मुस्ताङ, वैशाख २३ गते । जिल्लाको बारागुङ मुक्तिक्षेत्र ३ ताङ्वेमा बसोबास गर्ने ताङ्वे गुरुङ समुदायको थच्याङ मौलिक संस्कृति हो । थच्याङ संस्कृति कुनै पर्व नभई व्यक्तिको उमेर हद कट्यो भन्ने सन्देश प्रवाह गर्ने संस्कार हो । ताङ्वे गुरुङ समुदायमा ५७ वर्ष कटेपछि त्यस्ता व्यक्तिले स्वेच्छिक रूपमा थच्याङ गर्छन् ।‘थच्याङ’को शाब्दिक अर्थ सामाजिक बन्धनबाटमुक्त हुनु हो । यो संस्कृति हिमाली भेकका ताङ्वे गुरुङ समुदायको सदियौँदेखि चल्दै आइरहेको पुरानो सांस्कृतिक प्रचलनका रूपमा लिने गरिएको छ । मुस्ताङमा अझै पनि मुखियाप्रथा विद्यमान छ । मुखियाको अगुवाइमा हरेक सामाजिक कामकाज सम्पन्न हुने गर्छ । गाउँसमाजको बैठक, भेला, खेतीपातीको काजदेखि गाउँमा हरेक कामका सूचना प्रवाह गर्ने कटुवाल [छो] लगायतको काम आलोपालो रूपमा समाजमा बस्नेले गर्नुपर्ने हुन्छ । समाजले तोकेको जिम्मेवारी पूरा नगरेमा वा कुनै कार्यहरूमा अनुपस्थित भएमा समाजलाई जरिवाना तिर्नुपर्ने हुन्छ ।समाजले तोकेको यस प्रकारका जिम्मेवारीबाट छुटकारा पाउन ताङ्वे समुदायका गुरुङले ५७ वर्ष पुगेपछि थच्याङ गर्ने प्रचलन अझै जीवन्त रहेको ताङ्वे समाजकी अगुवा सङ्गीता ताङ्वे गुरुङले जानकारी दिनुभयो । “हाम्रो समाजमा ५७ वर्ष नपुगिकन थच्याङ गर्न पाइँदैन, थच्याङ गरेपछि सामाजिक कार्यबाट मुक्त भयो भन्ने सन्देशसहितको संस्कृति हो”, गीता ताङ्वे गुरुङले भन्नुभयो, “गाउँले बोलाएको र तोकेको जिम्मेवारीबाट थच्याङ गर्ने व्यक्तिमुक्त हुन्छ, यद्यपि स्वेच्छिक रूपमा काम गर्ने व्यक्तिलाई थच्याङले अवरोध पार्दैन ।” उहाँका अनुसार ताङ्वे समाजमा ५७ वर्ष पुगेको उत्सव थच्याङ सबैका लागि अनिवार्य हुँदैन । यो समुदायमा सक्नेले थच्याङ गर्छन्, नसक्ने व्यक्तिलाई थच्याङ गर्नुपर्छ भन्ने अनिवार्य नहुने ताङ्वे समाजकी अगुवा सङ्गीताले उल्लेख गर्नुभयो । उहाँका अनुसार थच्याङ व्यक्ति र परिवारसँग जोडिएको एक पृथक संस्कृति हो । पहिलापहिला बिहेबारी धुमधामले गर्न नसकेकाहरूले जीवनको उत्तराद्र्धमा थच्याङ संस्कृतिमार्फत उत्सवका रूपमा मनाउने परम्परा रहेको समाजकी सङ्गीताले जानकारी दिनुभयो । “यो प्रचलन ताङ्वे गुरुङ समुदायमा मात्रै सीमित छैन । मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाअन्तर्गतका १९ वटै गाउँका गुरुङ समुदायले स्वेच्छिक रूपमा ५७ वर्ष कटेपछि थच्याङ पर्व मनाउने प्रचलन छ”, उहाँले भन्नुभयो । यो संस्कृति गर्दा कुलदेवताको पूजा गर्ने प्रचलन छ । थच्याङ दुई दिनसम्म चल्छ । यस अवधिमा हिमालको कुलदेवतादेखि समुन्द्रभित्रसम्म सांस्कृतिक प्रचलनअनुसार गीत गाउँदै बिदा माग्ने गरिन्छ । संसारिक दुनियाँको प्राणी जगत्, वनस्पतिलगायत छुटकारा पाउने संस्कृति प्रचलन थच्याङ हो । थच्याङ गर्ने व्यक्ति र परिवारलाई गाउँसमाजले ठेकीमा छ्याङ (रक्सी) र खादा लगेर पहिलो आर्शिवाद दिने गरिन्छ । त्यसपछि ताङ्वे समुदाय र अन्य साथीभाइ इष्ट्रमित्रहरूले खादा लगाइदिएर आर्शिवाद दिने प्रचलन रहेको सङ्गीताले उल्लेख गर्नुभयो । “आर्शिवाद दिँदा पुरुष व्यक्ति ९९ वर्ष र महिला व्यक्ति ८९ वर्ष बाँचोस् भन्ने कामना गरिन्छ । ताङ्वे समाजमा बिहेबारी गर्दा पुरुषभन्दा महिलाको उमेर १० वर्ष कम हुनुपर्छ भन्ने सांस्कृतिक मान्यता छ”, उहाँले भन्नुभयो । थच्याङको दोस्रो तथा अन्तिम दिन समापन हुँदा ५७ वर्ष पुगेका व्यक्ति र उहाँका परिवारलाई घोडामा चढाएर गाउँ परिक्रमा गराइन्छ । घोडामा चढाउँदै समाज र सबैसामु सामाजिक कामबाट मुक्त भएको सन्देश दिने थच्याङ संस्कृतिको मुख्य विशेषता रहेको उहाँले बताउनुभयो ।यसैबीच, सोमबार मुस्ताङको जोमसोममा थच्याङ संस्कृति झल्किने गरी परिक्रमा गरिएको छ । समाजका ५७ वर्ष कटेका व्यक्तिको बिदाइमा कुलदेवतालाई सम्झदै ‘जीवनको गतिशील कर्मबाट मुक्त भयो’ भन्दै ताङ्वे सांस्कृतिक गुरुङ भाषामा गीत गाउँदै पुरुष र महिलाले गाउँ परिक्रमा गराइएको हो ।ताङ्वे समुदायले थच्याङ गर्दा स्वदेश तथा विदेशमा बस्ने सबै समुदायका मानिस एक ठाउँमा भेला हुने भएकाले यसले छरिएर रहेका समुदायलाई एकापसमा जोड्ने पुलको काम गरिरहेको स्थानीय देवसिंह ताङ्वेले जानकारी दिनुभयो । उहाँका अनुसार यो संस्कृतिमा समुदायका महिला तथा पुरुष स्थानीय मौलिक वेषभूषा र गरगहना लगाएर चिटिक्क सजिसजाउ हुने गर्दछन् । नाचगान गरेर आपसमा रमाइलो गरी यसलाई उत्सवका रूपमा मनाउने प्रचलन रहेको उहाँको भनाइ छ ।
सरकार आफैँले विदेशमा बन्ड जारी गर्न सक्ने भएको छ । अर्थ मन्त्रालयले हालै सार्वजनिक गरेको वैदेशिक सहायता परिचालन नीति, २०८२ ले सरकार स्वयम्ले यस्तो बन्ड जारी गर्न सक्ने उल्लेख गरेको छ । तोकिएका विकाससम्बन्धी आयोजनामा लगानी जुटाउन यस किसिमको बन्ड जारी गर्ने नीति सरकारले लिएको हो ।
गण्डकी, वैशाख २३ गते । गण्डकी प्रदेशको कास्की, स्याङ्जा र तनहुँ जिल्लाका भू–भागहरू समेटर बग्ने सुरौदी खोलाको जलाधार क्षेत्रका स्थानीय पुलको अभावसँगै वर्षामा पानीको कटान नियन्त्रण नहुँदा बर्सेनि समस्यामा पर्दै आएका छन् । खोला आसपासका उब्जाउ योग्य भू–भागमा यहाँको पानीको उपयोग नहुँदा सिँचाइविहीन बनेका छन् भने वर्षामा खोलाले गर्ने कटानका कारण लगाएको बालीसमेत भित्र्याउन पाउने या नपाउने अन्योलता बर्सेनि पर्ने गरेको छ । खोलाको कटान नियन्त्रण हुन नसक्दा खेतीयोग्य जमिन बर्सेनि बगर बन्दै जाँदा आफूहरू समस्यामा परिरहेको अगुवा कृषक रमेश आचार्यले बताउनुभयो । कास्की, तनहुँ र स्याङ्जा तीन जिल्ला भएर बग्ने सुरौदी खोलाले बर्सेनि खेतीयोग्य जमीन कटान गरिरहे पनि यसतर्फ राज्यको चासो पुग्न नसकेको उहाँले दुखेसो गर्नुभयो ।