सिराज खान
नेपालगन्ज, वैशाख २३ गते । हुलाकी राजमार्गअन्तर्गत नेपालगन्ज–गुलरिया सडकखण्डको धम्बोझी चोकदेखि नन्दनी मिलसम्मको सडक चार लेनमा विस्तार गरिने भएको छ।
हाल नन्दनी मिलदेखि गुलरियासम्म अधिकांश भाग चार लेनमा विस्तार भइसके पनि नेपालगन्जको धम्बोझी चोकदेखि नन्दनी मिलसम्म करिब दुई किलोमिटर सडक दुई लेनमै सीमित हुँदा साँघुरो र अस्तव्यस्त अवस्थामा रहेको छ।
अव्यवस्थित संरचना र जथाभावी पार्किङका कारण सो खण्ड लामो समयदेखि समस्या बनेको थियो। अब भने उक्त दुई किलोमिटर सडकले स्वरूप परिवर्तन गर्ने भएको छ।
हुलाकी राजमार्ग निर्देशनालय अन्तर्गत योजना कार्यालय नेपालगन्जका अनुसार धम्बोझी चोकदेखि नन्दनी मिलसम्मको सडक छिट्टै विस्तार गरी चार लेनमा निर्माण गरिनेछ।
उपमहानगर क्षेत्रमा पर्ने उक्त सडकखण्डमा रहेका दायाँ–बायाँका स्थायी तथा अस्थायी संरचना हटाउने प्रक्रिया सुरु गरिएको योजना कार्यालयले जनाएको छ।
योजना प्रमुख लीलाबहादुर भण्डारीका अनुसार एक महिनाभित्र अवरोध हटाएर निर्माण कार्य अघि बढाउने तयारी गरिएको छ।
“यो खण्ड समयमै विस्तार नभए हुलाकी राजमार्गको औचित्यमाथि नै प्रश्न उठ्ने अवस्था आउँछ,” उहाँले भन्नुभयो। “हाल यो खण्ड अधुरो हुँदा सवारीसाधन बाइपास प्रयोग गर्नुपर्ने बाध्यता छ, जसले यात्रु र स्थानीय व्यवसायमा नकारात्मक असर पारेको छ।”
सडक चार लेनमा विस्तार हुने खबरसँगै स्थानीयवासी तथा यात्रुहरूले खुशी व्यक्त गरेका छन्।
नेपालगन्ज–१ का स्थानीय समद सिद्दिकीले धम्बोझीदेखि नन्दनी मिलसम्मको सडक साँघुरो हुनुका साथै ठाउँ–ठाउँमा खाल्डाखुल्डी भएकाले दुर्घटनाको जोखिम रहेको भन्दै अब जोखिम कम हुने आशा व्यक्त गर्नुभयो। त्यसैगरी, खजुरा, गुलरिया लगायतका क्षेत्रमा आवतजावत गर्ने सवारी चालकहरूले पनि सडक विस्तारपछि यात्रा सहज हुने बताएका छन्।