• १७ जेठ २०८१, बिहिबार

वन्यजन्तुमा पनि वासस्थानको न्यास्रो

blog

उपचारपछि तङ्ग्रिँदै मेघौली । तस्बिर सौजन्य : डा. विजयकुमार श्रेष्ठ

काठमाडौँ, चैत १९ गते । चितवन राष्ट्रिय निकुञ्जबाट गत असोज १० गते तीन वटा गैँडा कोशीटप्पु आरक्षमा स्थानान्तरण गरियो । राष्ट्रिय प्रकृति संरक्षण कोषको संरक्षणमा रहेका पुष्पा र अञ्जली नामका पोथी गैँडाले घर सर्ने क्रममा खासै विमति जनाएनन् तर मेघौली नामक भाले गैँडा भने चितवनबाट अन्त रुचाएन । वन्यजन्तु चिकित्सक डा. विजयकुमार श्रेष्ठले भन्नुभयो, “जाने बेला उसले गाडीमा राखिएको केजमै सिङ र मुखले हानिरह्यो ।” बाटोभरि पनि उसले त्यही क्रम दोहोर्‍याइरह्यो । कोशी पुगेपछि राखिएको खोरले उसलाई अत्यासै गरायो । आफू रमेको सौराहा छाड्दाको पीडाका कारण उसले उग्रता देखायो । अनि खोरै फोडेर भाग्यो । 

त्यसपछि बल्ल बल्ल समातेर फेरि खोरमा राखे पनि उसले खान मानेन । घर छाड्नु पर्दाको सकसका कारण प्रतिरोध गर्दा उसको मुखभरि घाउ भयो । त्यसले गर्दा बिरामी पर्न थाल्यो । खानै नमानेपछि बचाउन पाँच दिनअघि चितवन फिर्ता पठाइयो । चितवन आएर उपचार पाएपछि भने मेघौली तङ्ग्रिन थालेको वन्यजन्तु चिकित्सक डा. श्रेष्ठले बताउनुभयो । 

एक स्थानबाट अर्को स्थानमा सारिँदा वासस्थानजन्य अवस्थिति र फरक वातावरणका कारण वन्यजन्तुमा वासस्थानको न्यास्रो (होम सिक) को अवस्था आउने र बिस्तारै गल्दै गएर मर्ने गरेको श्रेष्ठले बताउनुभयो । २०७४ सालमा बाढीमा परेर आमा गुमाएपछि मेघौलीको उद्धार गरिएको थियो । राष्ट्रिय प्रकृति संरक्षण कोषको संरक्षणमा हुर्किएको सो गैँडालाई हुर्केपछि जङ्गलमा छाडियो तर घर र मानिसको सङ्गतमा रमेको गैँडा बारम्बार बस्ती फर्कन थालेपछि समातेर कोशीटप्पु स्थानान्तरण गरिएको संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो । 

आउँदा मुखमा घाउ बनेकाले खान नमानेर बिरामी भएको कोशीटप्पु आरक्षका प्रमुख संरक्षण अधिकृत रमेशकुमार यादवले बताउनुभयो । उहाँले भन्नुभयो, “यहाँ अस्पताल र चिकित्सक दुवै थिएनन्, त्यसैले चितवन नै फर्काइएको हो ।” 

यसको अर्को उदाहरण बर्दियामा स्थानान्तरण गरिएका ९१ वटा गैँडा पनि हुन् तर त्यहाँ अहिले ३८ वटा मात्र छन् । यसरी निकै न्यून मात्र गैँडाले अनुकूलन गरेर बाँच्न सक्नुमा मानसिक तनाव पनि प्रमुख कारण भएको अनुमान गरिएको छ तर शुक्लाफाँटामा भने त्यो समस्या देखिएन । त्यहाँ लगिएका नौ वटा गैँडाबाट अहिले १७ वटा पुगेका छन् । 

देशका विभिन्न राष्ट्रिय निकुञ्जबाट एकअर्कोमा सारिएका वन्यजन्तुमा वासस्थानको अन्योलले ‘होम सिक’ हुने गरेको पाइएको हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका प्रवक्ता वेदकुमार ढकालका अनुसार वासस्थान फेरिँदा वन्यजन्तुमा परिवर्तित वातावरणमा रत्तिन समय लाग्छ । त्यस क्रममा जो सङ्घर्ष गरेर बाँच्न कसरत गर्छन् ती बाँच्छन्, नसक्ने वातावरणजन्य मानसिक तनावमा परेर बिरामी हुने र मर्ने गर्छन् । 

कतिपय भने कालगतिमै मर्ने गरेको पनि उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “कोशीमा लगिएको मेघौलीको अवस्था चितवनका अर्ना जस्तो नहोस् भनेरै फिर्ता ल्याएर उपचार थालिएको हो ।” 

गैँडा मात्र होइन, चितवनमा कोशीबाट स्थानान्तरण गरिएका अर्ना १२, सदर चिडियाखानाबाट लगिएका तीन र निकुञ्जमै जन्मिएका छ वटा अर्ना सखाप भएका थिए । कतिपयलाई बाघले खाएको र कतिपयलाई वासस्थानमा अनुकूलन हुन समस्या आउँदा बाढीले बगाउने गर्दा सबै सखाप भएका थिए । 

विसं १९९१ देखि २०२३ सम्म नेपालमा कुल १०२ गैँडा स्थानान्तरण गरिएका थिए । सबै खालका वन्यजन्तुमा स्थान फेरिँदा हुने मानसिक तनावले अनुकूलनमा समस्या आउने गरेको डा. श्रेष्ठले औँल्याउनुभयो ।