• ११ असोज २०८१, शुक्रबार

खानेपानीको अल्पकालीन व्यवस्थाले लाखौँ रुपियाँ बचत

blog

निशा राई

धरान, कात्तिक १ गते ।  धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राईले आफू निर्वाचित भएदेखि धरानको खोला खोल्सामा अनुसन्धान गरी अल्पकालीन व्यवस्थाको लागि पानी ल्याउने कार्य सुरु गरेसँगै एक महिनामा उपमहानगरको लाखौँ रुपियाँ बचत भएको छ।

धरानको स्वस्तिका चोकको खानेपानी ट्याङकीमा निशाने दोभानबाट पानी ल्याएपछि खानेपानी बोर्डले तिर्न‘पर्ने ३४ लाखमा १० लाख रुपियाँ बिजुलीको बिल घटेर आएको खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक इन्जिनियर राजु पोखरेलले बताउनुभयो। 

नगरप्रमुख राईले बर्खायामको पानीलाई प्रयोगमा ल्याउँदा पनि उपमहानगरको एक महिनामा लाखौँ बचत हुने बताउनुभएको थियो। सोअनुसार उहाँले गत दुई महिनामा पकुवा खोला, सर्द‘, खर्दु र निशानेको पानी सङ्कलन गरेर खानेपानी ट्याङ्कीमा झारिएको थियो। धरानको चारकोसे जङ्गलमा बिजुलीबाट पम्प चलाएर भूमिगत पानी तान्नुपर्दा विद्युत्लाई मात्र पनि एक महिनामा ३४ लाख बुझाउनुपर्ने भएकोले यसरी बर्खाको समयमा खोलामा बग्ने पानीलाई खेर नफाली प्रयोगमा ल्याउँदा उपमहानगरको विद्युत्लाई तिर्न‘पर्ने लाखौँ रकमलाई अन्य विकास क्षेत्रमा प्रयोग गर्न सकिने बताउनुभएको छ। 

हाल तेस्रो ठाउँ भालु खोला र सेउती खोलाको शिरबाट पानि ल्याउने काम सुरु गरिएको छ। त्यहाँको पानी धरान–१५ का बासिन्दालाई खुवाउन भन्दै उहाँले शनिबारबाट श्रमदान र सहयोगको आह्वान गर्न‘भएको छ। श्रमदाताले ढुङ्गा बोक्ने, पाइप तान्ने साथै इन्टेक निर्माण गर्ने स्थलमा पर्खाल उठाउने काम गरिरहेका छन्। 

भालु खोलाबाट साढे पाँच इन्चको पाइप जडान हुनेभएको छ भने सेउती खोलामा तीन इन्चको दुईवटा र साढे पाँच इन्चको एउटा पाइपबाट पानी ल्याउने गरी काम भइरहेको छ। यी सबै पाइपमा ल्याइएको पानी एकैठाउँ जम्मा गरी इन्टेकमा झारेपछि आठ इन्चको पाइपमा धरान–१५ मा पानी आउने नगरप्रमुख राईले जानकारी दिनुभयो ।

सेउती र भालु खोलाबाट पानी ल्याउँदा झनै रकम घट्ने खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक इन्जिनियर पोखरेलले बताउनुभयो। उहाँका अनुसार धरान–१५ मा पानी ल्याउन पम्प चलाउँदा धेरै बिल उठ्ने गरेको छ जसअनुसार दीर्घकालीन व्यवस्था नभए पनि छ महिना पानी आए उपमहानगरले लाखौँ रकम बचत गर्ने बताउनुभयो। निशाने दोभानबाट १० इन्चको पाइपमा पानी ल्याएपछि बिजुलीको ३४ लाख बिल आउने ठाउँमा मासिक २४ लाख रुपियाँ मात्रै बिल आएको उहाँले बताउनुभयो। 

निशाने दोभानबाट सर्द‘, खर्दु र निशानेको पानी ल्याउँदा धेरै राहत मिलेको हुनाले वर्षायाममै भए पनि यहाँबाट पानी ल्याउन लागेको स्वकीय सचिव सुदर्शन लिम्बूले बताउनुभयो। उहाँले यसरी ल्याइएको पानीले अहिले धरानवासी र उपमहानगरपालिकालाई पनि राहत मिलेको बताउनुभयो।