कोकिला ढकाल
इलाम, चैत ७ गते । विश्वमै दुर्लभ मानिएको वन्यजन्तु रेडपान्डाको संरक्षणमा जनचेतना जगाउने उद्देश्यले इलामको उत्तरपूर्वी सीमावर्ती क्षेत्र कालपोखरीमा रेडपान्डा महोत्सव आयोजना हुने भएको छ ।
सन्दकपुर गाउँपालिकाको उत्तरी क्षेत्रमा यसअघिदेखि नै रेडपान्डाको संरक्षण क्षेत्रका रूपमा काम गरिँदैआएको छ । यो गाउँपालिकाभित्र पर्ने जिल्लाको उत्तरी क्षेत्र जमुुना, हाँगेथाम, चोयाटार सामुदायिक वन, पर्यटकीय क्षेत्र सन्दकपुर, गोरुवाले, कालपोखरी, जौबारी, थुम्के लगायतका क्षेत्रमा दुर्लभ वन्यजन्तुु रेडपान्डा पाइने गरेको छ ।
भारतको सिंहलिला नेसनलपार्ककै उचाइ र त्यसैसँग जोडिएको यो क्षेत्रमा सिंहलिला नेसनल पार्क हुँदै पनि रेडपान्डा आउने गरेको पाइएको जनाइएको छ । यसपटक रेडपान्डाको संरक्षणसँगै आगामी चैत २० गतेदेखि २३ गतेसम्म रेडपान्डा महोत्सव आयोजना गरिएको महोत्सव आयोजक मूल समारोह समितिका संयोजक सनम राईले बताउनुभयो ।
‘यो वर्ष उत्तरपूर्वी सीमावर्ती क्षेत्र कालपोखरीलाई मुख्य स्थान बनाएर महोत्सव आयोजना गरिएको छ’ राईले भन्नुुभयो, ‘महोत्सवले रेडपान्डा संरक्षणबारे चेतना जगाउने र भारतको पश्चिम बङ्गालका पर्यटकलाई बढीभन्दा बढी पर्यटक नेपाल भित्र्याउने रहेको छ ।’
महोत्सवमा जाने पर्यटकलाई रेडपान्डा भएका स्थानहरूमा भ्रमण अवलोकन, पर्यटकीयस्थल सन्दकपुर भ्रमण, स्थानीय आदिवासीको जीवनशैलीका विषयमा जानकारी दिइने, रेडपान्डा, पर्यटन र स्थानीयको आयआर्जन लगायतका विषयमा बहस र छलफल आदि कार्यक्रमहरू तय गरिएको संयोजक राईले जानकारी दिनुुभयो ।
त्यसो त सन्दकपुर र कालपोखरी क्षेत्र भारतीय पर्यटकहरूको आकर्षणको एउटा छुट्टै गन्तव्य रहेको छ । भारतीय बाटो हुँदै यो क्षेत्रमा आउने पर्यटकलाई नेपालको बाटो हुँदै यो क्षेत्रमा पुुर्याउने अर्को लक्ष्य रहेको राई बताउनुुहुन्छ । नेपाल तर्फबाट जानका लागि झापाको काँकडभिट्टा भएर वा इलामकै पशुपतिनगर नाका भएर नेपाल भित्रिएका पर्यटहरू इलाम सदरमुकाम हुँदै माईपोखरी, टोड्के झर्ना, माबुु, जमुनाको ढाप पोखरी, चोयाटार सामुदायिक वन भएर सन्दकपुर अनि कालपोखरी पुुग्ने गरेका छन् ।
रेडपाण्डा अवलोकनका लागि बनाइएको रेडपान्डा ट्रेलसहित नेपालतर्फका यी सबै स्थानहरू घुम्नका लागि उपयुक्त रहेकाले भारतीय र अन्य पर्यटकलाई नेपालतर्फको बाटो प्रयोग गर्न पनि आफूूहरूले आग्रह गरिरहेको सन्दकपुर गाउँपालिका –२ का वडाध्यक्ष समेत रहेका महोत्सव आयोजक समिति संयोजक राई बताउनुुहुन्छ ।
महोत्सवलाई नेपाल पर्यटन बोर्ड, कोशी प्रदेश पर्यटन कार्यालय झापा, केचना–कञ्चनजङ्गा पर्यटन विकास समिति तथा रेडपान्डा नेटवर्क लगायत संस्थाहरूले प्रवर्धन गर्ने जनाइएको छ ।