• २३ वैशाख २०८३, बुधबार

चित्तल मृत्यु प्रकरण छानबिन हुने

blog

जमुनाह समाचारदाता

जमुनाह, वैशाख २३ गते । नेपालगन्ज उपमहानगरपालिकाले महेन्द्र पार्क चिडियाखानाभित्र भएको चित्तल मृत्यु घटनाको अध्ययन गर्न चार सदस्यीय छानबिन समिति गठन गरेको छ । नगरपालिकाका कर्मचारीसहितको उक्त समितिलाई घटनाको वास्तविकता पत्ता लगाउने जिम्मेवारी दिइएको उपमहानगरपालिकाले जनाएको छ ।

नेपालगन्ज उपमहानगरपालिका–८ स्थित चिडियाखानामा बाहिरबाट छिरेका कुकुरको आक्रमणबाट चार वटा चित्तल मरेपछि सो घटनाको छानबिन प्रक्रिया अघि बढाएको हो । पूर्वतर्फको कमजोर पर्खाल नाघेर करिब छ वटा कुकुर रातिको समयमा खोरभित्र प्रवेश गरी दुई पोथी, एक भाले र एक बच्चा चित्तललाई आक्रमण गरी मारेका थिए । यसअघि पनि कुकुरकै आक्रमणबाट अष्ट्रिच घाइते भएका थिए ।

उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले पर्खाल भत्किएको कारण घटना भएको स्वीकार गर्दै तत्काल मर्मत सुरु गरिने बताउनुभयो । सो घटनाबारे सम्बन्धित निकायसँग स्पष्टीकरण मागिएको र छानबिन समितिले प्रतिवेदन बुझाएपछि आवश्यक कारबाही गरिने उहाँले जानकारी दिनुभयो । उपमहानगरपालिकाले गठन गरेको छानबिन समितिको संयोजकमा दीपेन्द्र श्रेष्ठ, नगरपालिकाका एक इन्जिनियर र एक पशु चिकित्सकसमेत संलग्न रहने नगरप्रमुख प्रशान्त विष्टले बताउनुभयो ।

उहाँले चिडियाखानाको पर्खालको अवस्थाका कारण कुकुरहरू भित्र पसेको हुन सक्ने भएकाले स्थलमै पुगेर निरीक्षणपछि आवश्यक भौतिक निर्माणसम्बन्धी कामको पहिचान गरिने बताउनुभयो । स्थानीयवासीले चिडियाखानाको पर्खाल जीर्ण र होचो भएकाले कुकुर तथा अन्य जनावर सजिलै भित्र पस्ने गरेको बताएका छन् । पर्खाल मर्मतका लागि पटक पटक जानकारी गराउँदा पनि नगरपालिकाले बेवास्ता गरेको उनीहरूको गुनासो छ ।