• २३ वैशाख २०८३, बुधबार

अति कुपोषित शिशु र आमालाई पोषण पुनर्स्थापना केन्द्रमा पठाइयो

blog

कुपोषणबाट ग्रसित आमा र शिशुलाई थप उपचारका लागि जुम्ला पठाइँदै । तस्बिर : राजन रावत

हुम्ला समाचारदाता

हुम्ला, वैशाख २३ गते । हुम्लामा अति कुपोषित देखिएका ११ जना शिशु र १० जना आमालाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला रेफर गरिएको छ । ताँजाकोट गाउपालिका–१ देखि ५ सम्मका सबै टोल बस्तीमा पोषण लेखाजोखा गर्दा पाँच वर्षमुनिका ती बालबालिकामा अति शीघ्र कुपोषण देखिएपछि थप उपचार तथा स्याहारका लागि मङ्गलबार प्रतिष्ठानको  जुम्लास्थित  पोषण पुनस्र्थापना केन्द्रमा रेफर गरिएको हो ।

ताँजाकोट गाउँपालिकाका स्वास्थ्य शाखाका खोप, पोषण सम्पर्क व्यक्ति धनराज ढकालले पहिलो चरणमा अति कुपोषितमध्ये बढी जोखिम भएका आमा र शिशुलाई पहिलो चरणमा जुम्ला पठाइएको बताउनुभयो । 

यसअघि यी शिशुको पोषण लेखाजोखा बस्तीमा स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविका पुगेर कुपोषण पत्ता लगाउने कार्य भएको थियो । अति कुपोषित आमा तथा शिशु लिनका लागि प्रतिष्ठानको गाडी आएको थियो । उनीहरूको प्रतिष्ठानको पोषण पुनस्र्थापना केन्द्रमा निःशुल्क उपचार तथा स्याहार हुने छ । अझै ताँजाकोट गाउँपालिकामा छ जना कुपोषित शिशु रहेको र ती शिशुलाई पनि उपचारका लागि जुम्ला पठाउने तयारीका लागि समन्वय भइरहेको उहाँले बताउनुभयो ।