अमरराज नहर्की
तनहुँ, वैशाख २३ गते । व्यास नगरपालिकाले नगर क्षेत्रभित्रका सामुदायिक तथा संस्थागत विद्यालयमा आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सङ्घीय सरकारको निर्णय कार्यान्वयन गर्दै नगरपालिकाले अर्को व्यवस्था नहुँदासम्मका लागि आइतबार विद्यालय बन्द रहने व्यवस्था मिलाएको हो ।
वर्षे बिदा र स्थानीय बिदाबाट कट्टा हुने गरी आइतबार बिदा दिने निर्णय गरेको प्रवक्ता सुरेश थापाले जानकारी दिनुभयो । यसअघि विद्यार्थीको पढाइमा असर पर्ने भन्दै आइतबार विद्यालय खुला राख्ने विषयमा छलफल भए पनि पछिल्लो निर्णयअनुसार बिदा नै कायम गरिएको हो । साथै, विद्यालय सञ्चालन समयसम्बन्धी विषयमा अध्ययन गरी सात दिनभित्र प्रतिवेदन पेस गर्न शिक्षा शाखालाई निर्देशन दिइएको छ ।
यसैबिच, पठनपाठनलाई थप प्रभावकारी बनाउन नगरपालिकाले विद्यार्थी सङ्ख्या अत्यन्त न्यून भएका छ वटा सामुदायिक प्राथमिक विद्यालय समायोजन गर्ने निर्णय गरेको छ । समायोजन हुने विद्यालयहरूमा व्यास–१ को जनसेविका, व्यास–५ को मानुङ, व्यास–७ को वसन्तकाली, व्यास–८ का कृष्णालय र सोमाजन तथा व्यास–१२ को जनमिलन प्राथमिक विद्यालय रहेका छन् ।
नगरपालिकाका अनुसार ती विद्यालयमा बाल विकास कक्षा मात्र कायम रहनेछ भने अन्य कक्षाका विद्यार्थीलाई पायक पर्ने नजिकका विद्यालयमा व्यवस्थापन गरिनेछ। विद्यालय समायोजनसँगै आवश्यक शिक्षक दरबन्दी मिलान तथा कर्मचारी स्थानान्तरणका लागि नगर प्रमुखको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको छ ।
नगर प्रमुख वैकुण्ठ न्यौपानेले शैक्षिक गुणस्तर सुधारका लागि दरबन्दी मिलान, स्रोत व्यवस्थापन र पूर्वाधार सुदृढीकरणलाई सँगसँगै अघि बढाइने बताउनुभयो ।