सल्यान समाचारदाता
सल्यान, वैशाख २३ गते । सल्यानको दार्मा गाउँपालिकामा सञ्चालन गरिएको निःशुल्क आँखा शिविरबाट ११८ जना लाभान्वित भएका छन् । दार्मा गाउँपालिकाको आयोजना तथा नेपाल नेत्रज्योति सङ्घ अन्तर्गत राप्ती आँखा अस्पताल, रक्षाचौर दाङको प्राविधिक सहयोगमा दार्मा गाउँपालिका–३ स्थित दार्मा आधारभूत स्वास्थ्य सेवा केन्द्रमा मोतीविन्दु अपरेसनसहितको आँखा शिविर सञ्चालन गरिएको थियो । गाउँपालिकाका अनुसार शिविरमा सेवा लिएका ११८ जनामध्ये ३८ जनाको मोतीविन्दुको सफल शल्यक्रिया गरिएको छ ।
दार्मा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख यज्ञ बस्नेतले शिविरमार्फत स्थानीयवासीले गाउँमै विशेषज्ञ सेवा प्राप्त गरेको र दृष्टिसम्बन्धी समस्याको समयमै पहिचान तथा उपचारमा सहयोग पुगेको बताउनुभयो ।
गाउँपालिकाका अध्यक्ष निमबहादुर केसीले यस्ता शिविरले दुर्गम क्षेत्रका नागरिकलाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने भएकाले आगामी दिनमा पनि निरन्तरता दिइने बताउनुभयो । आँखा विशेषज्ञ डा. क्षमता सुवेदीले शिविरमार्फत गाउँमै आँखा उपचार सेवा पु¥याउन पाउँदा निकै खुसी लागेको बताउनुभयो ।