चाँदनी आचार्य
घोडाघोडी(कैलाली), असोज १२ गते । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका पालिकाको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले अनुगमन गर्नुभएको छ । कैलाली जिल्लाका बढी क्षती भएका तीनवटा पालिकाको मुख्यमन्त्री शाहले आईतबार अनुगमन गर्नुभएको हो ।
गोदावरी, गौरीगंगा र घोडाघोडी नगरपालिकाको अनुगमन पछि मुख्यमन्त्री शाहले पुनःनिर्माणमा सबैको सहकार्य आवश्यक रहेको बताउनुभयो । अनुगमनका क्रममा जनप्रतिनिधि, कर्मचारी सबै पुर्ननिर्माणमा जुटेको आफूले पाएको बताउदै मुख्यमन्त्री शाहले अझै सबैपक्षलाई सहकार्य गर्दै पुर्ननिर्माणमा जुट्न आव्हान गर्नुभयो ।
“प्रदेश सरकारले दसैँपछि विभिन्न पालिकालाई क्षतीभएका सन्दर्भमा सहयोग गर्न प्रतिबद्ध छौं,” मुख्यमन्त्री शाहले भन्नुभयो, “सबै तह निकाय मिलेर सहज तरिकाले सेवा दिने कुरामा एकजुट भएर अगाडी बढौं ।”
भदौ २४ गते भएको आन्दोलनमा कैलालीको गोदावरी नगरपालिकामा करिब नौ करोड रुपियाँ बरावरको क्षती भएको पालिकाले जानकारी दिएको छ । त्यसैगरी गौरीगंगा नगरपालिकामा करिब सातकरोड रुपियाँ बरावरको क्षती भएको छ ।
घोडाघोडी नगरपालिकामा नगरपालिकाको भवन लगायत १२ वटै वडा भवनमा भएको क्षतीको जानकारी दिदै नगरप्रमुख खडकबहादुर रावतले आठ करोड ५० लाख रुपियाँ बरावरको क्षती भएको जनाउनुभयो । उहाँले भन्नुभयो, “हामीले प्राविधिकहरुको अनुगमन र मुल्याङ्कनबाट क्षतीको आँकडा निकालेका छौं । पूर्वाधार र जिन्सी सम्पतिको अलग अलग आँकलन गरेका छौं ।”
नगरप्रमुख रावतका अनुसार नगरपालिका तर्फ जिन्सी तीनकरोड ५० लाख रुपियाँ र पूर्वाधार ७० लाख रुपियाँ बरावरको क्षती भएको मुल्याङ्कन गरिएको छ । त्यसैगरी १२ वटा वडा कार्यालयमा जिन्सी तर्फ दुई करोड २९ लाख रुपियाँ र पूर्वाधारतर्फ दुई करोड रुपियाँ बराबरको क्षती भएको आँकलन गरिएको छ ।
नगप्रमुख रावतले घोडाघोडी नगरपालिकाको कार्यालयमा सबैभन्दा बढी क्षती नगरप्रमुख र उपप्रमुखको कार्यकक्षमा पुर्न निर्माण नगरीकन सेवाप्रवाह गर्न नसकिने अवस्था रहेको बताउनुभयो । उहाँले विभिन्न वडा कार्यालयका भवन चर्किनुका साथै लेन्टरसमेतमा असर परेकोले पुनःनिर्माण गर्नुपर्ने प्राविधिकको सुझाव रहेको उल्लेख गर्नुभयो ।