काठमाडौँ, वैशाख २३ गते । काठमाडौँको पशुपति क्षेत्रबाट उद्धार गरिएका सडक सहयोगापेक्षीहरुको वास्तविकता पहिचान गर्न होल्डिङ सेन्टर सञ्चालनमा ल्याइएको छ ।
काठमाडौँ महानगरपालिका, पशुपति क्षेत्र विकास कोष र मानव सेवा आश्रमले संयुक्त वैशाख २३ गते मंगलवारबाट संयुक्तरुपमा वडा नं. ८ तिलगंगामा सञ्चालन गरिएको सेन्टरमा पहिलो २८ जनालाई राखियो । यस दिन बिहान ३६ जनालाई उद्धार गरिएको थियो । उहाँहरुमध्ये सेन्टरमा पुगेपछि पर्खाल नाघेर ६ जना भाग्नु भएको थियो ।
मंगलबार नै काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले सेन्टरमा पुगेर पूर्वाधार, सुविधा, व्यवस्थापन र सहयोगापेक्षीका अपेक्षाका विषयमा जानकारी लिनुभयो । ‘‘हामी काठमाडौँलाई सहयोगापेक्षी मुक्त बनाउन नेतृत्व गरिरहेका छौँ । सहरमा काम गर्न सक्ने व्यक्तिले श्रम गरेर खाने, श्रम बजारमा जान नसक्ने र दायित्व लिने कोही नभएकोको मानवोचित बसोबासका लागि महानगरपालिकाले व्यवस्था मिलाउनेछ । यो कामलाई सफल बनाउन व्यक्ति परिवार, साझेदार सबैको समन्वय आवश्यक छ । मिलेर काम गरौँ ।’’ सहयोगापेक्षीसँग कुराकानी गरिसकेपछि उहाँले प्रतिक्रिया दिनुभयो ।
‘‘पारिवारिक पुनर्मिलन पहिलो लक्ष्य हो । असहाय र वेवारिसेलाई मात्र आश्रममा राख्ने हो ।’’ उहाँले उद्धार गरिएकाहरुसँग कुरा गर्दै, पारिवारिक अवस्था, सडकमा आउनु परेको कारण, शारीरिक अवस्था, परिवार र सरकारसँगका अपेक्षा लगायत विषयमा जानकारी लिनुभएको थियो । खानपान र बसोबास व्यवस्थाको कुरा गर्दै उहाँले, विरामीलाई उपचारको व्यवस्था मिलाउन निर्देशन दिनुभयो ।
कोषका कार्यकारी निर्देशक सुवासचन्द्र जोशीले, सेन्टरको पूर्वाधारलाई व्यवस्थित र सुरक्षित बनाउन कोषले काम गर्ने बताउनुभयो ।
उद्धार गरिएकामध्ये ४ जनामा मानसिक समस्या छ । एक जना ज्येष्ठ नागरिकलाई कुकुरले टोकेर घाइते बनाएको छ । उद्धारबाट ह्वीलचेयर प्रयोगकर्ता र वैशाखी प्रयोगकर्तालाई समेत सेन्टरमा ल्याइएको मानव सेवा आश्रमका उपत्यका इञ्चार्ज कृष्ण पौडेलले जानकारी दिनुभयो ।
उद्धार हुनु भएकामध्ये ६ जना महिला र बाँकी सबै पुरुष हुनुहुन्छ । उमेरका हिसाबले सबैभन्दा पाको उमेरको व्यक्ति ७८ वर्षको र सबैभन्दा कान्छो २५ वर्षको व्यक्ति हुनुहुन्छ । ठेगाना हेर्दा सोलुखुम्बु, सर्लाही, मकवानपुर, साँखु, सुनसरी, मोराङ, बारा, महोत्तरी, खोटाङ्, धनकुटा, सुर्खेत, दोलखासहित स्थानका व्यक्ति हुनुहुन्छ ।