“कटान नियन्त्रण नहुँदा वर्षमा रोपेको धान मङ्सिरमा भित्र्याउन पाइन्छ की पाइँदैन भन्ने सधैँ चिन्ता हुने गरेको छ”, उहाँले भन्नुभयो, “सुरौदी खोलाको यत्रो जलसम्पदा कटान नियन्त्रणकै अभावका कारण उपयोगविहीन बनेको छ नै, यसका कारण किसानले बर्सेनि ठूलो क्षति व्यहोर्नु परेको छ ।” कटान नियन्त्रणका लागि ठाउँठाउँमा तटबन्ध निर्माण गर्न सकिएमा समग्र सुरौदी फाँट कृषि उत्पादनको अब्बल भूमिमा परिणत हुने उहाँले दाबी गर्नुभयो । जलाधारको संरक्षण र उपयोग गर्नसकेमा स्याङ्जाको प्युरीदोभानबाट कास्कीको दोपहरे, छहरा, चवादी हुँदै तनहुँको घारी बगरसम्मका अधिकांश खेतीयोग्य भू–भाग सुरौदी खोलाको पानीले सिँचाइ गर्न सकिनुका साथै माछापालनबाट प्रशस्त आम्दानी प्राप्त गर्न सकिन्छ । कटान नियन्त्रणका साथसाथै यहाँका केही स्थानमा झोलुङ्गे पुल अत्यावश्यक रहेको उल्लेख गर्दै आचार्यले पुलको अभावमा वर्षताको समयमा ज्यानको जोखिम मोलेर आवतजावत गर्नुपर्ने अवस्था रहेको बताउनुभयो । जलाधार क्षेत्रको सुरौदी खोलामाथि तिखेढुङ्गा र पहरे जोड्ने झोलुङ्गे पुल नहुँदा यस क्षेत्रमा खेतीपाती र आवतजावत गर्नेहरूले वर्षात्का समयमा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता रहेको उहाँले अनुभव सुनाउनुभयो । यो क्षेत्र पोखरा महानगरपालिका–७ डाँडागाउँ र तनहुँको शुक्लागण्डकी नगरपालिका–१२ अर्वादी तथा खारखोला क्षेत्रका स्थानीयको बेँसी रहेको बताउँदै आचार्यले वर्षात्का समयमा खेती गर्न निकै चुनौती व्यहोर्नु परेको जानकारी दिनुभयो । “यहाँ भएका खेत पनि खोलाभन्दा वारीका मानिसको पारी र पारीका मानिसको वारी छ”, उहाँले भन्नुभयो, “वर्षात्मा बढ्ने सुरौदी खोलाका कारण ज्यानको जोखिम मोलेर वारपार गर्नुपर्ने वर्षौंदेखिको बाध्यतामा यहाँका किसान छन् ।” यस क्षेत्रमा खोला तर्ने पुलका लागि यहाँबाट माथि वा तल पाँच सात किलोमिटर हिँड्नुपर्ने बाध्यताका कारण पनि तत्कालै झोलुङ्गे पुल अपरिहार्य देखिएको उहाँले उल्लेख गर्नुभयो । पछिल्ला समयमा यस क्षेत्रको माटेरहबाट तल दराङसिङ क्षेत्रलगायत स्थानमा खोलाको कटान बढीरहेको उहाँको भनाइ छ । सुरौदी खोला किनारका जमीन वर्षौंदेखि जलाधार संरक्षणको अभावमा उपयोगविहीन बनेको अवस्थामा कास्की, तनहुँ र स्याङ्जा तीनवटै जिल्लाको संयुक्त प्रयास अपरिहार्य देखिएको पोखरा