मुक्तिनाथ समाचारदाता
मुक्तिनाथ (मुस्ताङ), वैशाख २३ गते । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा रहेको दुई सय वर्षभन्दा पुरानो ‘झिम्बु’ गुफाको संरक्षण र प्रवर्धनमा कागबेनीका समुदायले सक्रियता देखाएका छन् ।
परापूर्वकालमा बौद्ध धर्मका लामाहरूले ध्यान तपस्या गर्न प्रयोग गरेको झिम्बु गुफाको संरक्षण गरी धार्मिक पर्यटकीय स्थलका रूपमा विकास गराउन स्थानीय सरोकारवालाले चासो देखाएका हुन् । स्वदेशी तथा विदेशी पर्यटक भित्र्याउने तथा तपस्या स्थलका रूपमा विकास गराउने लक्ष्यसहित संरक्षण र ऐतिहासिक पक्ष जोगाउन सक्रिय भएको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ का वडाध्यक्ष कर्म घ्याचो गुरुङले बताउनुभयो ।
गुरुङले भन्नुभयो, “पुरानो पुस्ताले अझै पनि उक्त गुफालाई कागबेनीको चिनारी सम्झिन्छन् । विगतमा संरक्षण गर्न नसक्दा महत्व भने घट्दै गएको थियो ।” कागबेनीदेखि कोरला नाकातर्फ जाने सडकदेखि दुई सय मिटरमाथि पहाडको बिच भागमा रहेको झिम्बु गुफामा दुई वटा कोठा छन् ।
कोठामा लामाहरूले ध्यान बस्दा बनाएका चुलो, खोपीलगायत भौतिक संरचना अवलोकन गर्न सकिने वडाध्यक्ष गुरुङले बताउनुभयो । स्थानीय भाषामा ‘झिम्बु’ ठाउँको नाम हो भने गुफालाई ‘फु’ भन्ने चलन छ ।
गत माघ महिनामा कागबेनीमा करिब ७५ लाख रुपियाँ चन्दा सहयोगबाट गुम्बा पनि निर्माण भएको थियो । प्राचीनकालमा मानव बस्तीको विस्तारका क्रममा उक्त गुफालाई स्थानीय समुदायले ध्यान बसेर शक्ति आर्जनको माध्यमसमेत बनाउने गरेको किंवदन्ती छ । सडकदेखि गुफासम्म पुग्ने पदमार्गलाई व्यवस्थित गर्ने र धार्मिक तथा ऐतिहासिक महत्वका विषयमा अध्ययन गरी तथ्यहरूको प्रचारप्रसार गर्न सकेमा झिम्बु फु धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास हुने सम्भावना रहेकाले थप बजेटको आवश्यकता रहेको स्थानीय बताउँछन् ।