विसं २०७८ : पर्यटनमा निराशासँगै उत्साह थपिएको वर्ष
काठमाडौं, वैशाख १ गते । मुलुकको पर्यटन क्षेत्रका लागि विसं २०७८ निकै निरासाजनक बन्यो । कोभिड–१९ महामारीबाट पर्यटन क्षेत्र सबैभन्दा बढी प्रभावित बन्यो । विदेशी मुद्रा आर्जन गर्ने प्रमुख स्रोत नै पर्यटन भएकाले पर्यटक आगमन सुस्त अर्थात् अत्यन्तै न्यून सङ्ख्यामा भित्रिएका विदेशी पर्यटकको आँकडाले पनि नेपालको पर्यटनको अवस्थालाई दर्शाउँछ । त्यसोत, अघिल्लो वर्ष विसं २०७७ पनि कोभिड कहरले नेपालको सबैजसो क्षेत्रलाई चौपट तुल्यायो । त्यसताका पनि पर्यटन क्षेत्र सबैभन्दा बढी प्रभावित बनेको थियो । वर्ष २०७८ मा विदेशी पर्यटक आगमन सर्वाधिक कम भए । समग्रमा पर्यटन क्षेत्रमा चुनौतीसँगै उत्साह पनि थपिएको छ । कोभिड महामारीको दोस्रो लहरसँगै सुरु भएको वर्ष २०७८ को उत्तरार्द्धमा पर्यटन क्षेत्रमा धेरै आशाका सम्भावना देखिए ।होटल व्यवसायीहरूको छाता सङ्गठन होटल सङ्घ नेपाल (हान)ले कोभिडपछि विस्तारै मुलुकको पर्यटन क्षेत्र लयमा फर्किँदै गरेको जनाएको छ । सङ्घका कार्यवाहक अध्यक्ष विनायक शाहले दुई वर्षको उकुसमुकुसपछि पर्यटन विस्तारै जुर्मुराउँदै गएको बताउनुभयो । उहाँले वर्ष २०७८ पर्यटनका लागि निराशा र चुनौती सँगसँगै उत्साह पनि थपिएको बताउनुभयो । कार्यवाहक अध्यक्ष शाहका अनुसार पछिल्ला दिनमा पर्यटक आगमन पनि बढिरहेको छ । पर्यटन क्षेत्र चलायमान भएको छ । पर्यटकीय गतिविधि बढेका छन् । ठूला इभेन्ट, मेला, महोत्सवले पर्यटन क्षेत्रमा उत्साह छाएको छ । कोभिड कहरकैबीच पनि अन्तर्राष्ट्रिय समुदायसँग सम्पर्क विस्तार र नीतिगत योजना बनाउन सहज भएकाले वर्ष २०७८ पर्यटनका लागि राम्रै रहेको कार्यवाहक अध्यक्ष शाहको भनाइ छ । उहाँले कोभिडपछिको पर्यटन पुनरुत्थानका लागि गठित कार्यदलले पनि आगामी रणनीतिबारे काम गरिरहेकाले आगामी दिनमा पर्यटन क्षेत्र सकारात्मक बन्ने विश्वास व्यक्त गर्नुभयो । यकिन तथ्याङ्क नरहे पनि देशभर साना–ठूला गरी झण्डै १० हजार होटल छन् । ती होटलमा करिब दुई लाख बेड रहेको हानले जनाएको छ । पर्यटकस्तरदेखि पाँचतारे होटल धमाधम बनिरहेकाले यो सङ्ख्या अझै बढ्ने बताइएको । ठूला चेन होटल पनि निर्माणाधीन छन् ।ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)का अध्यक्ष खुमबहादुर सुवेदीले वर्ष २०७८ पर्यटनका लागि निकै दुःखद् भएको बताउनुभयो । उहाँले अघिल्लो वर्ष पर्यटनका लागि कठिनाइ रहे पनि पछिल्ला दिनमा पर्यटन क्षेत्र चलायमान बनेकाले आउँदा दिनमा आशाका सङ्केत देखिएको बताउनुभयो । उहाँले भन्नुभयो, “अघिल्लो वर्ष पर्यटनका लागि दुःखद् भयो । विदेशी पर्यटक आगमन न्यून रह्यो । आर्थिक उपार्जन हुन सकेन, यो वर्ष २०७९ तुलनात्मकरूपमा राम्रो होला भन्ने अपेक्षा छ, विदेशी पर्यटक आउन थालेका छन् ।”नेपाल पर्यटन बोर्डको तथ्याङ्कानुसार सन् २०२१ मा एक लाख ५० हजार ९६२ र सन् २०२० मा दुई लाख ३० हजार विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । यस्तै, सन् २०१९ मा ११ लाख ९७ हजार १९१ पर्यटकले नेपाल भ्रमण गरेका थिए भने सन् २०१८ मा ११ लाख ७३ हजार ७२ विदेशी पर्यटक नेपाल भ्रमण गरेका थिए ।