उर्लाबारी समाचारदाता
उर्लाबारी, चैत ७ गते । प्रतिनिधि सभा सदस्यमा मोरङ–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित सांसद यज्ञमणि न्यौपानेले सुशासन र विधिको शासनका लागि आफूले प्रतिनिधि सभामा आवाज उठाउने बताउनुभयो ।
हालको मोरङ–१ संविधान सभाको निर्वाचनमा मोरङ–९ थियो । त्यतिबेला तत्कालीन नेकपा (माओवादी केन्द्र) बाट नगेन्द्र धिमाल विजयी हुनुभएको थियो । त्यसपछिका तीन वटा निर्वाचनमा नेपाली कांग्रेसका डिगबहादुर लिम्बू दुई पटक र नेकपा (एमाले) का घनश्याम खतिवडाले एक पटक आलोपालो चुनाव जितेको मोरङ–१ मा न्यौपानेले पहिलो पटक नै २७ हजार ३६७ मत पाएर संसद्को यात्रा तय गर्नुभएको हो ।
न्यौपानेले समृद्ध देश बनाउनका लागि विदेशमा बस्ने नेपालीलाई स्वदेश फर्काएर कृषि, लघु उद्यममा आधारित उद्योगसँग जोड्न सके मात्र युवा पलायन रोक्न सकिनेमा जोड दिनुभयो । प्राकृतिक स्रोतको उपभोगबाट देशको विकास गर्न सकिने सम्भावना औँल्याउँदै उहाँले कानुन अभावका कारण जे जे समस्या भएका छन् ।
त्यसको गाँठो फुकाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । न्यौपानेले भन्नुभयो, “एउटा रुख काट्न धेरै तिरका कानुनी झन्झट देखिएका छन् । १० वटा नयाँ बिरुवा रोपेर एउटा रुख काट्न सकिन्छ नि । पर्यावरणलाई जोगाएर खानी सञ्चालन गर्न सकिने उल्लेख गर्दै उहाँले कानुनको अभावमा रोकिएका कुनै पनि विकासनिर्माणका काम अब नरोकिने दाबी गर्नुभयो । विधायकको काम कानुन निर्माण गर्ने भए पनि मोरङ–१ को विकासनिर्माणमा आफू रमिते नहुने उहाँको भनाइ छ । आफ्नो निर्वाचन क्षेत्रमा थुप्रै समस्या देखेको बताउँदै उहाँले कानुन निर्माणसँगै ती समस्या समाधानमा सदन र सरकारमा कुरा उठाउने उहाँले बताउनुभयो ।
बुवा दिवाकर र आमा चन्द्रकला न्यौपानेका जेठा छोरा यज्ञमणि न्यौपाने ताप्लेजुङ जिल्लाको फुङलिङ–९, हाङ्देवामा जन्मिनुभएको हो । मध्यम परिवारमा जन्मिएका न्यौपानेले स्थानीय जनता माध्यमिक विद्यालयबाट प्रवेशिका उत्तीर्ण गर्नुभयो । उहाँले प्रमाणपत्र तह र स्नातक तह इलामको महेन्द्ररत्न बहुमुखी क्याम्पसबाट पूरा गर्नुभयो । राजनीतिशास्त्रमा स्नातकोत्तर र कानुनमा एलएलबी गरेका ४१ वर्षीय न्यौपाने सांसदमा निर्वाचित हुनुभन्दाअघि स्वतन्त्र कानुन व्यवसायी मञ्चको अध्यक्ष हुनुहुन्थ्यो । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय अनुशासन उपप्रमुखको जिम्मेवारी समालेका न्यौपानेले न्यायालय पुनर्संरचना समितिमा बसेर काम गरिसक्नुभएको छ । उहाँ नेपाल बार एसोसिएसनको निर्वाचनमा महासचिवको प्रत्यासीसमेत हुनुभयो ।
सफल कानुन व्यवसायीका रूपमा स्थापित हुँदै गर्दा उहाँले अन्यायमा परेकालाई निस्वार्थ भावले न्याय प्राप्तिको अभियानमा सहयोग र साथ दिँदै आउनुभएको बताइएको छ ।