म्याग्दी, चैत १८ गते । नेपाली सेनाको नयाँ रणभिम गुल्मअन्तर्गत रहेको दुर्लुङ्गथुम ब्यारेक, पर्वतको आयोजनामा आज जलजला गाउँपालिका–४, फड्केढुङ्गामा बृहत स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
शिविरमा ५३१ जना सर्वसाधारणले सेवा प्राप्त गरेका आयोजकले जनाएको छ । निःशुल्क स्वास्थ्य परीक्षण, परामर्श र औषधि वितरणसम्बन्धी सेवा उपलब्ध गराइएको रणभिम गुल्मका गुल्मपति चीरञ्जीवी सुवेदीले जानकारी दिनुभयो । आठ जना चिकित्सकको टोलीले स्त्री तथा प्रसूति, हड्डी तथा जोर्नी, दन्त, छाला, नेत्र, उच्च रक्तचाप, मधुमेह, कान, नाक, घाँटी तथा आँखा र जनरलसम्बन्धी सेवा दिएको थियो ।
क्लिनिक नेपाल भरतपुर, प्रदेश जनस्वास्थ्य कार्यालय पर्वत, प्रादेशिक अस्पताल कुश्मा र जलजला गाउँपालिकाले शिविरमा वितरण गरिएको औषधीको व्यवस्था मिलाएको थियो । नागरिक–सैनिक सम्बध सुदृढीकरण गर्ने उद्देश्यले नियमित कार्यक्रमअनुसार स्वास्थ्य शिविर आयोजना गरिएको गुल्मपति सुवेदीले बताउनुभयो । रासस