सन् २०२२ को सुरुआती चरणमा विदेशी पर्यटक आगमन निरन्तर बढिरहेको छ । बोर्डका अनुसार सन् २०२२ को जनवरीदेखि मार्च महिनासम्म ७८ हजार ७४७ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । मार्च महिनामा मात्रै हवाईमार्ग भएर कूल ४२ हजार छ जना पर्यटक नेपाल भित्रिएका छन् । अघिल्लो वर्ष सन् २०२१ को मार्च महिनामा १४ हजार ९७७ पर्यटक नेपाल आएका थिए । वर्षको मार्च महिनाको पर्यटक आगमन कोभिड महामारीपछि सबैभन्दा बढी हो । यो वर्षको सुरुआती महिनादेखि निरन्तररूपमा विदेशी पर्यटक आगमन बढिरहेको छ । सन् २०२२ को जनवरीमा १६ हजार ९७५ र फेब्रुअरीमा १९ हजार ७६६ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपालमा हिमाल आरोहणको सिजन भएकाले पनि विदेशी पर्यटक बढेका हुन् ।नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले भारत र बङ्गलादेशका पर्यटकलाई लक्षित गरेर बोर्डले विभिन्न कार्यक्रम सञ्चालन गर्दा नेपाल आउने भारतीय र बङ्गलादेशी पर्यटकको सङ्ख्यामा वृद्धि भएको बताउनुभयो । “लामो समयदेखि कोरोनाले थलिएको नेपालको पर्यटन क्षेत्रले विस्तारै गति लिँदै गएको छ”, उहाँले भन्नुभयो । विदेशी मुद्रा आर्जन गर्ने प्रमुख स्रोत विदेशी पर्यटक आगामनको यो सुधारले पर्यटन क्षेत्रलाई सकारात्मक ऊर्जा मिलेको उहाँको भनाइ छ । प्रमुख रेग्मीले विभिन्न नाका हुँदै नेपाल भित्रिने भारतीय पर्यटकलाई सहजरूपमा भित्रिने वातावरण सरकारले निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । कालो बादलभित्र चाँदीको घेरा भनेझै मुलुकको पर्यटन क्षेत्र कोभिड कहरले अस्तव्यस्त बने पनि पर्यटनका केही क्षेत्र भने उत्लासमय रहे । पर्यटनको महत्वपूर्ण पाटोका रूपमा रहेको पर्वतारोहण क्षेत्रमा उत्साह र उमङ्ग अन्य क्षेत्रको निराशालाई केही आशामा परिणत गरिदियो । वर्षको सुरुआतमै सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहणमा उत्साह मात्रै थपिएन, विभिन्न कीर्तिमान पनि कायम भए । कोभिड–१९ महामारीका कारण अघिल्लो वर्ष सन् २०२० को पर्वतारोहण रोकियो । तर २०२१ को वसन्त आरोहण उत्साहवर्द्धक रूपमा रह्यो । कोभिड महामारीको जोखिमकाबीच भएको उक्त आरोहणबाट विश्वभर चर्चा चुलियो । सर्वाधिक सङ्ख्याका आरोहीले आरोहण गरेर अदम्य साहस प्रदर्शन गरेका थिए । कीर्तिमानी आरोही कामीरिता शेर्पाले सगरमाथाको २५ पटक सफल आरोहण गरी आफ्नै कीर्तिमान तोड्नुभयो । बहराइनका राजकुमार शेख मोहम्मद अल खलिफासहितको टोलीले गत वैशाख २८ गते सगरमाथाको सफल आरोहण गरेको थियो । विश्व कीर्तिमानी कामीरिता शेर्पा र बहराइनका राजकुमारले सगरमाथा आरोहणमा बनाएको नयाँ रेकर्डले विश्वलाई सगरमाथाबाट सुरक्षित सन्देश दिएका छन् । यसले महामारीको असहज परिस्थितिमा पनि सगरमाथासहितका हिमाल आरोहणले विश्व पर्यटनमा सकारात्मक सञ्चार छाएको छ । अघिल्लो वर्ष सगरमाथा आरोहणमा हालसम्मकै सर्वाधिक ४३ आरोही समूहलाई आरोहण अनुमति (एक्सिपिडीसन पर्मिट) दिइएको थियो । यो सन् २०१९ को वसन्त यामको आरोहणभन्दा बढी हो । यस वर्ष अर्थात् सन् २०२२ को वसन्त ऋतुका लागि उल्लेख्य सङ्ख्यामा आरोहीले आरोहण अनुमति लिएका छन् । पर्यटन विभागको पर्वतारोहण शाखाका अनुसार चैत २९ सम्म सगरमाथासहित विभिन्न १९ हिमाल आरोहणका लागि ७४ टिमका छ सयभन्दा बढी आरोहीले आरोहण अनुमति लिइसकेका छन् ।हवाई पूर्वाधारमा फड्कोपर्यटकीय पूर्वाधारका हिसाबले वर्ष २०७८ निकै उपलब्धिपूर्ण रह्यो । