काठमाडौँ, कात्तिक १५ कात्तिक । आइसिसी विश्वकप लिग–२ शृङ्खलामा नेपालले लगातार तेस्रो हार खेपेको छ ।
दुबई अन्तर्राष्ट्रिय रङ्गशालामा शनिबार भएको खेलमा नेपाल अमेरिकासँग चार विकेटले पराजित भयो । जितका लागि दुई सय ७२ रनको प्रतिस्पर्धात्मक लक्ष्य पछ्याएको अमेरिकाले ४९ ओभरमा ६ विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो ।
युएई सिरिजमा नेपालको यो लगातार तेस्रो हार हो । यसअघि पहिलो खेलमा नेपाल अमेरिकासँग एक सय ६ रन र दोस्रो खेलमा युएईसँग पाँच विकेटले पराजित भएको थियो ।
अमेरिकाका लागि सैतेजा मुकामुल्ला र मिलिन्ड कुमारले अर्धशतक बनाउनुभयो । सैतेजाले सर्वाधिक ७५ र मिलिन्ड कुमारले ७० रन बनाउनुभयो । ओपनर सायन जहानगीरले ३६, मोनाङ्क पटेलले २१, शुवम् रन्जनेले १९ र स्मित पटेलले १६ रन बनाउनुभयो ।
सन्जय कृष्णमुर्तिले अविजित १५ र हर्मित सिंहले अविजित १३ रन बनाउनुभयो । बलिङमा नेपालका सन्दीप लामिछाने तीन तथा गुल्शन झा, नन्दन यादव र करण केसीले एक एक विकेट लिनुभयो ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४९.५ ओभरमा सबै विकेटको क्षतिमा दुई सय ७१ रन बनाएको थियो । नेपालका लागि उपकप्तान दीपेन्द्रसिंह ऐरीले अर्धशतक बनाउनुभयो । उहाँले तीन छक्का र दुई चौकाको मद्दतमा ६७ बलको सामना गर्दै सर्वाधिक ७५ रन बनाउनुभएको हो ।
यस्तै करण केसी अर्धशतक बनाउन एक रनले चुक्नुभयो । उहाँले ३१ बलको सामना गर्दा तीन छक्का र दुई चौकको मद्दतमा ४९ रन बनाउनुभयो । ओपनर कुशल भुर्तेल ४७, भीम सार्की ४३, कप्तान रोहित पौडेलले ३६ रन बनाउनुबाहेक अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अङ्कमा रन जोड्न सक्नुभएन ।
बलिङमा अमेरिकाका हरमित सिंहले तीन विकेट लिनुभयो । नोस्थुश केन्जिगे र सौरव नेत्रवल्करले दुई दुई विकेट लिनुभयो । जितसँगै शीर्षस्थानमा रहेको अमेरिकाले २३ खेलबाट ३४ अङ्क बनाएको छ । पराजित नेपाल १९ खेलबाट १२ अङ्क जोड्दै सातौँ स्थानमा छ । १८ खेलबाट आठ अङ्क बनाएको युएई अन्तिममा छ ।
नेपालले यस शृङ्खलाको अन्तिम खेल कात्तिक १९ गते बुधबार युएईसँग खेल्नेछ । आठ टोली सहभागी लिगमा दोस्रो स्थानमा रहेको स्कटल्यान्डको २४ खेलबाट ३० अङ्क छ ।
यस्तै तेस्रो स्थानमा रहेको नेदरल्यान्ड्सको २४ खेलबाट २८, चौथो स्थानमा रहेको ओमानको २० खेलबाट २४, पाँचौँ स्थानमा रहेको क्यानडाको २४ खेलबाट २१ र छैटौँ स्थानमा रहेको नामिबियाको २४ खेलबाट १९ अङ्क छ ।
लिग–२ मा सहभागी आठ राष्ट्रले कुल नौ शृङ्खलामा ३६ खेल खेल्नेछन् । प्रत्येक राष्ट्रले घरेलु मैदानमा तीन शृङ्खला खेल्नेछन् भने ६ शृङ्खला अन्य राष्ट्रका मैदानमा खेल्नेछन् । प्रतियोगितामा शीर्ष चारमा रहने टोली सोझै सन् २०२७ मा हुने एकदिवसीय विश्वकपमा छनोट हुनेछन् ।