गजेन्द्र गुरुङ
खजुरा, असोज १२ गते । दसैँको अवसर पारेर बाँकेमा रैथाने उत्पादन संरक्षण तथा प्रवर्धन गर्ने उद्देश्यले ‘पोषण मेला’ तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ ।
सहकर्मी समाज कोहलपुरको प्राविधिक सहयोग, त्रिवेणी विकास समाज कोहलपुरको सहयोग र चेतना समूह, पर्यावरणीय कृषिका लागि वडास्तरीय युवा सञ्जाल तथा थारु युवा क्लब कोहलपुर ३ मैटहवा बाँकेको संयुक्त आयोजनामा आइतबार दिउँसो बाँकेको मैटहवामा दसैँको शुभकामना आदानप्रदान गर्नुका साथै पोषण मेला र सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रममा थारु समुदायका पुरुष तथा महिलाहरुले आआफ्ना जातीय भेषभूषाका साथ सचेतना तथा सन्देशमूलक पोषणका बारेमा गीत तथा नृत्य प्रस्तुत गरेका थिए । त्यसैगरी थारु भेषभूषामा सजिएका थारु युवा तथा युवतीहरुले परम्परागत संस्कृति झल्किने विभिन्न गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।
आयोजकमध्येका एक चेतना समूहकी अध्यक्ष बजरी थारुले दसैँका अवसरमा शुभकामना आदानप्रदान गरिनुका साथै पोषणका बारेमा जानकारीमूलक तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिएको बताउनुभयो । “दसैँ हामी सबैको महान् चाड हो, विभिन्न समुदाय तथा जातजातिले आआफ्नै परम्पराअनुसार दसैँ पर्व मनाउनुहुन्छ, हामी थारु समुदायले पनि आफ्नै ढङ्गबाट दसैँ मनाउँदै आएका छौँ ।” उहाँले भन्नुभयो, “आफ्नो जातीय पहिचान, संस्कार, संस्कृति प्रस्तुत गरिनुका साथै पोषणका बारेमा पनि समाजमा सचेतना गराउनुपर्ने र सन्देश जाने भएकाले पोषण मेलासमेतसँगै सांस्कृतिक कार्यकंमको आयोजना गरेका हौँ ।”
उहाँले मेलामा थारु समुदायले उत्पादन गर्दै आएका अर्गानिक रैथाने उत्पादन पनि प्रदर्शन गरिएको जानकारी दिनुभयो । “पछिल्लो समयमा रैथाने उत्पादन समाजबाट हराउँदै गएको छ, अबका पुस्ताले रैथाने भनेकै के हो भन्नेबारे थाहा पनि नपाउने अवस्था आएको छ, यस्तो अवस्थामा रैथाने उत्पादन मानिसको पोषणसँग कति सम्बन्धित छ र कति महत्वपूर्ण छ भन्ने कुरा पनि जानकारी दिने उद्देश्य हो,” उहाँले भन्नुभयो, “दसैँको शुभकामना पनि हुने, सांस्कृतिक गीत र नृत्यले मनोरञ्जन पनि दिने र समाजमा पोषणका बारेमा जानकारी दिने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो ।”
उहाँले मानिसलाई पोषक खानाको अभाव भयो भने कुपोषणसहितका विभिन्न अन्य रोगहरुले आक्रमण गर्ने हुँदा त्यसबाट जोगिनका लागि पोषक तत्व मिल्ने विभिन्न रैथाने बाली तथा उत्पादनलाई संरक्षण र संवर्धन गर्न र प्रयोग गर्नु महत्वपूर्ण हुने बताउनुभयो ।
कीट संरक्षण अभियन्ता एवम् सामुदायिक जिन बैङ्क गाभर भ्यालीका अध्यक्षसमेत रहनुभएका पुरमल बस्नेतले चाडठपर्वको शुभकामना आदानप्रदानको कार्यक्रम राखेर पोषण मेलाको आयोजना गरिनु अत्यन्तै सकारात्मक भएको बताउनुभयो ।
“चाडपर्वका अवसरमा शुभकामनाका साथै पोषण तथा रैथाने उत्पादन प्रदर्शनले समुदायमा सकारात्मक सन्देश गएको छ, यो सराहनीयक कार्य हो, थारु समुदायका पारम्परिक, सांस्कृतिक एवम् भेषभूषाको प्रदर्शनसहितको सांस्कृतिक कार्यक्रमसहित सचेतनामूलक पोषण मेलाले समुदायमा यसलाई संरक्षण, संवर्धन एवम् प्रवर्धन गर्नका लागि सकारात्मक सन्देश गएको छ,” उहाँले भन्नुभयो, “यो कार्यक्रम अत्यन्तै जानकारीमूलक र महत्वपूर्ण रह्यो, थारु मात्रै नभएर हरेक समुदाय र जातजातिहरुले आआफ्ना चाडवाड मनाउँदा रैथाने उत्पादन र यसका महत्वका बारेमा पनि सँगसँगै समाजमा विभिन्न कार्यक्रम गरे समाजमा सकारात्मक प्रभाव हुन्छ ।”
पोषण मेलामा थारु समुदायले उत्पादन गरेका मुला, साग, मेवा, फर्सीका मुन्टा, गाजर, घिरौँला, केरा, गोभी, लौका, कागती, उखु, काँक्रा लगायतका विभिन्न पोषक तत्वजन्य अन्नबालीहरु र जिउँदै माछासमेत प्रदर्शन गरिएको थियो ।