• २३ वैशाख २०८३, बुधबार

बागलुङ बजारका बालबालिकाको पोषण लेखाजोखा

blog

बागलुङ नगरपालिकाको स्वास्थ्य शाखाले बालबालिकाको पोषण लेखाजोखा गर्दै। तस्बिर : नवराज नेपाली

नवराज नेपाली
बागलुङ (गलकोट), वैशाख २३ गते ।
बागलुङ नगरपालिका स्वास्थ्य शाखाले बागलुङ बजार क्षेत्रका बालबालिकाको पोषण अवस्था लेखाजोखा गरेको छ।

लेखाजोखाका क्रममा तीन जना बालबालिकामा मध्यम खालको कुपोषण देखिएको स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले जानकारी दिनुभयो। उहाँका अनुसार कुपोषण देखिएका बालबालिकाका अभिभावकलाई असल खानपान तथा स्वस्थ व्यवहारबारे परामर्श दिइएको छ।

नगरपालिकाअन्तर्गत रुद्रेपिपल, अमर आदर्श, गरिमा आवासीय मावि, फ्युचर ब्राइट बोर्डिङ स्कुल, बुद्ध विहार, आधारभूत स्वास्थ्य सेवा केन्द्र खहरे, तातोपानी, धौलागिरि वीरेन्द्र मावि रातामाटा तथा वडा नम्बर ३ को कार्यालयमा पोषण लेखाजोखा गरिएको हो।

बागलुङ बजारका विभिन्न स्थानमा गरिएको कार्यक्रममा अधिकांश बालबालिकाको पोषण अवस्था राम्रो रहेको खनालले बताउनुभयो। पहिलो दिन ३५० जना बालबालिकाको पोषण परीक्षण गरिएको थियो।

२० जना स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविकाको टोलीले पोषण लेखाजोखा गरेको स्वास्थ्य शाखाले जनाएको छ।
शाखाले नगरपालिकाका १४ वटै वडामा छुट्टाछुट्टै कार्यक्रम सञ्चालन गरी छ महिनादेखि पाँच वर्षमुनिका बालबालिकाको पोषण अवस्था परीक्षण गरिरहेको छ।

बालबालिकाको शारीरिक तथा मानसिक विकासमा पोषणको महत्वपूर्ण भूमिका हुने भएकाले कुपोषणबाट बचाउन तथा समयमै पहिचान गरी उपचार गर्न नेपाल सरकारले देशभर यो कार्यक्रम सञ्चालन गरेको हो।