चितवन, चैत २२ गते । रत्ननगर नगरपालिकाले कक्षा १२ सम्म निःशुल्क शिक्षा दिने भएको छ । आगामी शैक्षिक सत्रदेखि शिशु कक्षादेखि कक्षा १२ सम्मका विद्यार्थीलाई निः शुल्क शिक्षा दिन लागिएको हो ।
नगरपालिकाका प्रमुख प्रह्लाद सापकोटाका अनुसार विद्यालयलाई अपुग रकम नगरपालिकाले उपलब्ध गराएर निःशुल्क शिक्षा दिन लागिएको हो । नगरपालिकाले माध्यमिक तह निःशुल्क शिक्षा कार्यान्वयन गर्न सुझाव समिति बनाएर अध्ययन गरेको थियो । समितिले दिएको प्रतिवेदनअनुसार नगरपालिकाले अहिलेको विद्यार्थी सङ्ख्यालाई आधार मानेर निःशुल्क गर्दा वार्षिक रु दुई करोड ४० लाख हाराहारी थप खर्च हुने जनाएको छ ।
प्रमुख सापकोटाका अनुसार निःशुल्क शिक्षाको व्यवस्था गर्दा एक विद्यार्थीलाई थप रु दुई हजार ५०० हाराहारी खर्च हुने प्रारम्भिक अनुमान छ । कक्षा ९ देखि १२ सम्मका विद्यार्थीका लागि यो खर्च थप गर्न लागिएको हो । यसअघिनै आधारभूत तहमा निःशुल्क गरिएको थियो ।
शिक्षक र कर्मचारीको तलबबाहेक विद्यालय सञ्चालनका लागि वार्षिक रु दुई करोड ४० लाख खर्च लाग्ने समितिले तयार पारेको प्रतिवेदनमा उल्लेख छ । यस नगरपालिकामा कक्षा ९ देखि १२ सम्म अध्ययन गर्ने विद्यार्थीको सङ्ख्या दुई हजार १६७ रहेको छ । विद्यार्थीबाट कुनै पनि शीर्षकमा शुल्क नलिने गरी निःशुल्क शिक्षा घोषणा गर्न लागिएको हो ।
समितिका संयोजक जगन्नाथ अधिकारीले अझै थप छलफल गर्न लागिएको बताउनुभयो । सबै विद्यालयका प्रध्यानाध्यापकसँग छलफल गरि एक विद्यालयलाई आवश्यक पर्ने थप रकम के कति हो सङ्कलन गरी नगरपालिकाले थप गर्नुपर्ने रकमको टुङ्गो लगाइने छ । उहाँका अनुसार केही रकम बढ्न सक्ने देखिन्छ ।
नगरपालिकामा कक्षा ९ देखि १२ सम्मका २७ विद्यालय छन् । हाल विद्यालयहरुले भर्ना शुल्क, परीक्षा शुल्क र अतिरिक्त कक्षाका लागि आवश्यक पर्ने खर्च विद्यार्थीबाट लिँदै आएका छन् । माध्यमिक तहमा निः शुल्क शिक्षाको व्यवस्था गर्दा १५ थप शिक्षक आवश्यक पर्ने प्रतिवेदनमा उल्लेख छ । ती शिक्षकको पारिश्रमिक नगरपालिकाले दिनुपर्ने हुन्छ ।
माध्यमिक तहमा स्थानीय सरकारले कार्यविधि बनाएर निःशुल्क घोषणा गर्न पाउने संविधानमा उल्लेख भएअनुसार रत्ननगर नगरपालिकाले संविधानको धारामा टेकेर निःशुल्क शिक्षा लागू गर्न लागेको हो । रासस