• ८ वैशाख २०८१, शनिबार

पर्यटन ‘रिब्रान्डिङ’ गरिने

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, साउन २३ गते ।  नेपाललाई विदेशीको पहिलो गन्तव्य स्थल बनाउन पर्यटन क्षेत्र ‘रिब्रान्डिङ’ गर्ने योजना सरकारले अघि सारेको छ । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पर्यटकलाई आकर्षित गर्न यस क्षेत्रको नयाँ किसिमबाट प्रचारप्रसार गरिने बताउनुभएको हो । मन्त्रालयमा आइतबार आयोजित कार्यक्रममा उहाँले अब प्रकृति, संस्कृति र साहसिक गतिविधिसँग जोडिएका विषयमा केन्द्रित भएर पर्यटन विकास गर्ने योजना रहेको जानकारी दिनुभयो । 

नयाँ किसिमबाट पर्यटन क्षेत्रले विकास गर्दा पर्यटकको सङ्ख्यामा पनि वृद्धि हुने उहाँले बताउनुभयो । त्यसरी पर्यटक आउँदा विद्यमान जनशक्तिले नधान्ने भएकाले यस क्षेत्रमा थप जनशक्ति व्यवस्थापन आवश्यक पर्ने उहाँको भनाइ थियो । त्यस्तै उहाँले नेपालमा आएका पर्यटकका लागि सोही देशअनुसारको खाना उपलब्ध गराउनुपर्छ भन्ने मान्यता अन्त्य गर्नुपर्ने भनाइ राख्नुभयो । 

“नेपाली खानामा पनि धेरै विविधता, मौलिकता र पौष्टिकता रहेकाले पर्यटकलाई नेपाली खाना खुवाउने सोच हुनुपर्छ,” उहाँले भन्नुभयो । नेपाली मौलिक तथा परम्परागत खाना विश्वका अन्य मुलुकको भन्दा कम नभएको उहाँको दाबी थियो । 

नेपालको मौलिक पहिचान दिने गरी होटल व्यवस्थापनको क्षेत्रलाई विकास गरेर नेपालको छुट्टै पहिचान बनाउन सकिने मन्त्री श्रेष्ठको भनाइ थियो । नेपाललाई अहिलेसम्म सगरमाथा, गौतम बुद्धको जन्मभूमिका रूपमा प्रचार गरिएको भन्दै अब ‘हस्पिटालिटी’ क्षेत्रको पनि प्रचार गर्न आवश्यक रहेको उहाँले बताउनुभयो । 

कार्यक्रमका अवसरमा काठमाडौँ विश्वविद्यालय र नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानबीच सातै प्रदेशमा प्रतिष्ठान विस्तारको समझदारीपत्रमा हस्ताक्षर भएको थियो । हस्ताक्षरपछि काठमाडौँ विश्वविद्यालयका उपकुलपति डा. भोला थापाले नेपाल भित्रिने पर्यटकले नेपाली ‘हस्पिटालिटी’ नै खोज्ने धारणा राख्नुभयो । पूर्वीय आथित्यलाई विश्वमा पु¥याउन नेपालले नेतृत्व लिनुपर्ने उहाँको भनाइ थियो । नेपालले दक्ष जनशक्ति उत्पादन गरेर विश्वका अन्य मुलुकमा जागिर खान पठाउने परम्पराको अन्त्य गर्नुपर्नेमा उहाँको जोड थियो ।