महानगरपालिका–३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीले बताउनुभयो । खोला आसपासको क्षेत्रको सबैभन्दा पहिले सीमाङ्कन जरुरी रहेको बताउँदै उहाँले सीमाङ्कन नहुँदा खोलाजन्य सामग्रीको चोरीपैठारी नियन्त्रण गर्न पनि समस्या पर्ने गरेको जानकारी दिनुभयो । यस क्षेत्रमा व्यावसायिक कृषिको विकाससँगै जल पर्यटनका विविध सम्भावनालाई उजागर गर्न सकिने बताउँदै उहाँले यसका लागि सबैको सामूहिक प्रयास आवश्यक रहेकामा जोड दिनुभयो । सुरौदी खोलाको सदुपयोग गर्न सकेमा खोला किनाराको उत्पादनले कास्की जिल्लालाई पूर्ण रूपमा कृषि उत्पादनमा आत्मनिर्भर बनाउन सकिने समाजसेवी यामप्रसाद पौडेलले बताउनुभयो । पछिल्ला समयमा अन्य पूर्वाधार विकासका कामले भने गति लिन थालेको बताउँदै उहाँले हालै सुरौदी जलाधार क्षेत्रअन्तर्गत कदमबोटेबाट फेदीसम्म कालोपत्र गरिएको जानकारी दिनुभयो । नदीको बर्सेनि धार परिवर्तन हुँदै झण्डै सात दशकयता जलाधार क्षेत्रमा रहेका कैयौँ खेतीयोग्य जमिन बगरमा परिणत भएको उहाँले बताउनुभयो । कटान नियन्त्रण गरी खोला किनाराका जग्गामा खेती गर्नसकेमा सबै किसिमको उत्पादन हुने यहाँका स्थानीयवासी बताउँछन् । पछिल्ला समयमा केही अगुवा कृषकले व्यावसायिक पशुपालनसँगै तरकारीखेतीमा जोड दिँदै आउनुभएको छ ।यस क्षेत्रको तिखेढुङ्गा क्षेत्रमा अगुवा कृषकद्वय रमेश आचार्य र ज्ञानबहादुर कार्कीले ३५ रोपनीभन्दा बढी क्षेत्रफल जमिनमा खर्बुजा लगाउनुभएको छ । लटरम्म फलिरहेको खर्बुजा बजारमा ल्याउने तयारी भइरहेको उहाँहरूले बताउनुभयो । रोजगारीको खोजीमा युवा दिनानुदिन विदेशिएका वास्तविकतामा उहाँहरूले गर्नुभएको खर्बुजाखेती जलाधार क्षेत्र आसपासका सर्वसाधारणका लागि पनि दरिलो पाठ बनेको छ । जलाधार क्षेत्रमा अत्यावश्यक झोलुङ्गे पुलको निर्माणसँगै खोलाको कटान नियन्त्रणमा राज्यले चासो दिएमा यो कृषि उत्पादन र जल पर्यटनका माध्यमबाट आर्थिक समृद्धिका लागि महत्त्वपूर्ण उपलब्धि हुने उहाँहरूको दाबी छ ।
सरकारले चालु आर्थिक वर्ष २०८१/८२ मा ६६१ जना परियोजनालाई स्टार्टअप उद्यम कर्जा वितरण गर्न लागेको छ । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले सोमबार स्टार्टअप उद्यम कर्जा पाउने ६६१ परियोजनाको अन्तिम नाम सिफारिस गरेको हो । समितिका कार्यकारी निर्देशक उमेश गुप्ताले सिफारिसमा परेका परियोजनाले तीन प्रतिशत ब्याजमा २५ लाख रुपियाँसम्म स्टार्टअप उद्यम कर्जा वितरण गरिने जानकारी दिनुभयो ।