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भई सञ्चालयनयोग्य भएको छ । यान्त्रिक परीक्षण उडान सम्पन्न भइसकेको यो विमानस्थल आगामी जेठ २ गतेदेखि व्यावसायिकरूपमा सञ्चालनमा ल्याउने तयारी भइरहेको छ । यस्तै पोखरा क्षेत्रीय विमानस्थलको काम युद्धस्तरमा भइरहेको छ । करिब ९३ प्रतिशत काम सम्पन्न भएको विमानस्थलले जनाएको छ । तारे तथा पर्यटकस्तरीय होटल बढेका छन् । कोभिड कहरपछि विस्तारै लयमा फर्किँदै गरेको मुलुकको पर्यटन क्षेत्र चलायमान बन्दै गइरहेको छ । अघिल्लो वर्षको तुलनमा सन् २०२२ को सुरुआती चरणमा विदेशी पर्यटक आगमन पनि क्रमिकरूपमा बढिरहेको छ । पर्यटकीय गतिविधि पनि बढेको छ ।नेपाल प्रवर्द्धनमा बिबीसी मास्टर सेफको टोली‘बिबीसी मास्टर सेफः द प्रोफेसनल २०२०’ का फाइनालिस्ट सेलीब्रेटी सेफ सन्तोष साहसहितको टोलीले नेपालको पर्यटन क्षेत्रको प्रचार–प्रसार गरेका छन् । गत चैत २४ गते नेपाल आएर सेफ टोलीले नेपालको मौलिक संस्कृति र खानामार्फत गन्तव्यको प्रचार–प्रसार गरे । सेफ टोलीले १० दिनसम्म विभिन्न गन्तव्यमा पुगेर प्रवर्द्धनात्मक गतिविधिमा सहभागी भएका थिए । नेपाल पर्यटन बोर्डले देशका सातै प्रदेशमा डोमेस्टिक ट्राभल मार्ट गरिरहेको छ । सुदूरपश्चिम ट्राभलमार्ट चैत २५ गतेदेखि सुरु भएको छ । पर्यटकीय राजधानीका रूपमा कहलिएको पोखरामा १७औँ फेवा महोत्सव चैत ३० गतेदेखि वैशाख १ गतेसम्म आयोजना भएको छ । उक्त महोत्सवको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले उद्घाटन गर्नुभयो । नयाँ वर्षको सन्दर्भमा प्रमुख पर्यटकीय गन्तव्यहरूमा आन्तरिक तथा विदेशी पर्यटकको चहलपहल बढेको छ ।होटल भरिभराउकाठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेल, पोखरा, सौराहा, लुम्बिनीलगायत गन्तव्यका होटल आन्तरिक पर्यटकले भरिभराउ छन् । यता ठमेलका होटलहरु पनि आन्तरिक तथा विदेशी पर्यटकले भरिन थालेका छन् । पाहुना बढेकाले ठमेल क्षेत्रका व्यवसायी पनि उत्साहित छन् ।काठमाडौं महानगरपालिका–१६ ठमेलमा सञ्चालित चारतारे होटल रमदा इन्कोर काठमाडौंका महाप्रबन्धक महेश फुँयालले होटलमा विदेशी पर्यटकको सङ्ख्या बढेको बताउनुभयो । “९० कोठा रहेको रमदा होटलमा ७० भन्दा बढी कोठा दैनिक भरिँदै आएको छ, यसले हामीमा उत्साह थपेको छ”, महाप्रबन्धक फुँयालले भन्नुभयो । ठमेलस्थित यात्री होटल ठमेलका सञ्चालक एवं टानका पूर्वउपाध्यक्ष निलहरि बाँस्तोलाले मुलुकको पर्यटन क्षेत्रमा सकारात्मक लक्षण देखिएको बताउनुभयो । काठमाडौंको सोह्रखुट्टेमा सञ्चालित निवास बुटिकका सञ्चालक सुदर्शन नेपालले चिनियाँबाहेक अन्य देशका पर्यटकको सङ्ख्यामा वृद्धि भएको बताउनुभयो ।हवाई उडानमा उत्साहकोभिडका कारण प्रभावित बनेको मुलुकको हवाई क्षेत्र पूर्ववत् अवस्थामा फर्किसकेको छ । आन्तरिक हवाई उडानमा यात्रुको चाप छ । ठूला हवाई सेवा प्रदायक कम्पनी बुद्धएयर, यती एयरलाइन्स, श्री एयरलाइन्सलगायत कम्पनीको उडान बढेको छ । बुद्ध एयरको सर्वाधिक उडान छ । कम्पनीले हवाई उडान पूर्ववत् लयमा फर्किसकेको जनाएको छ ।हेलिकोप्टर सोसाइटी अफ नेपालका महासचिव योगराज कँडेल शर्माले आन्तरिक तथा विदेशी पर्यटकको सर्वाधिक रोजाइमा हेलिकोप्टर सेवा रहेकाले हेलिकोप्टरको सेवा विस्तार पनि धमाधम भइरहेको बताउनुभयो । उहाँका अनुसार कोभिड त्रासपछि अहिले हेलिकोप्टर व्यवसायमा उत्साह छाएको छ । अहिले ४० प्रतिशतभन्दा बढी व्यवसाय बढेको छ । वायुसेवा सञ्चालक सङ्घका अनुसार अहिले ११ हेलिकोप्टर कम्पनीसहित २० वटा वायुसेवा प्रदायकले हवाई उडान सेवा सञ्चालन गर्दै आएका छन् ।
