• २३ वैशाख २०८३, बुधबार

झोलुङ्गे पुल सञ्चालन

blog

उदयपुरको चौदण्डीगढी नगरपालिका–१० स्थित मदन भण्डारी राजमार्गसँग इक्राहा–शिवनगर जोड्ने त्रियुगा नदीमा सञ्चालनमा ल्याइएको झोलुङ्गे पुल । तस्बिर :भक्तिविलास पोखरेल

गाईघाट समाचारदाता 

गाईघाट, वैशाख २३ गते  । उदयपुरको चौदण्डीगढी नगरपालिका–१० स्थित मदन भण्डारी राजमार्गसँग इक्राहा र शिवनगरलाई जोड्ने गरी त्रियुगा नदीमा निर्माण गरिएको झोलुङ्गे पुल सञ्चालनमा आएको छ ।

सङ्घीय सरकारको स्थानीय पूर्वाधार विकास कार्यक्रम अन्तर्गत सस्पेन्सन ब्रिज डिभिजन आयोजना पुल्चोक ललितपुरको नौ करोड ६९ लाख ४९ हजार रुपियाँको लागतमा ५५७ मिटर लामो उक्त झोलुङ्गे पुलको निर्माण सम्पन्न भएसँगै मङ्गलबारदेखि स्थानीयले सञ्चालनमा ल्याएका हुन्  । 

उक्त पुलबाट त्रियुगा नदी वारपार गर्न सर्वसाधारणलाई खुला गरिएको जानकारी दिँदै स्थानीय उपभोक्ता समितिका अध्यक्ष अमृतबहादुर अधिकारीले बर्साैंदेखि त्रियुगा नदी वारपार गर्दा बाढीको उच्च जोखिम मोल्दै आएका गाउँलेले अब भने बर्सातको समयमा ज्यान जोखिममा राखेर बाढी तर्नुपर्ने अवस्थाको अन्त्य भएको बताउनुभयो । 

निवर्तमान सङ्घीय सांसद एवं पूर्वपरराष्ट्रमन्त्री डाक्टर नारायण खड्काले  विकासको मेरुदण्ड भनेकै पूर्वाधार निर्माण हुनु हो भन्दै पुल नहुँदा अनेकौँ समस्यामा रहेका यस क्षेत्रका स्थानीयको समस्या समाधान भएको उल्लेख गर्दै आफू सधैँ नागरिकका समस्या समाधानका लागि तत्पर रहने बताउनुभयो । 

चौदण्डीगढी नगरपालिका–१० मा रहेका इक्राहा, खैरहा, शिवनगर, हडिया, अँधेरी, मुसहर्नियालगायतका करिब सात सय परिवारका सदस्यलाई यो पुलबाट प्रत्यक्ष फाइदा पुग्ने छ ।  विशेष गरी बिरामी, सुत्केरी, विद्यालय जाने र आउने बालबालिका तथा कामकाजका लागि सदरमुकाम गाईघाट आवतजावत गर्न झोलुङ्गे पुल नहुँदा निकै समस्या हुने गरेकोमा अब भने त्यस्तो समस्या नरहेकोे स्थानीयको भनाइ छ । थानी निर्माण सेवा काठमाडौँले उक्त पुलको निर्माण सम्पन्न गरेको हो ।