• २३ वैशाख २०८३, बुधबार

नेपालगन्ज आवास बिमाको पहिलो दाबी भुक्तानी हस्तान्तरण

blog

बिमा बापतको चेक लिँदै पीडित परिवार। तस्बिर : सिराज खान

सिराज खान
नेपालगन्ज, वैशाख २३ गते ।
देशमै पहिलो पटक नेपालगन्ज उपमहानगरपालिकामा लागू गरिएको आवास बिमा कार्यक्रमअन्तर्गत पहिलो बिमा दाबी भुक्तानी हस्तान्तरण गरिएको छ। पहिलो लाभग्राहीका रूपमा नेपालगन्ज–७ गगनगन्जस्थित पिपलचौताराका उत्तमसिंह पंजाबीलाई नगर प्रमुख प्रशान्त विष्टले बिमा रकम हस्तान्तरण गर्नुभयो।

उहाँलाई बिमा बापतको दुई लाख ३२ हजार ९०० रुपियाँको चेक हस्तान्तरण गरिएको हो। त्यसअघि राष्ट्रिय बीमा कम्पनी नेपालगन्ज शाखाका प्रमुख नवीन पौडेलले सो चेक नगर प्रमुख विष्टलाई हस्तान्तरण गर्नुभएको थियो।

गत भदौमा अविरल वर्षाका कारण पंजाबीको माटोको पुरानो घर भत्किएको थियो। बिमा रकम प्राप्त भएपछि परिवारले खुसी व्यक्त गर्दै घरबारविहीन हुने त्रास हटेको प्रतिक्रिया दिएका छन्।

नगर प्रमुख विष्टले आवास बिमा कार्यक्रमलाई विपद् व्यवस्थापनको महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो। “विपद् कहिले आउँछ भन्ने निश्चित हुँदैन, तर त्यसको असर कम गर्न हामीले पूर्वतयारी गर्न सक्छौं। आवास बिमा कार्यक्रमले विपद् प्रभावित परिवारलाई तत्काल राहत दिने काम गरेको छ,” उहाँले भन्नुभयो।

उहाँका अनुसार आगामी दिनमा कार्यक्रमलाई विस्तार गरी सबै वडाका जोखिमयुक्त घरधुरीलाई समेटिने लक्ष्य रहेको छ। विपद्जन्य घटनाबाट घरमा क्षति भएमा क्षतिपूर्तिमा सहजता ल्याउन नेपालगन्ज उपमहानगरपालिकाले वडा नम्बर ३ र ७ मा आवास बिमा कार्यक्रम लागू गरेको छ।

राष्ट्रिय बिमा कम्पनीमार्फत हालसम्म १८४ परिवारका जोखिमयुक्त घरको बीमा गरिएको विपद् फोकल पर्सन दिपेन्द्र श्रेष्ठले जानकारी दिनुभयो। उहाँका अनुसार उपमहानगरपालिकाले प्रिमियम आफैं तिरेर नागरिकलाई बीमामा सहभागी गराएको हो। क्षति मूल्यांकनपछि अधिकतम १५ लाख रुपैयाँसम्मको बीमा कभर हुने व्यवस्था छ।

हाल वडा नम्बर ८ र ११ मा पनि कार्यक्रम विस्तार गरिएको आपतकालीन कार्यसञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले बताउनुभयो। उहाँका अनुसार नेपालगन्जको यो कार्यक्रम नरैनापुर, कोहलपुर र खजुरा गाउँपालिकाले पनि यसै आर्थिक वर्षदेखि लागू गर्ने तयारी गरेका छन्।

सूचना व्यवस्थापन अधिकृत ज्ञवालीका अनुसार विपद् पूर्वतयारी र व्यवस्थापनका लागि ‘सुपर’ कार्यक्रमले प्राविधिक सहकार्य गरिरहेको छ।

युरोपियन युनियनको आर्थिक सहयोग तथा युएनडिपी, युनिसेफ, युएन ओमन र एचआईको साझेदारी तथा सिडिएम नेपाल र रेडक्रसको प्राविधिक सहयोगमा सञ्चालित उक्त कार्यक्रमले विपद् पूर्वतयारी र प्रतिकार्यमा सहयोग पुर्‍याइरहेको छ। नगरपालिकाले कार्यक्रमले समन्वय, सहकार्य र सहजीकरणमा महत्त्वपूर्ण टेवा पुर्‍याइरहेको जनाएको छ।