कविराज घिमिरे
हिले, वैशाख २३ गते । गुराँसको राजधानी तीनजुरे–मिल्के–जलजले (टिएमजे) क्षेत्र यतिबेला पर्यटकले भिडभाड बनेको छ । तेह्रथुम, सङ्खुवासभा र ताप्लेजुङमा फैलिएको यस क्षेत्रमा वसन्त ऋतु सुरु भएसँगै जङ्गलभरि राताम्मे गुराँस फुलेपछि प्राकृतिक सौन्दर्य अवलोकन गर्न देश तथा विदेशबाट पर्यटकको आगमन उल्लेख्य रूपमा बढेको छ ।
आरआर गार्डेन, पाथीभरा, पाँचपोखरी, तीनजुरेसहित सोभन्दा माथिल्लो क्षेत्रका डाँडाकाँडा यतिबेला रातो, गुलाबी, सेतोलगायत विभिन्न रङका गुराँसले ढाकिएका छन् । हरियाली वनजङ्गल, चिसो शीतल हावा र बादलसँग लुकामारी खेल्ने पहाडी दृश्यले यहाँ पुग्ने जोकोहीलाई मोहित बनाउँछ । यही दृश्यावलोकनका लागि अहिले दैनिक हजारौँ पर्यटक उक्त क्षेत्र पुग्ने गरेका छन् । टुटे देउरालीका श्रीप्रसाद कार्कीका अनुसार चैतमध्येबाटै दैनिक हजारौँ पर्यटक आउने गरेका छन् । सो व्रmम करिब जेठको दोस्रो हप्तासम्म चल्ने छ ।
धरानदेखि करिब चार घण्टामा सहजै पुग्न सकिने भएकाले यहाँ आन्तरिक पर्यटकको भिड उल्लेख्य देखिन्छ । साना तथा ठुला सवारी साधनमार्फत सजिलै पुग्न सकिने यस क्षेत्रमा अहिले गुराँस हेर्न, तस्बिर खिच्न, भिडियो बनाउन र प्रकृतिसँग रमाउन पर्यटक यहाँ पुग्ने गरेका छन् । यस क्षेत्रको अर्को महìवपूर्ण पक्ष यसको जैविक विविधता हो । नेपालमा पाइने ३३ प्रजातिका गुराँसमध्ये २८ प्रजाति यही टिएमजे क्षेत्रमा पाइने तथ्यले यसलाई वनस्पति अध्ययन र अनुसन्धानका लागि महìवपूर्ण क्षेत्रमध्ये एक बनाएको छ ।
त्यसो त गुराँस अवलोकनका लागि आउने पर्यटक तीनजुरे क्षेत्रबाहेक मिल्केमा थोरै मात्र पर्यटक पुग्ने गरेका होटेल एसोसिएसन तेह्रथुमका अध्यक्ष प्रकाश श्रेष्ठ बताउनुहुन्छ । यो सिजनमा मात्र ५० हजारभन्दा बढी पर्यटक आएको उहाँको भनाइ छ ।
अघिल्ला सिजनको तुलनामा यो वर्ष पर्यटक बढेका हुन् । पर्यटकको बढ्दो चापसँगै यस क्षेत्रमा रहेका होटेल, लज तथा होमस्टे सबै पूर्ण रूपमा भरिएका छन् । कुनै पनि कोठा खाली नहुँदा धेरै पर्यटकलाई बस्ने ठाउँ नपाएर चित्रे बजारतर्फ जानु परेको छ भने कतिपय धनकुटाको सिधुवा र हिलेसम्म पुग्न बाध्य भएका छन् । धेरै पर्यटकले अग्रिम बुकिङ नगरे होटेल पाउन नसकिने अवस्था छ । स्थानीय होटेल व्यवसायीका अनुसार अहिलेको सिजनमा माग अत्यधिक भए पनि आपूर्ति सीमित हुँदा व्यवस्थापनमा कठिनाइ भइरहेको छ ।
झापाबाट गुराँस अवलोकनका लागि आएका पर्यटक कृजन भण्डारी गुराँस फुलेको दृश्य, शान्त वातावरण र चिसो हावाले यात्रा अत्यन्तै रमाइलो बनाए पनि होटेल पाउन निकै गाह्रो हुँदा समस्या भएको गुनासो गर्नुहुन्छ । पर्यटकको भिडले स्थानीय होटेल व्यवसायीलाई भने उत्साहित बनाएको छ । होटेल व्यवसायी सङ्घ तेह्रथुमका अध्यक्ष प्रकाश श्रेष्ठका अनुसार वसन्तपुरआसपासका होटेल तथा होमस्टेले करिब दैनिक एक हजार पर्यटक धान्न सक्छ । अहिले दैनिक जसो यो क्षेत्रका होटेल र होमस्टे प्याक हँुदा पर्यटक अन्यत्र पठाउनु परेको उहाँको भनाइ छ ।
वसन्तपुरबाहेक धनकुटाको चित्रे, सिधुवा, हिलेलगायतका होटेलसमेत दैनिक प्याक हुने गरेका छन् । बिदाका दिन यी स्थानमा समेत होटेल पाउन मुस्किल हुन्छ । बिदाका दिन धेरै पर्यटक फर्काउनु परेको हिलेका होटेल व्यवसायी श्रीराम रायमाझी बताउनुहुन्छ । कतिपय पर्यटकलाई पाख्रीबास र धनकुटासमेत पठाउनु परेको उहाँको भनाइ छ ।