काठमाडौँ, चैत १८ गते । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन हिमाली भू–भागमा हल्का वर्षाको सम्भावना रहेको पूर्वानुमान गरेको छ ।
महाशाखाका अनुसार अहिले कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ ।
बुधबार राति कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन चट्याङ्गसहित हल्का वर्षा तथा हिमपातको सम्भावना छ ।
बिहीबार कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षा र हिमपातको सम्भावना छ ।
शुक्रबार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको हिमाली भू–भागमा साधारणतया तथा पहाडी र तराई भू–भागमा आंशिक बादल लाग्नेछ ।
हिमाली भू–भागका थोरै स्थानमा तथा पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना छ ।