दाङ, वैशाख २३ गते । घोराही उपमहानगरपालिका–६ का मिकसर चौधरीले २२ कट्ठा जमिनमा बर्सिम घाँसखेती गर्नुभएको छ । उहाँले दुई वटा दुहुना भैँसी र आठ वटा भेँडा पाल्नुभएको छ । कात्तिकदेखि वैशाखसम्म हरियो घाँस काटेर भैँसी र भेँडालाई खुवाउने र बीउ बिक्री पनि गरिरहेको उहाँले बताउनुभयो । गत वर्ष रु दुई लाखको घाँसको बीउ बिक्री गरेको चौधरीले जानकारी दिनुभयो । यस वर्ष पनि प्रशस्त दाना लागेको भन्दै गत वर्षभन्दा बढी आम्दानी हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । “बर्सिम घाँस खेतमा छर्न थालेपछि हिउँदको समयमा घाँस खोज्न जान परेको छैन, समयको बचत भएको छ । हरियो हुँदा घाँस खुवाउन पनि पाइने र त्यसको दानालाई बीउका रूपमा बिक्री हुन्छ”, उहाँले भन्नुभयो । उहाँका अनुसार दाङका किसानले घाँसको बीउ बिक्री गरेर लाखौँ रुपैयाँ आम्दानी गर्न थालेका छन् ।घोराही–६ का प्रेम चौधरीले तीन वटा भैँसी, एउटा गाई र छ वटा बाख्रा पाल्नुभएको छ । उहाँले भन्नुभयो, “१९ कट्ठा खेतमा बर्सिम घाँस छरेको छु, वस्तुभाउलाई घाँस खुवाउन सहज भएसँगै पशुपालन सजिलो भएको छ । हिउँदमा हरियो घाँस खाएर भैँसीले दूध पनि बढाएका छन् ।”घरमा बीउ उत्पादन गरेर बर्सेनि घाँसखेती गर्ने गरिरहेको भन्दै प्रेमले घाँसका लागि पशुपालक किसानको घाँसखेतीमा आकर्षण बढेको जानकारी दिनुभयो । “वर्षात्को समयमा लगाएको धान काट्नुभन्दा अगाडि मसुरो छरे जस्तै गरेर यो घाँसको बीउ छर्ने गरिन्छ । घाँस उम्रँदा धान काटिसकेको हुनुपर्छ, कसैले यसलाई खेत जोतेर पनि छर्ने गरेका पनि छन्”, उहाँले भन्नुभयो । गत वर्ष रु ९० हजारको घाँसको बिउ बिक्री गरेको जनाउँदै प्रेमले यस वर्ष रु एक लाखभन्दा बढीमा बिक्री हुने अनुमान गरेको बताउनुभयो । घोराही–५, ६, ७, ८ र १७ का कृषकले १५ कट्ठादेखि २५ कट्ठासम्ममा घाँसखेती गरेका घाँस बीउ उत्पादक सङ्घले जनाएको छ । अन्य बालीभन्दा धेरै फाइदा हुने भएपछि यसतर्फ किसानको आकर्षण बढेको सङ्घका सचिव विमल अधिकारीले जानकारी दिनुभयो । घोराही–६ को गुरुवागाउँ, गुरगै, जजरागाउँ, बेरुवागाउँ, बेरगै, फचकपुर र अघरा तथा घोराही–१७ को कर्जाही र गैरागाउँका किसानले विगत १० वर्षदेखि बर्सिम घाँसखेती गरिरहेका उहाँले जानकारी दिनुभयो । “यसलाई ‘ग्रिनगोल्ड’का नामले पनि चिनिन्छ । यो खेती गर्ने किसानलाई दोहोरोतेहोरो फाइदा हुन्छ । हरियोमा घाँस खुवाउन पाइने, सुकेको डाँठ पनि खुवाउन पाइने र दाना पनि बिक्री गरेर नगद आम्दानी गर्न पाइने भएपछि दाङका सबैजसो पालिकाका किसानले यो घाँसखेती गर्न थालेका छन्”, अधिकारीले भन्नुभयो । गत वर्ष घाँसको दाना बिक्री गरेर किसानले रु दुई लाख ९० हजारदेखि रु तीन लाखसम्म आम्दानी गरेका छन् । यो घाँस खाएका पशुले दूध उत्पादन बढाउने गरेकाले अत्यन्तै लाभकारी भएको अधिकारीले बताउनुभयो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुरस्थित क्रिकेट मैदानमा अन्तर्राष्ट्रियस्तरको प्यारापिट र फ्लड लाइट जडान कार्य तोकिएको समयमा सम्पन्न हुन नसकेकोमा गम्भीर चासो व्यक्त गर्नुभएको छ । साथै उहाँले सो विषयमा सम्बन्धित निकायका अधिकारी र निर्माण व्यवसायीसँग छलफल गर्नुभएको छ ।