पर्वतारोहणको सिजन सुरु : अनुमति लिने छ सय नाघे
गोरखापत्र समाचारदाताकाठमाडौँ, वैशाख १ गते । नेपालको पर्वतारोहणका लागि मुख्य समय मानिने वसन्तयामका लागि अहिलेसम्म छ सयभन्दा बढीले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार चैत २९ गतेसम्म करिब चार दर्जन देशका ६०७ जना नागरिकले पर्वतारोहणका लागि अनुमति लिइसकेका छन् । विभागले विभिन्न १९ वटा हिमालका लागि अनुमति उपलब्ध गराएको जनाएको छ । अहिलेसम्म सबैभन्दा धेरै सगरमाथा आरोहणका लागि २८ वटा दलबाट २२५ जनाले अनुमति लिएको विभागको तथ्याङ्क छ । जसमध्ये १७५ जना पुरुष र ५० जना महिला रहेका छन् । सगरमाथा आरोहणका लागि अहिलेसम्म सबैभन्दा धेरै संयुक्त राज्य अमेरिकाबाट १० जना महिला र ४३ जना पुरुष गरी ५३ जनाले अनुमति लिएका छन् । त्यसपछि संयुक्त अधिराज्यबाट चार जना महिला र २३ जना पुरुष गरी २७ जनाले अनुमति लिएका छन् । भारतबाट कुल १७ जना, नेपाल र रसियाबाट समान १४÷१४ जना, क्यानडाबाट १२ जना र अस्टे«लियाबाट १० जना रहेका छन् । आरोहणका लागि धेरैले अनुमति लिएका हिमालमध्ये कञ्चनजङ्घा दोस्रो स्थानमा छ । हालसम्म उक्त हिमाल आरोहणका लागि छवटा आरोहण दलबाट ५४ जना पुरुष र १३ जना महिला गरी ६७ जनाले अनुमति लिएका छन् । त्यसपछि आमादब्लम हिमालका लागि छवटै आरोहण दलबाट ५४ जना पुरुष र ११ जना महिला गरी ६५ जनाले अनुमति लिएका छन् । ल्होत्से हिमालको आरोहणका लागि छवटा दलबाट ४१ जना पुरुष र ११ जना महिला गरी ५२ जनाले अनुमति लिएको विभागले जनाएको छ । विभागका अनुसार मङ्गलबारसम्म हिमलुङ हिमालका लागि ३१ जना, नुप्त्से हिमालका लागि २८ जना, अन्नपूर्ण प्रथमका लागि २६ जना, मकालुका लागि २५ जना, धौलागिरिका लागि २१ जना र बरुन्त्से हिमालका लागि १६ जनाले अनुमति लिएका छन् । थापा पिकका लागि १० जना, मनास्लु र पोखर खाङका लागि समान नौ÷नौ जना, भेम्दाङ रिका लागि आठ जना, नोर्बु खाङका लागि पाँच जना, मुकोटका दागि चार जना, गङ्गापूर्ण, खाङचुङ र उर्कन्माङ हिमालका लागि समान दुई जनाले अनुमति लिएको विभागले जनाएको छ । सबै हिमालमा गरी आरोहण अनुमति लिनेमा संयुक्त राज्य अमेरिकाबाट १०४ जना रहेका छन् । त्यसपछि नेपालबाट ५५ जना, संयुक्त अधिराज्यबाट ४८ जना, भारतबाट ४६ जना र फ्रान्सबाट ३८ जना रहेका छन् । कोभिड–१९ सङ्क्रमणको प्रभाव सामान्य बन्न थालेपछि पर्वतारोहणका लागि अनुमति लिनेको सङ्ख्या पनि बढ्दो छ । विगतमा केही निश्चित देशबाट मात्र पर्वतरोही आउने गरेकामा अहिले धेरै देशका नागरिकको चासो देखिन्छ ।
रूससहित ४२ देशका आरोहीले सगरमाथा आरोहण गर्ने
काठमाडौं, चैत २६ गते । यस वसन्त मौसममा रूससहित ४२ देशका २०४ जना आरोहीले सगरमाथाको आरोहण गर्ने भएको छ । पर्यटन विभागले दिएको जानकारी अनुसार रूस गणतन्त्रका १४ जनासहितको २०४ जनाको टोलीले सगरमाथाको आरोहण अनुमति लिएको हो।यी मध्ये धेरै आरोही रहेका देशहरुमा अमेरिका ५१ जना, बेलायत २५ जना, भारत १५ जना, क्यानडा ११, नेपालका ११ जना, अष्ट्रेलियाका १० जना र चीनबाट नौ जना आरोही छन् ।आरोही मध्ये ४६ जना महिला र १५८ जना पुरुष छन् । कोरोना महामारीपछि संख्यात्मक रुपमा कम भए पनि धेरै देशबाट आरोहीको सहभागिता छ ।सगरमाथा बाहेक १७ हिमालमा ३०१ आरोहीयस वर्ष सगरमाथा बाहेक १७ वटा हिमाल आरोहणका लागि ३०१ जना आरोहीले पर्यटन विभागबाट अनुमति लिएका छन् । विभागले जारी गरेको सूचनाअनुसार यीमध्ये आठ हजार मिटरदेखि छ हजार मिटरसम्मका छन् ।