• २९ पुस २०८२, मङ्गलबार

पर्यटक लोभ्याउन नदी थुनेर ताल

blog

रेसुङ्गा (गुल्मी), पुस २९ गते । गुल्मी, पाल्पा र स्याङ्जाको सङ्गम स्थलमा रहेको रुरुधाम प्रसिद्ध धार्मिक क्षेत्र हो । कालीगण्डकी स्नान र ऋषिकेश मन्दिरको दर्शन गर्न आउने धार्मिक पर्यटकले दिन खाली हुँदैन । विशेष गरेर माघे सङ्क्रान्तिमा स्वदेशका विभिन्न ठाउँ र भारतबाट समेत रुरुधाममा धेरै धार्मिक पर्यटक आउने गर्छन् । रुरुधामलाई पछिल्लो समय धार्मिक तथा पर्यटकीय दृष्टिकोणले समेत अगाडि बढाइएको छ । देशमा मुख्य कालीगण्डकी र मदनभण्डारी राजमार्गलाई रुरुक्षेत्रले जोडेको छ । 

रुरुधाममै नमुनायोग्य तीनमुखे पुल निर्माण गरिएको छ । गुल्मीको रुरुक्षेत्रको रिडी, स्याङ्जाको कालीगण्डकी गाउँपालिका चण्डिभन्ज्याङ र पाल्पाको तानसेन नगरपालिकाको अर्गली  जोडेको छ । मुख्य दुई ठुला राजमार्ग, रुरुधाम, तीनमुखे पुल, ऋषिकेष मन्दिर, हनुमान वाटिकासहितका संरचनाले स्थानीय बासिन्दामा उत्साह र बाह्य पर्यटकको सङ्ख्या बढेको रुरुक्षेत्र गाउँपालिका–१, रिडीका  व्यवसायी सुन्दर कसजुले बताउनुभयो । 

पुल निर्माणसँगै अहिले यहाँ व्यावसायिक गतिविधि पनि बढिरहेका छन् । कालीगण्डकी कोरिडोरले रुरुधामसंग लुम्बिनी–पाल्पाको रानीमहलदेखि मुस्ताङ जोडेको छ । जसका कारण रिडीक्षेत्रमा सुविधासम्पन्न होटेल सञ्चालनमा आएका छन् । स्याङ्जाक्षेत्र जनजाति र कला संस्कृतिको हिसाबले महत्वपूर्ण भएकाले पर्यटक बढ्दै जाँदा होमस्टे सञ्चालनबाट आर्थिक समृद्धि गर्न सक्ने प्रशस्त सम्भावना रहेको छ । रुरुका स्थानीय युवा मिलेर रिडीमा नदी थुनेर ताल निर्माणको काम अगाडि बढाएको छ । 

स्थानीय नौ जना युवा मिलेर एक करोड रुपियाँको लगानीमा ताल बनाएका हुन् । तत्काल माघी मेलाबाटै डुङ्गा चलाउने योजना युवाको छ । रिडी पुलदेखि तीनमुखे पुलसम्म नदीलाई थुनेर ताल निर्माण भइरहेकाले अहिलेलाई अस्थायी रूपमा जेठसम्म दुई वटा ११ जना राख्न मिल्ने क्षमताको जेट बोट सञ्चालनको योजना रहेको छ । 

आगामी वर्ष पक्की बाँधसहित स्थायी ताल बनाउने योजना रहेको तालका लगानीकर्ता व्यवसायी रविलाल पन्थले बताउनुभयो । तालको चार सय मिटर लम्बाइ, चौडाइ ६० मिटर र गहिराइ सुरुवाती चरणमा चार मिटर रहने छ । सञ्चालक पन्थले रुरु ताल रिडी एडभेञ्चर प्रालि गरेर वातावरणीय प्रभाव मूल्याङ्कन समेत गरिएको बताउनुभयो । रुरुक्षेत्र गाउँपालिका प्रमुख यदु ज्ञवालीले तालको वैधानिक विषयमा आफूहरू अनभिज्ञ रहेकाले अहिलेलाई व्यक्तिगत लगानीमा अस्थायी संरचना निर्माण भइरहेको बताउनुभयो । 

उहाँले युवाको कामले साहसिक खेलमार्फत पर्यटन प्रवर्धन हुने भएकाले स्थायी काम र कानुनी विषयका बारेमा छलफल हुने बताउनुभयो । रुरुधामनजिकै रुरुक्षेत्र गाउँपालिका र स्याङ्जाको कालीगण्डकी गाउँपालिका जोड्ने गरेर जिपलाइन निर्माणको सम्झौता भएको छ । केही जग्गा र सञ्चालनको मोडालिटीमा गृहकार्य भइरहेको ज्ञवालीले बताउनुभयो ।   

Author
टोपलाल अर्याल

उहाँ गोरखापत्र दैनिकको गुल्मी जिल्लाका लागि रेसुङ्गा समाचारदाताको रुपमा कार्यरत हुनुहुन्छ ।