• १२ असोज २०८१, शनिबार

तेक्वान्दोमा पहिलो दिन २४ खेलाडी छनोट

blog

तेक्वान्दोमा प्रतिस्पर्धा गर्दै खेलाडी । तस्बिर : राखेप

काठमाडौँ, वैशाख २३ गते । चीनको हाङझावमा हुने १९औँ एसियाली खेलकुदका लागि तेक्वान्दो खेलाडीको प्रारम्भिक छनोट प्रतियोगिताअन्तर्गत पहिलो दिन शुक्रबार २४ खेलाडी छनोट भएका छन् । विभिन्न ६ तौलसमूहमा शीर्ष तीन स्थान हात पार्ने २४ खेलाडी पहिलो चरणलाई छनोट भएको छनोट समितिका संयोजक एवं तेक्वान्दोका मुख्य प्रशिक्षक नवीनकुमार श्रेष्ठले जानकारी दिनुभयो । 

ललितपुरको सातदोवाटोस्थित नेपाल तेक्वान्दो एकेडेमीको हलमा भएको प्रतियोगिताको महिला ५३ केजीमुनि एपीएफकी अस्मिता खड्का पहिलो, लुम्बिनी प्रदेशकी निलिमा मल्ल दोश्रो तथा एपीएफकी गीता विष्ट र नेपाल प्रहरीकी आयशा लामा तेश्रो हुनुभयो । ६७ केजीमुनि नेपाल आर्मीकी रेष्मा थापा पहिलो, एपीएफकी संगिता बस्याल दोश्रो तथा बाग्मती प्रदेशकी शारुन गुरुङ र प्रहरीकी इन्दिरा बसनेत तेश्रो हुनुभयो । 

४९ केजीमुनि आर्मीकी युनिशा राई पहिलो, बाग्मतीकी सदीक्षा कार्की दोश्रो तथा बाग्मतीकी रोशनी श्रेष्ठ र प्रहरीकी अन्जली तामाङले तेश्रो स्थान हात पार्नुभयो । ५७ केजीमुनि आर्मीकी सन्ध्याकुमारी सिंह प्रथम, प्रहरीकी सुष्मा श्रेष्ठ द्वितीय तथा प्रहरीकी सुस्मिता मोक्तान र बाग्मतीकी सामना खड्गीले तेश्रो स्थान हासिल गर्नुभयो । 

पुरुष ५८ केजीमुनि सुदूरपश्चिम प्रदेशका सुमित विष्ट पहिलो, प्रहरीका सुवासचन्द्र बोहरा दोश्रो तथा आर्मीका राहुल कुमाल र विशाल राई तेश्रो हुनुभयो । ८० केजीमुनि आर्मीका सागर गुभाजु पहिलो, आर्मीका सुवास केसी दोश्रो तथा आर्मीका किरण आले र प्रहरीका कवि अधिकारी तेश्रो हुनुभयो । प्रतियोगितामा एकल पुम्सेसहित ११ स्पर्धा समावेश गरिएको छ । छनोट प्रतियोगिता शनिबार सम्पन्न हुनेछ ।