रूससहित ४२ देशका २०४ जना आरोहीले सगरमाथाको आरोहण गर्ने भएको छ ।यी मध्ये ३८ वटा आरोहणदलबाट कञ्चनजंगा, ल्होत्से, नुप्से, धौलागिरि, धौलागिरि एक, आमादब्लमलगायत गरी १७ हिमाल आरोहण गर्ने भएका छन् । सगरमाथासहित यस महिना १८ वटा हिमाल आरोहण हुने पर्यटन विभागका प्रवक्ता मोहनबहादुर जिसिले जानकारी दिनुभयो ।विभागले आरोहण रोयल्टी शुल्क बापत २९ करोड ७४ लाख ३४ हजार रुपियाँ राजश्व समेत संकलन गरेको छ ।
आफ्नै कीर्तिमान तोड्न लाक्पा १० औँ पटक सगरमाथा आरोहण गर्दै
काठमाडौं, चैत २८ गते । धेरै पटक सगरमाथाको आरोहण गरेर विश्वकीर्तिमान बनाउनुभएका आरोही लाक्पा शेर्पाले आफ्नै कीर्तिमान तोड्न फेरी सगरमाथाको आरोहण गर्नुहुने भएको छ । नौ पटक सफल आरोहण गरिसक्नुभएकी लाक्पा १० औँ पटक सगरमाथा आरोहणका लागि आधारशिविरतर्फ जान लाग्नुभएको आरोहण आयोजक कम्पनी सेभेन समिट क्लबका प्रमुख मिङमा शेर्पाले जानकारी दिनुभयो ।सङ्खुवासभा मकालुकी लाक्पाले यस अघि सन् २०००, २००१, २००३, २००४, २००५, २००६, २०१६, २०१७, २०१८ मा सगरमाथाको आरोहण गरेका गरिसक्नुभएको छ । यो वर्षको आरोहणपछि धेरै पटक सगरमाथा आरोहण गर्नुहुने महिलाको कीर्तिमान तोडिने भएको छ । शेर्पाले यस अघि एक पटक मात्र नेपाल तर्फको बाटोबाट र आठ पटक तिव्वत तर्फको बाटोबाट सगरमाथाको आरोहण गर्नुभएको थियो ।लाक्पाले १५ जना अमेरिकी आरोहीसहित ३९ जनाको टोली लिएर गाइडको भूमिकामा सगरमाथा जाने कम्पनीले जनाएको छ । पहिलो नेपाली महिला पासाङ ल्हामु शेर्पापछि दोस्रो पटक सगरमाथाको आरोहण गर्ने महिला लाक्पा शेर्पा हुन् ।
पर्यटकको सहजताका लागि सडक बत्ती
सन्तोष राउतसोलुखुम्बु, चैत २९ गते । सोलुखुम्बुको व्यस्त पर्यटकीय बजार नाम्चेमा सडक बत्ती जडान कार्य सुरु भएको छ । सगरमाथाको प्रवेशद्वार नाम्चेमा पर्यटकहरुको सहजता तथा रातिको समयमा सडकमा हुने कुकुरको आक्रमणबाट पर्यटकहरुलाई बचाउन सडक बत्ती जडान गर्न थालिएकोे खुम्बु पासाङल्हामु गाउँपालिका–५ का वडा अध्यक्ष छिरिङ पेन्जो शेर्पाले जानकारी दिनुभयो ।रातिको समयमा पर्यटकहरुलाई हिँडडुल गर्न सहज होस् भन्ने उद्देश्यले बजार क्षेत्रको ६५ ठाउँमा बत्ति जडान कार्य सुरु भएको उहाँले बताउनुभयोे । उक्त सडक बत्ती दिनको समयमा आफैँ बन्द हुने र रातको समयमा आफैँ बल्ने प्रविधिको रहेको वडा कार्यालयले जनाएको छ ।चैत्र १८ गतेबाट सुरु भएको जडान कार्य केहीँ दिनमा सकिने गरी काम भइरहेको वडा अध्यक्ष शेर्पाले बताउनुभयो । बत्ती जडानका लागि गाउँपालिकाले चालु आर्थिक वर्ष २०७८/०७९ मा १५ लाख रुपियाँ रकम विनियोजन गरेको थियो । सडक बत्ती प्रयोग गर्दा लाग्ने विद्युत महसुल वडा कार्यालयले तिर्ने गरी सम्झौता भएको बताइएको छ । बजारक्षेत्रको बाटोमा बत्ति बालेपछि घुमफिरमा सहज हुन पर्यटन व्यवसायीहरुले बताएका छन् ।
जुर्मुराउँदै पर्यटन
