चन्द्र पन्दाक
ताप्लेजुङ, चैत २२ गते । चैते दसैँको अवधिमा करिव पन्ध्र हजार भक्तजनले ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभराको दर्शन गरेका छन् । चैते दसैँको समय अर्थात पछिल्लो १० दिनमा उक्त सङ्ख्यामा भक्तजनले पाथीभराको दर्शन गरेका हुन्।
पाथीभरा क्षेत्र विकास समितिका अनुसार चैते दसैँ तथा रामनवमीको समय गत चैत १२ गतेदेखि शनिबार सम्ममा १४ हजार ७९६ भक्तजनले पाथीभराको दर्शन गरेका छन् । दसैँ तिहारको अवधिपछि पाथीभरा दर्शन गर्ने अर्को मुख्य सिजन (मौसम)का रुपमा रामनवमी अर्थात चैते दसैँको समयलाई लिइने गरिएको छ ।
समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङका अनुसार चैते दसैँको समयसँगै पाथीभरा दर्शन गर्ने मौसम सुरु भएकाले भक्तजनको उपस्थिति बाक्लिएको छ । पछिल्लो १० दिनको अवधिमा सबैभन्दा बढी शनिबार एकै दिन चार हजार २०८ जना भक्तजन पाथीभरा दर्शन गर्न आएका कार्यकारी निर्देशक हाङ्बाङले जानकारी दिनुभयो ।
उहाँका अनुसार अघिल्लो शनिबार पनि दुई हजार ७३३ जना भक्तजनले पाथीभराको दर्शन गरेका थिए । त्यसको अघिल्लो दिन अर्थात चैत १३ गते शुक्रबार रामनवमीका दिन पनि दुई हजार ७५ जना भक्तजनले पाथीभरा दर्शन गरेका उहाँले जानकारी दिनुभयो । पाथीभरा दर्शन गर्न देशका विभिन्न जिल्लाबाट भक्तजनहरु आइरहेका छन् ।
त्यस्तै नेपालबाहिर भारतको सिक्किम, दार्जिलिङ, पश्चिम बङ्गाल लगायतका ठाउँबाट भक्तजन पाथीभरा दर्शनका लागि आउने गरेका समितिले जनाएको छ । अहिले मौसम पनि सहज रहेकाले पाथीभरा दर्शन गर्ने भक्तजनको आउजाउ उल्लेख्य रहेको समितिका कर्मचारी राजेन्द्र महतले जानकारी दिनुभयो । उहाँका अनुसार हिजोआज पाथीभरा धाममा भक्तजनको निकै भीड लाग्ने गरेको छ ।