नेपालगन्ज समाचारदाता
नेपालगन्ज, वैशाख २३ गते । सरकारले देशैभरि सरकारी र ऐलानी जग्गाको संरक्षण गर्ने अभियान चलाइरहेका बेला नेपालगन्जमा रहेको पुरानो तालमा अतिक्रमण गर्न खोजिएको भन्दै स्थानीयले संरक्षणको माग गरेका छन् । केही वर्षअघिसम्म धोबीले लुगा धुँदै आएको सहरको प्रमुख तालका रूपमा रहेको नेपालगन्ज उपमहानगरपालिका–८, रङ्गशालानजिकको धोबीतालको केही भागमा माटो पटान गरेर पुरिएको र केही भागलाई फोहोर सङ्कलनका लागि प्रयोग गरिएकाले सो काम तत्काल रोक्न माग गरिएको हो । स्थानीय साजिद अलि सिद्दिकीले धोबीताल ऐतिहासिक ताल भएकाले जुनसुकै अवस्थामा पनि यसको संरक्षण गर्नुपर्ने माग गर्नुभयो ।
उहाँले तालको केही भागमा माटो पटान गरेर पुरिएको र केही भागलाई फोहोर फाल्ने र उठाउने ठाउँका रूपमा प्रयोग गरिएकाले त्यसो गर्न नहुनेमा जोड दिनुभयो । अर्का बासिन्दा उषाकुमारी खड्काले धोबीताललाई फोहोर जम्मा गरेर उठाउने ठाउँ बनाइएकाले दुर्घन्धका कारण बस्न नसक्ने अवस्था आएको बताउनुभयो । उहाँले पटक पटक आग्रह गर्दासमेत फोहोर फाल्ने काम नरोकिएको बताउनुभयो ।
नेपालगन्ज उपमहानगरका प्रमुख प्रशान्त विष्टले प्राकृतिक धोबीताल नपुर्न र तालमा फोहोर नफाल्न वडा नं. ८ को वडा कार्यालयलाई निर्देशन दिइएको जनाउनुभएको छ । उहाँले सो तालको संरक्षण गर्नुपर्ने स्थानीयको मागलाई ध्यानमा राखेर आगामी आर्थिक वर्षमा बजेटको व्यवस्था गर्ने सोचाइ रहेको पनि सुनाउनुभयो ।