• १९ वैशाख २०८१, बुधबार

सगरमाथामा आरोही घटे, बाटो निर्माण ढिलाइले आरोहण पछि सर्ने

blog

काठमाडौँ, चैत ३० गते । सगरमाथामा यस वर्ष आरोहीको सङ्ख्यामा कमी आएको छ । गत वर्षको तुलनामा करिब आधाले आरोहीको सङ्ख्यामा कमी आएको तथ्याङ्कले देखाएको छ । 

पर्यटन विभागले विज्ञप्ति प्रकाशन गर्दै दिएको जानकारी अनुसार बुधवारसम्म १८ आरोहण दलबाट २०९ जनाले मात्र सगरमाथा आरोहणका लागि अनुमति लिएको छ । यो गत वर्षको तुलनामा १२८ प्रतिशतले कमी हो । गत वर्ष सन् २०२३ मा ६५ देशबाट ४७८ जना आरोहीले सगरमाथा आरोहणका लागि पर्यटन विभागबाट अनुमति लिएको विभागका निर्देशक राकेश गुरुङले जानकारी दिनुभयो । यी मध्ये १०२ जना महिला र ३७६ जना पुरुष थिए । 

आरोहणका लागि अधिकांश आरोहीहरू आधार शिविरतर्फ प्रस्थान गरिसकेकाले थप आरोहण अनुमति लिने सम्भावना न्यून रहेको ट्रेकिङ क्याम्प नेपालका प्रमुख वाङछे शेर्पाले जानकारी दिनुभयो । आधार शिविर पुगेर आरोहणका लागि तयारीका लागि साना हिमालहरू आरोहण र हाइअल्टिच्यूट खपतका लागि काम गर्नु पर्ने भएकाले आरोहीहरू आधार शिविर पुगिसकेका छन् । केही आरोहीहरू जाने क्रममै रहेको आरोही गाइड लाक्पा शेर्पाले जानकारी दिनुभयो । 

बुधवारसम्ममा १९ वटा हिमाल आरोहणका लागि ५१२ जना आरोहीले मात्र आरोहण अनुमति लिएका छन् । 

आरोही घट्दा करोडौँ राजस्व कमी 

सरकारले विदेशी आरोहीका लागि सगरमाथा आरोहण अनुमति गर्दा जनही ११ हजार अमेरिकी डलर राजस्व लिँदै आएको छ । तर नेपाली आरोहीका लागि भने जनही ७५ हजार मात्र तोकेको छ । यसरी आरोहीमा कमी आउँदा अर्बाैं रुपियाँ राजस्व गुमेको छ । 

गत वर्ष सगरमाथा आरोहण शुल्कबाट मात्र करिब ६८ करोड राजस्व रकम सङ्कलन भएको थियो भने यस वर्ष २९ करोड ७५ लाख २८ हजार ५३५ रुपियाँ राजस्व सङ्कलन भएको छ । आरोही गाइड कुङ्गा शेर्पाका अनुसार यस वर्ष आरोही कमी हुनुमा तिब्बततर्फबाट सगरमाथा आरोहणका लागि बाटो खुल्ला गर्ने भएपछि आरोहीहरू भएको बताउनुभयो । आरोहीहरूले सहज र सस्तो पर्ने भएकाले आरोहीहरू तिब्बततर्फको बाटो रोज्ने गरेको उहाँको भनाई छ । 

रुट फिक्सिङमा ढिलाइले आरोहण पछि सर्न सक्ने

आरोहणको मध्य समय भए पनि अझैसम्म बाटो निर्माणको काम खुम्बु आइसफल काट्न सकेको छैन । हिउँको जङ्गल भनेर चिनिने खुम्बु आइसफल सगरमाथा आरोहणका लागि मुख्य चुनौतीको रूपमा लिइन्छ । 

गत वर्षहरूमा प्रयोग गरिँदै आएको बाटो यस वर्ष क्रिभासका कारण नभेटिएपछि नयाँ बाटो पहिचान गर्न समय लागेका कारण बाटो निर्माणमा ढिलाइ भएको बाटो निर्माणमा खटिएका आइफल डाक्टरका संयोजक सर्की शेर्पाले जानकारी दिएको गाइडहरूले जनाएको छ । 

यस वर्ष भने सन् २००४ मा प्रयोग गरिएको बाटोलाई प्रयोग गर्ने गरी निर्माणको काम अघि बढाएको जनाएको छ । आरोहण मार्ग (बाटो) यो साता क्याम्प एकमा पुग्ने निर्माणकर्ताहरुले जानकारी दिएका छन् । मौसम सफा रहेकाले नियमित रूपमा ८ जना आइसफल डाक्टरले बाटो निर्माणका काम निरन्तर रूपमा गर्दै आएको आधार शिविरबाट गाइड कुङ्गा शेर्पाले जानकारी दिनुभयो । 

Author
छेटु शेर्पा

शेर्पा, पर्यटन र समसामयिक विषयमा रिर्पोटिङ गर्नुहुन्छ।