हरिकृष्ण शर्मा
मुक्तिनाथ (मुस्ताङ), मङ्सिर १४ गते । प्रकृतिका कुचिकारका रूपमा चिनिने सङ्कटापन्न अवस्थामा रहेका हिमालयन ग्रिफन जाडोयाममा बासस्थान र आहाराको खोजीमा बसाइँसराई गर्छन् । अत्याधिक चिसो, हिउँले बासस्थानमा असर गर्ने समयमा आहारा र प्रजनन गराउने समयमा अनुकूल ठाउँको खोजीमा निस्किने मांसाहारी पंक्षी हिमालयन ग्रिफन प्रायः आफ्नै बासस्थानमा फकिन्छन् ।
चिसो समयमा बाख्लो हिमपातले आहारा समेत पुरिने, खोजी गर्न अर्को स्थानमा जान समस्या हुने भएकाले मङ्सिरदेखि फागुन महिना हिमालय ग्रिफनका लागि निकै कष्टकर मानिन्छ ।
समुन्द्री सतहको १२ सय मिटरदेखि ६ हजारसम्मको उचाइमा बासस्थान रहेको हिमालयन ग्रिफनलाई उपल्लो मुस्ताङमा वातावरण शुद्धताको प्रतिक तथा धार्मिक परम्परामा समेत प्रयोग भएकाले बासस्थान र आहाराको अभाव हुन नदिने गरी स्थानीय समुदायसँगै अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप), इलाका संरक्षण कार्यालय लगायत विभिन्न संघसंस्थाको सक्रियतामा संरक्षणमा चासो देखाउने गरिएको छ ।
पछिल्लो समय जलवायु परिवर्तन, पशुचौपायामा औषधीको प्रयोगका साथै बासस्थानमा समेत समस्या झेल्दै आएको हिमालयन ग्रिफनको संरक्षण तथा पर्यटकलाई समेत अवलोकन गर्न सकिने पर्यटकीय रूट बनाउन एक्याप लोमान्थाङबाट अध्ययन तथा संरक्षणका अभियान सञ्चालन गरिएको एक्याप इलाका कार्यालय लोमान्थाङका प्रमुख उमेश पौडेलले बताउनुभयो । पौडेल भन्नुहुन्छ, ‘‘हिमालय ग्रिफनले पर्यावरण जोगाउन अतुलनीय योगदान दिएको छ, चिसो छल्न न्यानो ठाउँको खोजीमा जाँदा मानवीय क्षती पु¥याउनु हुँदैन, प्राकृतिक सफाइकर्ता भएकाले सङ्ख्या बढाउनका लागि निरन्तर काम भइरहेको छ ।’’

पौडेलका अनुसार दिउँसो आहाराको खोजीमा निस्किने हिमालय ग्रिफनले प्रत्यक्ष शिकार नगरी मरेको जनावरलाई मात्रै आहारा बनाउने भएकाले मासु प्रजातिका जनावरले सिकार गरेको स्थानको पहिचान गर्न सक्ने क्षमता समेत हुन्छ । हिमालयन ग्रिफन मोटो चुच्चो, खुकुलो प्वाँख भएको रफ, लामो पखेटा र छोटो पुच्छर हुन्छका साथै शरीरको लम्बाइ ९५ देखि एक सय ३० सेन्टिमिटर र पखेटा फैलावट दुई सय ७० देखि ३०० सेन्टिमिटरसम्म हुन्छ भने १२ किलोग्रामसम्मको भेटिने गरेको अध्ययनबाट देखिएको छ । हिमालय ग्रिफनले एकपटकमा एउटा अण्डा निकाल्छ । एक्यापले स्वदेशी तथा विदेशी पर्यटकलाई समेत हिमालयन ग्रिफनको अवलोकन गर्न मिल्ने क्षेत्रमा चौतारी, पदमार्गको मर्मत गर्ने गरेको छ । हिमालय ग्रिफन तल्लो मुस्ताङको थासाङ, घरपझोङ र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा समेत पाइन्छ । यसको आधिकारिक तथ्याङ्क नभए पनि अवलोकन गर्ने स्थानहरूबाट गणना गर्ने गरिन्छ ।
एक्यापले वारागुङ मुक्तिक्षेत्रको समर तथा उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–४, सुर्खाङ, याराघारा, ताङ्बे हुँदै छुसाङ जाने पदमार्ग मर्मत समेत गरेकाले पर्यटकले समेत सजिलै हेर्न मिल्छ । हिमालय ग्रिफन लोमान्थाङ गाउँपालिकाको झोङ, समजुङ तथा बस्ती आसपासका फोहोर फाल्ने स्थानमा प्राय देखिन्छ । हिमालय ग्रिफनको बासस्थान तथा गुँड मान्छे र बन्यजन्तुको समेत सहज पहुँच नहुने भएकाले बासस्थान क्षेत्र आसपासमा प्रयाप्त आहारा भएमा सङ्ख्या बढाउन सकिने एक्यापले जनाएको छ ।

लोमान्थाङ गाउँपालिका–१, छोसेरकी वडा सदस्य छिरिङ युटिन गुरुङले झोङ गुफाको माथिल्लो क्षेत्रमा समेत ठुलो बथान देखिने गरेको बताउँदै पछिल्लो समय पशुचौपाया बस्तीबाट टाढा लगेर फाल्ने गरिएको बताउनुभयो । उपल्लो मुस्ताङमा घरपालुवा जनावर जस्तै कुकुर अन्य पशुचौपाया मरेमा हिमालय ग्रिफन देखिने स्थान आसपासमा लगेर फाल्ने गरिएकाले पनि ठाउँ–ठाउँमा बाख्लो सङ्ख्यामा देखिन्छ । हिमाली क्षेत्रमा बासस्थान बनाउने हिमालय ग्रिफन समुहबाट अलग भएको समयमा भौतारिएर पहाडी बस्ती आसपासका क्षेत्रमा समेत पुग्ने गरेको पाइन्छ । यसैबीच उपल्लो मुस्ताङको ’ल्होवा’ समुदायमा कसैको मृत्यु भयो भने लामागुरुले जन्मकुण्डली हेरेर अन्तिम संस्कारका चार विकल्पमध्ये अन्त्येष्टिमा गिद्धलाई खुवाएर अन्त्येष्टि गर्ने अनौठो परम्परा उपल्लो मुस्ताङमा अहिले पनि कायमै छ ।