार्ट लको प्रशिक्षकत्वमा रहेको नेपाली टिम अहिले उच्च मनोबलमा रहेको छ । यस प्रतियोगिताकै तयारीस्वरूप खेलिएको वेस्ट इन्डिजविरुद्धको ऐतिहासिक टी–२० शृङ्खला जितले पनि नेपाललाई अहिले प्रमुख दाबेदारका रूपमा लिइएको छ । नेपालले आइसिसीको पूर्ण सदस्य राष्ट्रसँग द्विपक्षीय शृङ्खला खेलेको यो पहिलो पटक थियो । वेस्ट इन्डिज सन् २०१२ र २०१६ मा टी–२० विश्वकप जित्ने टिम हो । यसअघि विश्वकप छनोटकै तयारीस्वरूप नेपालले अस्ट्रेलियाको भ्रमणमा पनि सकारात्मक प्रदर्शन गरेको थियो । अझ विश्वकप छनोटकै वार्मअप खेलमा ओमान र कतारलाई पराजित गरेको नेपालले उच्च आत्मविश्वासका साथ खेल्ने पक्का छ । नेपाली टिमले हालका दिनमा जसरी खेलिरहेको छ; त्यसलाई हेर्ने हो भने यस पटक नेपाललाई पुनः अर्को विश्वकप टी–२० मा खेल्ने सुनौलो अवसर छ । यद्यपि टी–२० संरचनामा कुनै पनि टिमलाई हलुका रूपमा लिन मिल्दैन । नेपालले पनि विश्वकपमा चयन हुन यही हरेक खेल यही सोचाइका साथ खेल्नुपर्ने छ ।
अलराउन्डरले भरिपूर्ण टिम
क्रिकेटमा अलराउन्डरको सङ्ख्या बढी हुने बलियो हुन्छ । यस मामिलामा नेपाललाई भाग्यमानी भन्दा फरक पर्दैन । नेपाली टिममा अलराउन्डरको बाहुल्य छ । प्रायः सबैले ब्याटिङ र बलिङ गर्न सक्छन् । धेरै अलराउन्डर भएकाले नेपाली टिमको ब्याटिङ लाइनअपमा गहिराइ छ । त्यसैले पनि नेपालका शीर्ष ब्याट्सम्यानहरूलाई सुरुदेखि खुलेर रन बनाउने छुट मिल्ने गर्छ । कप्तान रोहित पौडेलले पनि आफ्नो टिममा अलराउन्डर धेरै हुनाले आफ्नो कप्तानीलाई पनि धेरै सहज भएको बताउनुभएको थियो । रोहितले सन्तुलित टिम पाएकोमा खुसी व्यक्त गर्दै नेपालले सबै जसो पक्षमा राम्रो गरिसकेको यद्यपि ब्याटिङमा अझ सुधार गर्ने केही ठाउँ छ भन्नुभएको छ ।
पहिलो खेलमा नेपालको प्रतिद्वन्द्वी कुवेत
विश्वकप छनोटमा नौ टिम सहभागी छन् । प्रतियोगिताको समूह ‘ए’ मा मलेसिया, कतार र संयुक्त अरब इमिरेट्स, समूह ‘बी’ मा नेपाल, जापान र कुवेत तथा समूह ‘सी’ मा ओमान, पपुआ न्युगिनी र सामेआ छन् । प्रत्येक समूहमा शीर्ष दुई स्थानमा रहने टिम सुपर सिक्समा पुग्ने प्रावधान छ । सुपर सिक्समा शीर्ष तीन स्थानमा रहने टिम विश्वकपमा खेल्न योग्य हुने छन् ।
नेपालले उद्घाटनका दिन कुवेतसँग खेलेर सन् २०२६ मा भारत र श्रीलङ्कामा हुने टी–२० विश्वकपमा चयन हुने अभियानको सुरुआत गर्ने छ । आइसिसी वरीयतामा नेपाल १८ र कुवेत २३ औँ स्थानमा छन् । नेपालले चौथो पटक कुवेतसँग खेल्न लागेको हो । पछिल्ला तीन खेलमा नेपाल दुई र कुवेत एकमा विजयी भएका थिए । विगत हेर्दा कुवेत पनि नेपाललाई हराउन सक्षम देखिन्छ । अझ कुवेत पनि दुवै वार्मअप खेलमा ओमान र कतारलाई हराएर राम्रो लयका साथ नेपालसँग खेल्दै छ । कुवेतसँगको प्रतिस्पर्धापछि नेपालले शुक्रबार ४४ औँ वरीयतामा रहेको जापानसँग खेल्ने छ । जापानसँग नेपालको पहिलो भेट हुने छ । कुवेत र जापान दुवै पहिलो पटक टी–२० विश्वकप खेल्ने अभियानमा छन् ।
नेपाली टिम
रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, आदिल आलम, आरिफ शेख, लोकेश बम, गुल्सन झा, सोमपाल कामी, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, ललित राजवंशी ।