काठमाडौँ, चैत १८ गते । २०औँ संस्करणको एनएनआइपिए स्पोर्ट्स अवार्ड–२०८१ यही चैत २० गते शुक्रबार काभ्रेको बनेपामा हुने भएको छ ।
अवार्डको सम्पूर्ण तयारी पूरा भएको बुधबार आयोजित पत्रकार सम्मेलनमा आयोजक नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घले जानकारी दिएको हो ।
अवार्डमा नेपाल ओलम्पिक कमिटी (एनओसी) मा आबद्ध २६ खेललाई आधार मानेर वर्ष उत्कृष्ट खेलाडी छनोट गरिएको छ । २६ खेलका उत्कृष्ट खेलाडीबाट एक पुरुष र एक महिलालाई सर्वोकृष्ट खेलाडी घोषणा गर्दै जनही एक लाख रुपियाँ पुरस्कार प्रदान गरिने छ ।
यस्तै एक पुरुष र एक महिला खेलाडीलाई प्रतिभाशाली खेलाडी सम्मान स्वरूप जनही ५० हजार रुपियाँ प्रदान गरिने छ । सङ्घले पहिलो पटक उपत्यका बाहिर अवार्ड कार्यक्रम आयोजना गर्न लागेको हो ।
अवार्ड कार्यक्रममा एक जना पाका खेल व्यक्तिलाई गजराज आर्दश खेल व्यक्तित्व, एक खेल पत्रकारलाई एनएनआइपिए खेल पत्रकारिता पुरस्कार र एक जनालाई वर्ष उत्कृष्ट पारा खेलाडी सम्मान प्रदान गरिने छ । आदर्श खेल व्यक्तित्व र पत्रकारलाई अवार्डसहित जनही ३५ हजार तथा पारा खेलाडीलाई १५ हजार रुपियाँ प्रदान गरिने छ ।
पुरस्कृत हुने २६ खेलका खेलाडीमा फुटबल, जिम्नास्टिक, एथलेटिक्स, पौडी, टेनिस, ह्यान्डबल, ट्रायथलन, हक्की, कुस्ती, टेबलटेनिस, उसु, भारोत्तोलन, बास्केटबल, बक्सिङ, कबड्डी, स्की, क्यानोइड, ब्याडमिन्टन, भलिबल, कराते, साइक्लिङ, आर्चरी, तेक्वान्दो, कराते, कबड्डी र फेन्सिङबाट रहेको छ ।