सिबी अधिकारी/अच्युत रेग्मीकाठमाडौँ, चैत २८ गते । वसन्त ऋतुको आगमन पर्वतारोहण र पदयात्राका लागि उपयुक्त मौसम मानिन्छ । त्यसैले हजारौँ सङ्ख्याका विदेशी पर्यटक पर्वतारोहण र पदयात्राका लागि नेपालका गन्तव्यतिर लम्किरहेका छन् ।कोभिड–१९ कहरपछि बिस्तारै लयमा फर्किंदै गरेको मुलुकको पर्यटन क्षेत्र चलायमान बन्दै गइरहेको छ । अघिल्लो वर्षको तुलनामा सन् २०२२ को सुरुवाती चरणमा विदेशी पर्यटक आगमन पनि क्रमिक रूपमा बढिरहेको छ । पर्यटकीय गतिविधि पनि बढेको छ । वसन्त ऋतुमा सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहण गर्न स्वदेशी तथा विदेशी पर्वतारोही धमाधम गन्तव्यतिर निस्किएका छन् । पर्यटन विभागको पर्वतारोहण शाखाका अनुसार सगरमाथामा २३ सहित विभिन्न ६१ हिमाल आरोहणका लागि ५०० भन्दा बढी आरोहीले आरोहणको अनुमति लिएका छन् ।ठमेलका होटल भरिभराउकाठमाडौँको प्रमुख पर्यटकीय गन्तव्य ठमेलका होटल यतिखेर आन्तरिक तथा विदेशी पर्यटकले भरिन थालेका छन् । कोरोना महामारीका कारण लामो समयदेखि बन्द रहेका होटल पछिल्लो समय आन्तरिक तथा विदेशी पर्यटक आउन थालेसँगै ठमेल क्षेत्रका पनि व्यवसायी पनि उत्साहित छन् । काठमाडौँ महानगरपालिका–१६,ठमेलमा सञ्चालित चारतारे होटल रमदा इन्कोर काठमाडौँका महाप्रबन्धक महेश फुँयालले होटलमा विदेशी पर्यटकको सङ्ख्या बढेको बताउनुभयो । “९० कोठा रहेको रमदा होटलमा ७० भन्दा बढी कोठा दैनिक भरिँदै आएको छ । यसले हामीमा उत्साह थपेको छ,” फुँयालले भन्नुभयो । यो होटलमा हाल अमेरिकी, भारतीय र युरोपेली पर्यटक धेरै रहेको उहाँले जानकारी दिनुभयो । ठमेलकै यात्री होटलका सञ्चालक एवं टानका पूर्वउपाध्यक्ष नीलहरि बास्तोलाले पर्यटन क्षेत्रमा सकारात्मक लक्षण देखिएको बताउनुभयो । “कोरोनासँगै ध्वस्त भएको नेपालको पर्यटन क्षेत्रलाई पुनरुत्थान गर्न सरकारले विभिन्न देशका राजदूत र वाणिज्यदूतलाई राखेर नेपाल खुला भएको सन्देश दिनु जरुरी छ,” उहाँले भन्नुभयो ।काठमाडौँको सोह्रखुट्टेमा सञ्चालित निवास बुटिकका सञ्चालक सुदर्शन नेपालले चिनियाँबाहेक अन्य देशका पर्यटकको सङ्ख्यामा वृद्धि भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “नेपालमा कोरोना छैन, पीसीआर चाहिँदैन भन्ने सन्देश आमपर्यटकलाई दिनसके पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि हुने थियो । ”पर्यटक आगमन निरन्तर बढ्दैनेपाल पर्यटन बोर्डका अधिकृत कवीन्द्र भट्टले मार्चमा मात्र हवाई मार्ग भएर ४२ हजार छ जना विदेशी पर्यटक नेपाल भित्रिएको जानकारी दिनुभयो । सन् २०२२ को जनवरीदेखि मार्चसम्म ७८ हजार ७४७ विदेशी पर्यटक नेपाल भित्रिएको उहाँले बताउनुभयो । “सन् २०१९ को मार्चको तुलनामा यस वर्षको मार्चमा धेरै भारतीय पर्यटक भित्रिएका छन्, यो लागि सुखद् कुरा हो,” उहाँले भन्नुभयो ।मार्चमा हवाई मार्ग भएर कुल ४२ हजार छ जना पर्यटक नेपाल भित्रिएका छन् । अघिल्लो वर्षको मार्च महिनामा १४ हजार ९७७ पर्यटक नेपाल आएका थिए । वर्षको मार्च महिनाको पर्यटक आगमन कोभिड महामारीपछि सबैभन्दा बढी हो ।नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मी भारत र बङ्गलादेशका पर्यटकलाई लक्षित गरेर बोर्डले विभिन्न कार्यक्रम सञ्चालन गर्दा नेपाल आउने भारतीय र बङ्गलादेशी पर्यटकको सङ्ख्यामा वृद्धि भएको बताउनुभयो । “लामो समयदेखि कोरोनाले थलिएको नेपालको पर्यटन क्षेत्रले बिस्तारै गति लिँदै गएको छ,” उहाँले भन्नुभयो ।विदेशी मुद्राआर्जन गर्ने प्रमुख स्रोत विदेशी पर्यटक आगमनको यो सुधारले पर्यटन क्षेत्रलाई सकारात्मक ऊर्जा मिलेको उहाँको भनाइ छ । प्रमुख रेग्मीले विभिन्न नाका हुँदै नेपाल भित्रिने भारतीय पर्यटकलाई सहज रूपमा भित्रिने वातावरण सरकारले निर्माण गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।