• १२ असोज २०८२, आइतबार

चाडपर्वको नाममा कुखुराको बढ्यो अवैध आयात

blog

प्रहरीले जमुनाहा नाकानजिक बरामद गरेको अवैध कुखुरा । तस्बिरः सिराज खान

सिराज खान

नेपालगन्ज, असोज १२ गते । दसैंको समयमा नेपालगन्जमा मासुको माग उच्च भएपछि सीमा पारीबाट हुँदैआएको कुखुराको अवैध आयात बढेको छ । जेनजी आन्दोलनको समय सुरक्षाकर्मीको ध्यान सुरक्षा व्यवस्थापनतर्फ केन्द्रित रहेको मौका छोपेर सीमापारी रुपैडिहाबाट कुखुराको अवैध आयात बढेको हो । 

भारतका विभिन्न सहरमा बर्डफ्लु देखिएपछि भारतबाट कुखुराको मासु र कुखुरा ल्याउन प्रतिबन्ध लगाईएको छ । भारतबाट हुँदैआएको भारतीय कुखुराको अवैध आयात नरोकिँदा बाँके जिल्ला बर्डफ्लुको उच्च जोखिममा रहेको छ । 

खुला सीमाको फाइदा उठाउँदै तस्करहरुले दैनिकजसो साइकल, मोटरसाइकल र गाडीमा भरेर अवैध कुखुरा नेपालगन्ज ल्याउने गरेको पाइएको छ । सो प्रकारको तस्करी राति या विहानको समय बढी हुनेगरेको छ । 

पछिल्लो समय शान्ति सुरक्षाको स्थिति सामान्य बन्दै गएपछि प्रहरीले नाकामा निगरानी बढाउँदा सीमा पारीबाट ल्याइएका कुखुरा र ल्याउने मानिस दुबैलाई नियन्त्रणमा लिन थालिएको छ ।  

सो क्रममा आइतवार नेपालगन्ज उपमहानगरपालिका –१५ जमुनाहमा भारतबाट अबैध रुपमा ल्याउँदैगरेको २५ हजार रुपियाँभन्दा बढीको अवैध ब्रोईलर कुखुरा प्रहरीले बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक पातलीका अनुसार जमुनाह गाउँ निवासी स्थानीय गणेश कवडीयाले चलाएको साईकलमार्फत ल्याइँदैगरेको ४० वटा ब्रोईलर कुखुरा बरामद गरेको छ । बरामद कुखुराको अनुमानित मूल्य २५ हजार ६०० बराबर रहेको उहाँले बताउनुभयो । 

बरामद गरिएका कुखुरा तथा साईकलसहित कबडियालाई आवश्यक कारबाहीका लागि पशु क्वारेन्टाइन कार्यालय, नेपालगन्ज पठाइएको पनि प्रहरी प्रवक्ता पातलीले बताउनुभयो । उहाँले नाकामा कडाई सुरु गर्नुका साथै गस्ती समेत बढाइएकाले नाका पारीबाट हुने अवैध काम नियन्त्रण हुने बताउनुभयो ।