• १२ असोज २०८२, आइतबार

कैदीबन्दीलाई खसी र खाद्यान्न

blog

कारागार प्रशासनलाई खसी र खाद्यान्न सामग्री हस्तान्तरण गरिँदै । तस्बिरः अनिल पराजुली

अनिल पराजुली

हेटौँडा, असोज १२ गते । मकवानपुरको भीमफेदी कारागारमा रहेका कैदीबन्दीलाई मनहरी गाउँपालिकाले दसैँ मनाउन  खसी र खाद्यान्न सहयोग उपलब्ध गराएको छ । गाउँपालिका अध्यक्ष रन्जन कालाखेती, उपाध्यक्ष सीता पुलामीलगायत जनप्रतिनिधिको उपस्थितिमा आइतबार कारागार प्रशासनलाई खसी र खाद्यान्न सामग्री उपलब्ध गराइएको हो ।

गाउँपालिकाले कारागारलाई २ वटा खसी, ७ बोरा चामल, ६ बोरा चिउरा र अढाई कार्टुन तेल उपलब्ध गराएको हो । त्यसैगरी कारागारको प्रशासनिक सेवामा सहजताका लागि गाउँपालिकाले एउटा प्रिन्टर उपलब्ध गराएको छ । दसैको अवसरमा गाउँपालिकाले हरेक वर्ष खसी खाद्यान्न र अन्य आवश्यक सामग्री कारागारलाई सहयोग गर्ने गरेको छ । 

कारागारमा रहेका कैदीबन्दीले हर्षका साथ चाडपर्व मनाउन पाउने उद्देश्यले खाद्यान्न सहयोग गर्दै आइएको गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले बताउनुभयो । 

गाउँपालिकाका जनप्रतिनिधिले गाउँपालिका स्थायीवासी कैदीबन्दीसँग समेत भेटघाटका साथै शुभकामना आदानप्रदान गर्नुभएको थियो । भीमफेदी कारागारमा मनहरी गाउँपालिकाका करिब ६० जनाभन्दा बढी कैदी बन्दी रहेको जनाइएको छ । 

खाद्यान्न वितरण कार्यक्रममा अध्यक्ष कालाखेती, उपाध्यक्ष पुलामीसहित वडा १ का अध्यक्ष शिवप्रसाद खनाल, वडा २ का अध्यक्ष राजकुमार पाख्रिन, वडा ३ का अध्यक्ष अनन्तप्रकाश अर्याल, वडा ६ का अध्यक्ष यादव थपलिया, वडा ७ का अध्यक्ष ठाकुर तितुङलगायतको उपस्थिति रहेको थियो ।