लयमा फर्कंदैहोटल व्यवसायीको छाता सङ्गठन होटल सङ्घ नेपालले कोभिडपछि बिस्तारै मुलुकको पर्यटन क्षेत्र लयमा फर्किंदै गरेको जनाएको छ । सङ्घका कार्यवाहक अध्यक्ष विनायक शाहले दुई वर्षको उकुसमुकुपछि पर्यटन बिस्तारै जुर्मुराउँदै गएको बताउनुभयो ।पछिल्ला दिनमा पर्यटन क्षेत्रमा देखिएको गतिविधिले नेपालको पर्यटन सुरक्षित रहेको र पाहुनाको पर्खाइमा रहेको सन्देश दिइरहेको छ । आगामी सिजनका लागि होटलमा राम्रो ‘इन्क्वाइरी’ आइरहेकाले पनि व्यवसायीलाई उत्साहित बनाएको उहाँको भनाइ छ । कार्यवाहक अध्यक्ष शाहले पर्यटक आगमन बढाउन एक महिना निःशुल्क भिसालगायतका प्याकेज घोषणा गर्नसकिए आउने दिन पर्यटनका लागि सुखद रहने उल्लेख गर्नुभयो ।पोखराका होटल व्यवसायी भरतराज पराजुलीले पोखरामा पर्यटकीय गतिविधि बढेकाले व्यवसायी उत्साहित भएको बताउनुभयो । उहाँले पोखरा वरिपरिका साहसिक पर्यटकीय गन्तव्यको विकास प्रवद्र्धनले देशको पर्यटनमा बहार छाएको बताउनुभयो ।
सन् २०२२ को धौलागिरिमा पहिलो सफल आरोहण
काठमाडौं, चैत २८ गते । दश जना विदेशी आरोही र १२ जना नेपाली गाइडसहितको २२ जनाको टोलीले धौलागिरि हिमालको सफल आरोहण गरेकाे छ । शनिबार ९ः०० देखि १२ः०० बजेसम्म भएको आरोहण सन् २०२२ मा भएको यो पहिलो सफल आरोहण भएको पर्यटन विभागका प्रवक्ता मानबहादुर जिसीले जानकारी दिनुभयो ।पर्यटन विभागको तथ्याङ्कअनुसार धौलागिरिमा दुई आरोहणदलबाट १४ जना पुरुष र सात जना महिला गरी २१ जनाले आरोहण अनुमति लिएका छन् । विभागका अनुसार यो वसन्त मौसममा १८ वटा हिमाल आरोहणका लागि ६१ वटा आरोहण दलबाट ५०५ जना आरोहीले आरोहणका लागि अनुमति लिएको छ । यीमध्ये सबैभन्दा धेरै ४२ देशका २०४ जना आरोहीले सगरमाथाको आरोहण गर्ने भएको छ ।धौलागिरि हिमालबाहेक अन्य सगरमाथा, ल्होत्से, कञ्चनजङ्घा, मकालुलगायतका अग्ला हिमालसहित बाँकी थप १७ वटा हिमालको समेत आरोहणका लागि तयारी शुरु भएको छ । विभागले आरोहण रोयल्टी शुल्कवापत २९ करोड ७४ लाख ३४ हजार ८०१ रुपियाँ राजस्व सङ्कलन गरेको छ ।अध्यागमन विभागको तथ्याङ्कअनुसार चैत २६ गते शनिबार एकै दिन दुई हजार ५९३ विदेशी पर्यटक नेपाल भित्रिएका थिए । कोरोना महामारीको अढाई वर्ष पछिको यो सङ्ख्या सबैभन्दा धेरै भएको र अब पर्यटन क्षेत्र पुरानै लयमा फर्कन थालेको तथ्याङ्कले देखाएको अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले बताउनुभयो ।यो मार्च महिनामा मात्र ४२ हजार छ जना पर्यटक नेपाल भित्रिएको अध्यागमन विभागले तथ्याङ्क सार्वजनिक गरेको छ ।
आफ्नै कीर्तिमान तोड्न लाक्पा १० औँ पटक सगरमाथा आरोहण गर्दै
काठमाडौं, चैत २८ गते । धेरै पटक सगरमाथाको आरोहण गरेर विश्वकीर्तिमान बनाउनुभएका आरोही लाक्पा शेर्पाले आफ्नै कीर्तिमान तोड्न फेरी सगरमाथाको आरोहण गर्नुहुने भएको छ । नौ पटक सफल आरोहण गरिसक्नुभएकी लाक्पा १० औँ पटक सगरमाथा आरोहणका लागि आधारशिविरतर्फ जान लाग्नुभएको आरोहण आयोजक कम्पनी सेभेन समिट क्लबका प्रमुख मिङमा शेर्पाले जानकारी दिनुभयो ।सङ्खुवासभा मकालुकी लाक्पाले यस अघि सन् २०००, २००१, २००३, २००४, २००५, २००६, २०१६, २०१७, २०१८ मा सगरमाथाको आरोहण गरेका गरिसक्नुभएको छ । यो वर्षको आरोहणपछि धेरै पटक सगरमाथा आरोहण गर्नुहुने महिलाको कीर्तिमान तोडिने भएको छ । शेर्पाले यस अघि एक पटक मात्र नेपाल तर्फको बाटोबाट र आठ पटक तिव्वत तर्फको बाटोबाट सगरमाथाको आरोहण गर्नुभएको थियो ।लाक्पाले १५ जना अमेरिकी आरोहीसहित ३९ जनाको टोली लिएर गाइडको भूमिकामा सगरमाथा जाने कम्पनीले जनाएको छ । पहिलो नेपाली महिला पासाङ ल्हामु शेर्पापछि दोस्रो पटक सगरमाथाको आरोहण गर्ने महिला लाक्पा शेर्पा हुन् ।
