राजन रावत
हुम्ला, असोज १२ गते । सुनौलौ हजार दिनका आमा र शिशुलाई पोषणयुक्त खानेकुरा र सरसफाईका सामानहरु प्रदान गरिएको छ । सो उमेर समूहका आमा र शिशुको कुपोषणबाट जोगाउन र सरसफाई गर्न सहजताका लागि गाउँपालिका स्वास्थ्य शाखाले सामग्री प्रदान गरेको हो ।
गाउँपालिकाका सुनौलो हजार दिनमा आमा र शिशुलाई पोषण र सरसफाईका सामग्री सहयोग गरिएको खार्पुनाथ गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख हरिभक्त शाहीले बताउनुभयो । सो उमेर समूहका आमा र शिशुको पोषणमा सुधार ल्याउन र सरसफाई गर्न सहयोग गर्न गाउँपालिकाले बार्षिक कार्यक्रम तय गरेर सहयोगको कार्यक्रम सञ्चालन गरेको हो ।
गाउँँपालिकाभर २११ जना सुनौलो हजार दिनको आमा र त्यति नै सङ्ख्यामा शिशु भएको र उहाँहरु सबैलाई ती सामग्री बितरण गरिएको उहाँले बताउनुभयो । स्वास्थ्य शाखाले उपलब्ध गराएको बिबरणअनुसार सहयोग गरिएका पोषणका सामानमा घ्यू, मार्सी चामल, अण्डा, हर्लिक्स, चेवनप्रास रहेका छन् भने सरसफाईका सामानमा बाटा, बाल्टी, साबुन छन् ।
त्यसैगरी ग्रीनहाउस निर्माणका लागि पाल र गार्डेन पाइप पनि प्रदान गरिएको छ । खार्पुनाथ गाउँपालिका –२ को थाली स्वास्थ्य चौकी इन्चार्ज बीरसिंह रावलले आफ्नो वडाभित्रका ३५ जना सुनौलो हजार दिनका आमा र शिशुलाई पोषण तथा सरसफाईको सामान प्रदान गरिएको बताउनुभयो । यसले उक्त उमेर समूहका महिला पनि सन्तुष्ट देखिनुभएको उहाँले बताउनुभयो ।