नसर्ने रोगका कारण मृत्यु हुनेको सङ्ख्या दैनिक रूपमा बढ्दै गएको छ ।
सरकारको वार्षिक नीति तथा कार्यक्रमाथि राष्ट्रिय सभामा १३ वटा संशोधन प्रस्ताव दर्ता भएका छन् । राष्ट्रपतिले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सरकारको वार्षिक नीति तथा कार्यक्रम सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा वैशाख १९ गते प्रस्तुत गर्नुभएको थियो ।
नेपाल–चीन दौँत्य सम्बन्ध थप सुदृढ बनेको उच्च नेतृत्व तथा कूटनीतिज्ञले औँल्याउनुभएको छ । प्रजातन्त्र, शान्ति र विकासका लागि गिरिजाप्रसाद कोइराला फाउन्डेसनले ‘मित्रताको एक विरासत : नेपाल चीन सम्बन्धको ७० औँ वर्षलाई क्यामराबाट हेर्दा’ शीर्षकमा आयोजना गरेको अन्तर्क्रिया तथा फोटो प्रदर्शनी कार्यक्रममा सहभागी उच्च नेतृत्वले नेपाल–चीन सम्बन्धको आयाम थप सुदृढ बनेको औँल्याउनुभएको थियो ।
मनसुनजन्य विपत्का कारण हुन सक्ने जनधनको क्षतिलाई कम गरी उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन सरकारले तयारी सुरु गरेको छ ।
चौदण्डीगढी नगरपालिका –४ स्थित मदन भण्डारी मार्गको बर्खेडाँडामा आज बेलुकी ट्याक्टरले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । अर्का एक घाइते भएका छन् । जन्ती गएका दुवै जनालाई ठक्कर दिँदा एक महिलाको घटनास्थलमा मृत्यु भएको र अर्का एक युवा घाइते भएका प्रहरीले जनाएको छ ।
नेपाल पत्रकार महासंघ गोरखापत्र प्रतिष्ठान शाखाले गोरखापत्रको १२५ वर्ष प्रवेश तथा संस्थानको ६३ औं वार्षिकोत्सवको अवसरमा आयोजना हुने कार्यक्रममा प्रदान गरिने पुरस्कारको टुङ्गो लगाएको छ । प्रतिष्ठान शाखाका अध्यक्ष दीपक श्रेष्ठको अध्यक्षतामा बसेको आजको बैठकले सो टुङ्गो लगाएको हो ।
नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको भूमि चीनको बिरुद्धमा प्रयोग हुन नदिने बताउनु भएको छ ।
गाजा क्षेत्रमा सोमबार इजरायलद्वारा गरिएका हवाई आक्रमणहरूमा कम्तीमा २९ जना प्यालेस्टिनी नागरिकले ज्यान गुमाएका छन् भने कैयौँ घाइते भएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच सोमबार भेटवार्ता भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको छलफलमा पछिल्ला राजनीतिक तथा समसामयिक विषयमा सकारात्मक कुराकानी भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ।