• ५ जेठ २०८१, शनिबार

दुई महिनामै पाँच हिमाल आरोहण गरी विश्वकीर्तिमान

blog

काठमाडौं, साउन ९ गते । आरोही गाइड पासदावा शेर्पाले ६९ दिनमा ८ हजार मिटर माथिका पाँच वटा हिमालको आरोहण गरी विश्व कीर्तिमान बनाउनुभएको छ । सङ्खुवासभा मकालुका ३१ वर्षीय शेर्पाले शुक्रबार बिहान विश्वकै अग्लो हिमाल केटुको आरोहण गरेसँगै उहाँ छोटो समयमा पाँच अग्ला हिमाल आरोहण गर्ने आरोही बन्नुभएको हो । 

शेर्पाले यसै वर्षमा दुई वटा कीर्तिमान राख्न सफल हुनुभएको छ । विश्वकै अग्ला १४ मध्येको पाँच वटा हिमालहरु र अग्ला मध्य पहिलो सगरमाथा, केटु र कञ्चनजङ्घा हिमालको छोटो समयमा आरोहण गर्नुभई कीर्तिमान कायम गर्नुभएको उहाँ सम्बद्ध कम्पनी एट के एक्पिडिसनका निर्देशक लाक्पा शेर्पाले जानकारी दिनुभयो । 

शेर्पाले सगरमाथा, केटु, कञ्चनजङ्घा, ल्होत्से, मकालु आरोहण गर्नुभएको हो । शेर्पाले मे १४ मा कञ्चनजङ्घा, मे २२ मा सगरमाथा, ल्होत्से, मे २७ मा मकालु र जुलाई २१ मा केटु हिमालको आरोहण गर्नुभएको थियो । यसअघि निर्मल पुर्जाले ७० दिनभित्र सोही हिमालहरु आरोहण गरी विश्व कीर्तिमान रेकर्ड राख्नुभए पनि यो रेकर्ड शेर्पाले तोड्नुभएको छ । 

यस अघि २८ अप्रिलमा अन्नपूर्ण, मे ८ मा धौलागिरी एक, र जुलाई १ मा नंगा पर्वतको आरोहण गरिसक्नुभएको छ । शेर्पाले अग्ला १४ हिमाल आरोहणको लक्ष्य लिनुभएसँगै उहाँले बाँकी ८ हजार मिटर माथिका हिमाल आरोहण निरन्तर गर्ने बताउनुभयो । 

Author
छेटु शेर्पा

शेर्पा, पर्यटन र समसामयिक विषयमा रिर्पोटिङ गर्नुहुन्छ।