साहारा लिम्बू
फुङलिङ, चैत ७ गते । गुम्बा डाँडा सामुदायिक होमस्टेका सञ्चालकलाई निःशुल्क कुक तालिम दिन सुरु गरिएको छ। होमस्टेमा आबद्ध २४ जना सञ्चालकलाई निःशुल्क एक महिने कुक तालिम दिन सुरु गरिएको हो।
गुम्बाडाँडा सामुदायिक होमस्टेको व्यवस्थापन, पर्यटन कार्यालय काँकरभिट्टाको आर्थिक सहयोगमा एक्सपर्ट टेक्निकल कलेज सुनसरीले एक महिने कुक तालिम दिन सुरु गरेको छ ।
फुङलिङ नगरपालिका –६ मा रहेको होमस्टेका सञ्चालकलाई स्वादिष्ट खाना तथा खाजाका परिकार तयार गर्न सक्षम बनाउने उद्देश्यले तालिमको सुरुवात गरिएको होमस्टेका अध्यक्ष मणिराज गुरुङले जानकारी दिनुभयो ।
अध्यक्ष गुरुङका अनुसार सञ्चालकलाई दैनिक ६ घण्टा तालिम प्रदान गरिने छ। स्थानीय स्तरमा उत्पादन भएका वस्तुहरूलाई स्वादिष्ट बनाई होमस्टेप्रति नागरिकको आकर्षण बढाउने योजनासहित कुक तालिम प्रदान गरिएको बताइएको छ ।
फुङलिङ बजारदेखि करिब ४ किलोमिटरको दूरीमा रहेको होमस्टेमा पर्यटक अड्याउन तालिम उपयोगी हुने वडा ६ का वडाध्यक्ष मदन गुरुङले विश्वास व्यक्त गर्नुभयो ।