रेसुङ्गा (गुल्मी), कात्तिक १५ गते । कृषि कर्मबाटै मासिक तीन लाख रुपियाँ कमाउन सकिन्छ भन्ने उदाहरण गुल्मी, रेसुङ्गाका ४६ वर्षीय प्रेम नेपाली बन्नुभएको छ । उहाँले माटोमै खेलेर मासिक तीन लाख रुपियाँ आम्दनी गर्नु हुन्छ ।
एक दशकदेखि कृषि कर्ममा लाग्नुभएका नेपालीले आरएनपी एग्रो फार्ममार्फत तरकारीको व्यावसायिक खेती गर्दै आउनुभएको छ । उहाँले १४० रोपनी जग्गा भाडामा लिनुभएको छ । उक्त जग्गामा २६ वटा प्लास्टिकका टहरा (टनेल) मा विभिन्न किसिमका तरकारी उत्पादन गर्नुका साथै धानखेती तथा माछापालन गर्दै आउनुभएको छ ।
५० रोपनी जग्गामा हाइब्रिड र जिटेन जातको धान खेती गर्नुभएको छ । तीन वटा पोखरीमा पालिएका माछामा करिब छ हजार भुरामध्ये अहिले ग्रेडिङ गरेर ७० किलो बिक्री भइसकेको छ । उहाँको फार्ममा स्थानीय जातका १२० वटा कुखुरा छन् । तीन माउमार्फत बङ्गुरपालनलाई पनि उहाँले अगाडि बढाइरहनुभएको छ । मौसमी तथा बेमौसमी तरकारी उत्पादनमा पनि उहाँले जोड दिइरहनुभएको छ । नेपालीले गोपी, खर्बुजा, काँक्रा, घिरौँला, लौका, ब्रोकाउली, टमाटर, सिमी, बोडी गरेर दैनिक तीन क्विन्टल तरकारी बिक्री भइरहेको बताउनुभयो । मौसम अनुसार स्ट्रबेरी र सयपत्री फूलमार्फत पनि राम्रो आम्दानी गरिरहनुभएको छ ।
गत वर्ष प्रतिकेजी छ सय रुपियाँमा दुई क्विन्टल स्ट्रबेरी बिक्री गर्नुभएका नेपालीले अहिले पाँच क्विन्टल बिक्री गर्ने योजना बनाउनुभएको छ । उहाँले बिक्री नभएको तरकारी र सफाइ गर्दा आउने तरकारीका पात बङ्गुर र माछाका लागि प्रयोग गर्नुभएको छ । सात सय रुपियाँ किलोमा माछा बिक्री गर्दै आउनुभएको छ । वर्षमा दुई पटक ब्याउने भएकाले बङ्गुरका पाठा बिक्रीबाट डेढ लाख आम्दानी हुने गरेको छ ।
गत वर्ष स्थानीय बजारका साथै तम्घास, बुटवल र काठमाडौँसम्म गरी १२० मुरी धान बिक्री गरेर करिब एक लाख २० हजार रुपियाँ आम्दानी गरेको उहाँले बताउनुभयो । फार्ममा नेपालीका श्रीमती, छोरासहित अन्य तीन जना श्रमिकले काम गर्छन् । तरकारी र अन्नबाली मौसम अनुसार अन्य धेरै जनाले काम पाइरहेका छन् । काष्ठकलामा समेत अब्बल नेपालीलाई परदेश मोह जागेन ।
उहाँले भन्नुभयो, “किसानका आफ्नै पीडा र व्यथा छन् । नेपाली माटोमा पसिना बगाएर अहिलेसम्म मासिक तीन लाख कमाइ भइरहेको छ ।” नेपालीले कृषि ज्ञान केन्द्र्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, भेटेरिनरी तथा पशु सेवा विज्ञ केन्द्र र रेसुङ्गा नगरपालिकाबाट विभिन्न किसिमका आर्थिक तथा भौतिक सहयोग प्राप्त भएको बताउनुभयो ।
व्यावसायिक तरकारी खेती गर्नुअघि प्रेम नेपालीले दुध बेच्नुहुन्थ्यो । २०७२ तिरको कुरो हो, उहाँले रेसुङ्गा नगरपालिका–६, सिमाहघाटमा १८ रोपनी जग्गा भाडामा लिएर गाईभैँसी पालन र आलु खेती थाल्नुभयो । त्यतिबेला तीन वटा भैँसी र दुई वटा गाईबाट दैनिक ३० लिटर दुध उत्पादन हुन्थ्यो ।
नजिकका सहकारीमा दुध बिक्रीको प्रस्ताव गर्दा नलिने कुरा गरेपछि नेपाली आफैँले दुध बोकेर तम्घास बजार पु¥याउन थाल्नुभयो । तम्घासमा चार वर्ष दुध बेचेपछि चिनजान र जात खुल्दै गयो अनि धेरैले विभिन्न बहाना बनाएर दुध किन्न छोडे । उहाँले भन्नुभयो, “सहकारीले जात हेरेर दुध राख्न मानेन । बजारमा पनि बिस्तारै समस्या देखिएपछि मन भाँचिएर दुध छोडेर तरकारीतिर काम गर्न थालेँ ।”