• २३ वैशाख २०८३, बुधबार

दैलेसिमल युद्ध पर्यटकीय स्थलमा ‘जेनजी स्तम्भ’ आकर्षण बन्दै

blog

प्युठान नगरपालिका–३, दैलेसिमलस्थित युद्ध पर्यटकीय स्थलमा निर्माण गरिएको जेनजी स्तम्भ। तस्बिर : सुजल श्रेष्ठ

सुजल श्रेष्ठ
प्युठान, वैशाख २३ गते ।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनलाई स्मरण गराउने स्तम्भसहित प्युठानको एउटा पार्क अहिले आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ। प्युठान नगरपालिका–३, दैलेसिमलस्थित उक्त युद्ध पर्यटकीय स्थल पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको हो।

नेपालको दस वर्षे सशस्त्र द्वन्द्वमा सहभागी महिला जनमुक्ति सेनाको योगदानलाई कदर गर्ने उद्देश्यले युद्ध पर्यटकीय स्थलमा शालिक निर्माण, सहिदहरूको बलिदान स्तम्भ तथा जेनजी आन्दोलनको सम्झना र सम्मानस्वरूप जुत्ताको प्रतिमूर्ति स्थापना गरिएको वडाध्यक्ष सुमनराज श्रेष्ठले बताउनुभयो।

उहाँले भन्नुभयो, “नेपालमा भएका विभिन्न राजनीतिक घटनाक्रम र त्यसले ल्याएको परिवर्तनलाई अहिलेको पुस्ताले बुझ्नुपर्छ। त्यसैले हामीले युद्ध पर्यटकीयस्थलका रूपमा विकास गर्ने काम अघि बढाएका छौं।”

हालसम्म वडा कार्यालय र प्युठान नगरपालिकाको सहयोगमा करिब २२ लाख रुपियाँ खर्च गरी विभिन्न भौतिक संरचना निर्माण गरिएको उहाँले जानकारी दिनुभयो।

उक्त स्थलमा नेपालको झण्डा, कम्युनिस्ट नेता माओत्सेतुङको सालिक, व्यायामशाला, प्रतिक्षालय, सहिद गेटलगायत संरचना निर्माण गरिएका छन्। आगामी दिनमा सो स्थानसम्म पुग्ने सडक स्तरोन्नति गर्ने योजना पनि रहेको वडाध्यक्ष श्रेष्ठले बताउनुभयो।

युद्ध पर्यटकीय स्थलमा जिल्लाका विभिन्न स्थानबाट आन्तरिक पर्यटक पुग्ने क्रम बढ्दै गएको छ। जेनजी स्तम्भले पर्यटकलाई थप आकर्षित गरेको वडाध्यक्ष श्रेष्ठको भनाइ छ।