• १३ मंसिर २०८१, बिहिबार

हिउँदे अधिवेशन अन्त्य

blog

रुपन्देही समाचारदाता

रुपन्देही, चैत २ गते । लुम्बिनी प्रदेश सरकारले तीन दिन मात्रै चलेको लुम्बिनी प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य भएको पत्र प्रदेश प्रमुखको कार्यालयमा पठाएको छ । तीन दिनमै हिउँदे अधिवेशन सकिएको भनी पत्राचार गरेपछि नेकपा (एमाले) ले विरोध जनाएको छ । 

लुम्बिनी प्रदेश सरकारले प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य गरेको पत्र बिहीबार प्रदेश प्रमुख अमिक शेरचनको कार्यालयलाई पठाएको हो । मुख्यमन्त्री डिल्ली चौधरीले सदन छल्न अधिवेशन नै अन्त्य गरेको आरोप एमालेको छ । फागुन २३ गते यसअघिको सत्ता साझेदार नेकपा (माओवादी केन्द्र) ले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री चौधरी अहिले अल्पमतमा पर्नुभएको छ । सरकारका प्रवक्ता गृहमन्त्री सन्तोष पाण्डेले सदन स्थगित गरेर प्रदेश प्रमुखको पत्राचार गरेको उल्लेख गर्नुभयो । 

उहाँले भन्नुभयो, “तत्काल सदनमा कुनै विषय भएनन् र बिजनेस नभएकोले स्थगित गरिएको हो, बदलिँदो समीकरणले विश्वासको मत नि लिनुपर्ने हुन सक्छ, त्यो समयमा पुनः आह्वान हुन्छ ।”  

प्रदेश सभा सचिव दुर्लभ पुनले सदन स्थगित भएको कुरा बाहिर सुनिए पनि औपचारिक जानकारी भने नआएको बताउनुभयो । नेकपा (एमाले) संसदीय दलका नेता लीला गिरीले मुख्यमन्त्रीले प्रदेश सभालाई छल्न अधिवेशन अन्त्यको पत्र पठाएको बताउनुभयो । प्रदेश प्रमुखको कार्यालयमा फागुन ३० गते लेखिएको पत्र चैत १ गते प्राप्त भएकाले चैत १ कै मितिको पत्र पठाउन भन्दै प्रदेश प्रमुखको कार्यालयले पत्र फिर्ता पठाएको जनाइएको छ । 

सरकारको उक्त निर्णयसँगै बिहीबार दिउँसो नै नेकपा (एमाले) संसदीय दलका नेता लीला गिरीसहितका नेताले प्रदेश प्रमुख शेरचनलाई भेटेर छलफल गर्नुभएको नेताहरूले बताएका छन् ।