रामकृष्ण बोहरा
बागलुङ, चैत २२ गते । बागलुङ नगरपालिका वडा ५ को मालिकास्थित गण्डकी गोपाल गौशाला सर्वसिद्वीधाम पञ्चकोट जत्तिकै महत्वपूर्ण छ । पञ्चकोटमा आयोजना गरिने महायज्ञमा यो गौशालामा पनि हवन र पुजन गरिदै आइएको छ ।
गत महिना लगाइएको ‘चर्तुमास महायज्ञ’ गौशाला चिनाउने काममा सफल भएको थियो । गाई पाल्नका लागि निर्मित गौशालामा अहिले ५७ गाई पुगिसकेका छन् । सयौं गाई पाल्ने लक्ष्य गौशालाको छ । धार्मिक रुपमा लक्ष्मीको रुपमा पुजिने स्थानीय गाईको संरक्षणका लागि गौशाला बनाइएको स्वामी कमलनयनाचार्य बताउनुहुन्छ ।
उहाँका अनुसार, दशौं हजार गाई बनाएर स्थानीय गाइको दुध घिउ सबैले खान पाउने व्यवस्था गर्ने मात्र नभइ हिन्दु धर्मको महत्व बढाउन गौशालालाई प्रभावकारी बनाउने पनि कमलनयनाचार्यको चाहना छ । बैदिक गाइ संरक्षणले मालिका गाउँलाई नै पवित्र बनाउने, गहुँतको उचित प्रयोग गरेर औषधालय सञ्चालन गर्ने, मल व्यवस्थापन गरेर कृषि फसल उत्पादनमा स्थानीयलाई सक्रिय बनाउने लक्ष्य कमलनयनाचार्यले बताउनुभयो ।
महायज्ञमा गाईलाई हेलीकोप्टरमा ल्याउने काम मात्र गरिएन, २०७२ सालमा गण्डकी गोपाल गौवंश संरक्षण केन्द्र समेत दर्ता गरेर सञ्चालनमा ल्याइएको हो । अहिले उक्त स्थानमा ५७ गाई र १ साढे पालिएको छ । यो अब सयौं रोपनी जमिनमा गाई पाल्ने लक्ष्य छ ।
हाल निःशुल्क पाइएको ८२ रोपनी जमिनलाई उपयोग गरेर गौशाला बनाइएको हो । यहाँ आर्युवेद औषधालय बनाउने लक्ष्य राखिएको छ । अहिले गौशालामा काम गर्ने कामदार छन् भने स्थानीयले साथ दिन्छन् । गौशालामा निर्मित सभाहलमा दुईसय जना बसेर कार्यक्रम गर्न मिल्ने प्रकारको छ ।
स्थानीय गोविन्दप्रसाद आचार्य गौशाला धार्मिक पर्यटकीयस्थल बन्ने सम्भावना देख्नुहुन्छ । ‘‘अहिलेसम्म पञ्चकोट घुम्न आउनेहरु बढेका छन्, अब केही समयमै गौशाला पनि पर्यटकीय गन्तव्य बन्ने छ’’ उहाँले भन्नुभयो, ‘‘प्राकृतिक उपचार केन्द्रको रुपमा यो स्थानलाई विकास गरिंदैछ ।’’
स्वामी कमलनयनाचार्यले मालिकामा मात्र नभइ देशभर १० लाख स्थानीय प्रजातीका गाई पाल्न सक्ने लक्ष्य राखेको सुनाउनुभयो । राज्यले उचित जग्गा जमिन दिन सकेमा गाई पालेर नेपालभर शुद्ध दूध र घिउ दिएर आत्मनिर्भर बनाउन पहल गर्ने उहाँको भनाइ छ । उहाँ विशेषगरी गाई तथा हिन्दु धर्मका मौलीक परम्परा जोगाउने महाअभियानमा सक्रिय बन्ने गरेको बताउनुहुन्छ ।