• १८ चैत २०८२, बुधबार

मैवा खोलामा बहुउद्देश्यीय कभर्ड हल निर्माण

blog

बहुउद्देश्यीय कभर्ड हलको उद्घाटन गर्नुहुँदै गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेम ।

चन्द्र पन्दाक

ताप्लेजुङ, चैत १८ गते । ताप्लेजुङको मैवा खोला गाउँपालिकामा बहुउद्देश्यीय कभर्ड हल निर्माण गरिएको छ । खेलाडी उत्पादन गर्ने साथै उनीहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यसहित गाउँपालिकाले कभर्ड हल निर्माण गरेको हो ।

पालिकाको प्रशासकीय केन्द्रस्थित साँघुमा निर्माण गरिएको बहुउद्देश्यीय कभर्ड हलको बुधबार गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमले कभर्ड हलको उत्दघाटन गर्नुभएको छ । 

उद्घाटन भएसँगै कभर्ड हल औपचारिक रूपमा सञ्चालनमा आएको गाउँपालिकाका प्रवक्ता एवं वडा नम्बर १ ढुङ्गेसाँघुका वडाध्यक्ष चन्द्रकुमार तामाङले जानकारी दिनुभयो ।

कभर्ड हल सञ्चालनसँगै खेलकुद क्षेत्रको विकास, खेलाडी उत्पादन र खेलाडीको क्षमता अभिवृद्धि साथै विकास गर्नमा टेवा पुग्ने गाउँपालिकाले अपेक्षा राखेको छ । अघिल्लो आर्थिक वर्ष २०८०/८१ देखि कभर्ड हल निर्माणको काम सुरु यसवर्ष सम्पन्न भएको गाउँपालिकाकी निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीमाया गोम्देनले जानकारी दिनुभयो ।

भर्खरै सम्पन्न भएको बहुउद्देश्यीय कभर्ड हल कुल दुई करोड १३ लाख ४८ हजार ५०३ रुपियाँको लागतमा निर्माण गरिएको हो । 

आधुनिक तथा सुविधा सम्पन्न संरचनासहित निर्माण भएको कभर्ड हलमा भलिबल, ब्याडमिन्टन, कराँते, उसुसहित तेक्वान्दोका खेलहरू सञ्चालन गर्न सकिने गाउँपालिकाका प्रवक्ता तामाङले जानकारी दिनुभयो । 

उहाँका अनुसार चमेना गृह, प्यारापिट (दर्शकदिर्घा), पोशाक परिवर्तन कक्ष, शौचालयसमेत रहेको सुविधा सम्पन्न कभर्ड हल निर्माण भएको छ । 

यता गाउँपालिका अध्यक्ष वनेमले कभर्ड हल निर्माण सम्पन्न भई सञ्चालनमा आएसँगै स्थानीय खेलाडीको लामो समयदेखि रहँदै आएको माग आंशिक रूपमा पूरा भएको बताउनुभयो । 

खेलाडीको क्षमता अभिवृद्धि तथा विकास, खेलाडी उत्पादन गर्नेलगायत खेलकुदका क्षेत्रमा आवश्यकता अनुसार योगदान र लगानी गर्न गाउँपालिका सधैं तयार रहेको पनि उहाँले बताउनुभयो । 

कभर्ड हल उद्घाटनमा विभिन्न वडाका जनप्रतिनिधि, स्थानीय लगायतको सहभागिता रहेको थियो ।