धौलागिरि आरोहणपछि फिर्ता हुँदा ग्रिक आरोहीको मृत्यु
काठमाडौं, चैत २९ गते । धौलागिरि (८१६७ मिटर) हिमालको आरोहण गरी फर्कने क्रममा ग्रिकका आरोही ५५ वर्षीय एन्टोनिअस स्क्यारिसको मङ्गलबार बिहान मृत्यु भएको छ ।चुचुरो पुगेर फर्किने क्रममा तेस्रो क्याम्पस्थित सात हजार ४०० मिटरमा उहाँको मृत्यु भएको आरोहण आयोजक कम्पनी सेभेन समिट ट्रेकका प्रमुख मिङमा शेर्पाले जानकारी दिनुभयो ।उहाँ ग्रिकका प्रख्यात अल्पानिष्ट हुन् । स्क्यारिसले यसअघि सगरमाथा, ल्होत्से र अन्नपूर्ण हिमालको आरोहण गरिसक्नुभएकाे थियाे।आरोहण गरी फर्कने क्रममा अस्वस्थ भएपछि उहाँको गाइडलगायतका शेर्पाहरुले तेस्रो क्याम्पसम्म ल्याए पनि बचाउन नसकिएको गाइड दावा शेर्पालाई उदृत गर्दे मिङमा शेर्पाले जानकारी दिनुभयो ।मृतकको शव आधार शिविर ल्याउन परिवारसँग समन्वय भइरहेको छ।
नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठान अध्यक्षमा शेर्पा नियुक्त
काठमाडौं, चैत २९ गते । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठान (नेपाल माउन्टेन एकेडेमी)को अध्यक्षमा वाङदी छिरिङ शेर्पालाई नियुक्त गरेको छ । पर्वतीय प्रशिक्षण सम्बन्धी काम गर्न मन्त्रालयले स्थापना गरेको एकेडेमीमा कार्यकारी निर्देशक र थप तीन जना बोर्ड सदस्य नियुक्त गरेकाे हाे।मन्त्रालयको चैत २४ गतेको निर्णयले एकेडेमीको कार्यकारी निर्देशकमा रुद्रप्रसाद चापागाईं, बोर्ड सदस्यमा निमा टि शेर्पा, निमादोर्ची शेर्पा र मिङमा दोर्ची शेर्पालाई चार वर्षका लागि नियुक्त गरेको हो । अध्यक्ष शेर्पासहितले मंगलबार एकेडेमी पुगेर पदभार सम्हाल्ने कार्यक्रम तय भएको एकेडेमीका प्रसाशकीय प्रमुख उत्तम भट्टराईले जानकारी दिनुभयो ।विश्वमै पहिलो पटक हिमाल अध्ययनसँग सम्बन्धित रहेर एकेडेमीले त्रिभुवन विश्वविद्यालयसँग अनुमति लिएर चार वर्ष अघिदेखि स्नातक र स्नाताेकोत्तर तह विषयको अध्ययन शुरु भैसकेकाे छ।
पर्यटकको सहजताका लागि सडक बत्ती
सन्तोष राउतसोलुखुम्बु, चैत २९ गते । सोलुखुम्बुको व्यस्त पर्यटकीय बजार नाम्चेमा सडक बत्ती जडान कार्य सुरु भएको छ । सगरमाथाको प्रवेशद्वार नाम्चेमा पर्यटकहरुको सहजता तथा रातिको समयमा सडकमा हुने कुकुरको आक्रमणबाट पर्यटकहरुलाई बचाउन सडक बत्ती जडान गर्न थालिएकोे खुम्बु पासाङल्हामु गाउँपालिका–५ का वडा अध्यक्ष छिरिङ पेन्जो शेर्पाले जानकारी दिनुभयो ।रातिको समयमा पर्यटकहरुलाई हिँडडुल गर्न सहज होस् भन्ने उद्देश्यले बजार क्षेत्रको ६५ ठाउँमा बत्ति जडान कार्य सुरु भएको उहाँले बताउनुभयोे । उक्त सडक बत्ती दिनको समयमा आफैँ बन्द हुने र रातको समयमा आफैँ बल्ने प्रविधिको रहेको वडा कार्यालयले जनाएको छ ।चैत्र १८ गतेबाट सुरु भएको जडान कार्य केहीँ दिनमा सकिने गरी काम भइरहेको वडा अध्यक्ष शेर्पाले बताउनुभयो । बत्ती जडानका लागि गाउँपालिकाले चालु आर्थिक वर्ष २०७८/०७९ मा १५ लाख रुपियाँ रकम विनियोजन गरेको थियो । सडक बत्ती प्रयोग गर्दा लाग्ने विद्युत महसुल वडा कार्यालयले तिर्ने गरी सम्झौता भएको बताइएको छ । बजारक्षेत्रको बाटोमा बत्ति बालेपछि घुमफिरमा सहज हुन पर्यटन व्यवसायीहरुले बताएका छन् ।