सिँजा समाचारदाता
सिँजा (जुम्ला), वैशाख २३ गते । जुम्लामा पछिल्लो समय महिला उद्यमशीलताको क्षेत्रमा उल्लेखनीय परिवर्तन देखिन थालेको छ । परम्परागत रूपमा घरधन्दा र कृषिमा सीमित महिलाहरू अहिले आर्थिक गतिविधिमा सक्रिय हुन थालेका छन् । सीमित स्रोतसाधन, कठिन भौगोलिक अवस्था, यातायातको अभाव र बजारसम्म पहुँचको कमी जस्ता चुनौतीको सामना गर्दै जुम्लाका महिलाले आफ्नो सिप, परिश्रम र स्थानीय स्रोतको सदुपयोग गर्दै आत्मनिर्भर बन्ने जमर्को गर्न थालेका हुन् ।
यहाँका महिलाले विशेष गरी स्थानीय कृषि उत्पादनलाई व्यवसायमा रूपान्तरण गर्न थालेका छन् । यसबाट उनीहरूको आयआर्जनमा वृद्धि भएको छ । स्थानीय उत्पादनको प्रवर्धन र संरक्षणमा पनि टेवा पुगेको छ । यस्तो कार्यमा तातोपानी गाउँपालिका–२, डागीबाडाकी ६७ वर्षीय अमृता रावल उदाहरणीय बन्नुभएको छ । उहाँले अर्गानिक जुम्ली जौँबाट सातु उत्पादन गर्दै आउनुभएको छ ।
आफ्नै खेतबारीमा उत्पादन भएको जौँका साथै छिमेकी गाउँबाट समेत ल्याई त्यसको प्रशोधन गरेर बजार पु¥याउन थाल्नुभएको छ । अमृता रावल भन्नुहुन्छ, “मैले यो व्यवसायलाई निरन्तर बढाउँदै गएको छु । अहिले वार्षिक दुई लाख ५० हजारदेखि तीन लाख रुपियाँसम्म आम्दानी हुन्छ ।”
त्यस्तै चन्दननाथ नगरपालिका–५ की ४७ वर्षीय सखी कठायतले आलु चिप्स तथा अचार नमकिन उद्योग सञ्चालन गर्दै स्थानीयस्तरमा सफल महिला उद्यमीको पहिचान बनाउनुभएको छ । चार वर्षअघि सानो लगानीबाट सुरु गरिएको उहाँको व्यवसाय अहिले विस्तार हुँदै गएको छ । उहाँले अचार नमकिन र आलु चिप्स उत्पादन गर्दै बजारमा बिक्री गर्दै आउनुभएको छ । गत वर्ष मात्रै उहाँले करिब तीन लाख रुपियाँको अचार, ६० हजार रुपियाँको नमकिन र ३० हजार रुपियाँको आलु चिप्स बिक्री गर्न सफल हुनुभएको हो । चालु आर्थिक वर्ष २०८२÷८३ को अहिलेसम्म एक लाख ८० हजार रुपियाँको कारोबार भइसकेको उहाँले बताउनुभयो ।
चन्दननाथ नगरपालिका–६, छिना गाउँकी २८ वर्षीय लक्ष्मी थापाले पनि आफ्नै सिप र मेहनतका आधारमा उद्यम सुरु गर्नुभएको छ ।