• १९ चैत २०८१, मङ्गलबार

शार्फु चौथो हिमालमा पहिलो पटक मानव पाइला

blog

काठमाडौँ, चैत १६ गते । ६,४३३ मिटर अग्लो शार्फु हिमालको पहिलो पटक सफल आरोहण भएको छ । एक जना चिलीका आरोही र तीन नेपाली गरी चार जनाको टोलीले हिमालको सफल आरोहण गर्नुभएको हो । 

हिमालको चुचुरो पुग्नु हुनेहरूमा चिलीका आरोही ५९ वर्षीय हेरनान डेविड लियल बरिएन्टोन, सोलुखुम्बुका लाक्पा छिरी शेर्पा, ताप्लेजुङका ङादा शेर्पा र गोरखाका पूर्णिमा श्रेष्ठ छन् । एक्स्ट्रिम क्लाइम्बर्स ट्रेक्स एन्ड एक्सपीडिसन  कम्पनीले आयोजना गरेको पहिलो शार्फु आरोहण टोलीले चैत १२ गते दिउँसो ३ बजे हिमालको चुचुरोमा पाइला टेकेको हो । 


कञ्चनजङ्घा क्षेत्रमा रहेको यो अति विकट र दुर्गम क्षेत्रमा रहेको हिमाल आरोहणसँगै नेपालको पर्वतीय पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्ने विश्वास लिएको कम्पनीका निर्देशक पेम्वा शेर्पाले बताउनुभयो । हिमालै हिमालको देश भनेर विश्वले चिन्ने नेपालमा करिब तीन हजारभन्दा बढी हिमाल पहिचान भएको छ । यीमध्ये संसारकै अग्ला ८ हजार मिटर माथिका ८ वटा हिमाल पनि नेपालमै छन् । 

पर्यटन विभागको तथ्याङ्क अनुसार पहिचान भई आरोहण खुल्ला गरिएका मध्ये अझै ६० वटा भन्दा बढी हिमालको आरोहण हुन सकेको छैन । यी हिमालहरूको आरोहण र प्रवर्द्धनमा निजी कम्पनीहरूले महत्त्वपूर्ण भूमिका खेलेको र यसमा राज्यले थप सहयोग गर्नुपर्ने नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष निमानुरु शेर्पाले बताउनुहुन्छ । 

नयाँ हिमालको पहिचान र आरोहण गर्ने आरोही र कम्पनीलाई राज्य सम्मान गर्दै प्रोत्साहनका कार्यक्रमहरू ल्याउनुपर्ने उहाँले माग गर्नुभयो । 


Author
छेटु शेर्पा

शेर्पा, पर्यटन र समसामयिक विषयमा रिर्पोटिङ गर्नुहुन्छ।